अपडेट 
२०७९ श्रावण १०, मंगलवार ०८:२६

नाग पूजाको परम्परा अत्यन्त प्राचीन हो र नाग अत्यन्त विषैला भएको कारणले नै यसबाट वचन यस प्रकारको जन्तुलाई पूजा गर्ने चलन रहि आएको बुझिन्छ । हरफा र महेन्मोदारोको इन्दस भैली सभ्यताको प्रमाणबाट यो थाहा हुन्छ कि त्यस वखतमा पनि व्यक्तिहरुको केही समूह यस्ता थिए जो नागदेवताको पूजा गर्दथे । नेपालमा कर्काेटक नाग अत्यन्त प्रसिद्ध एवं लोक प्रिय नागदेवता मानिएको छ । भनिन्छ जब मंजुश्री अथवा भगवान विष्णु नेपालको खाल्टोलाई पहाड़मा बाटो बनाई सम्पूर्ण क्षेत्रलाई डुबाइ दिए र सम्पूर्ण नागहरु त्यसको पानीमा वगी हाले अनि करकोटक नाग मात्र बाँचेको थियो ।

नेपालमा अनन्त, वासुकी, तक्षक, कर्कोट, शंख, पदम, महापदम आदिको स्मरण गर्दै नाग पंचमीको दिन पूजा गर्ने परम्परा रही आएको छ । भक्तपुरको पाँच टाउको कल्पेश्वर नाग, काठमाडौको घोड़े नाग, इटुम्बहालको जल नाग, टेकूको टेकू नाग, ठमेलको गल्को पाखाको हरिनाग, थानकोटको नाग ढुङ्गा, टुड़ी खेलको मीननाग र पशुपतिनाथको द्वारपालका रुपमा पूज्य वासुकीनागको पनि नाग पंचमीको दिन भव्य रुपमा पूजा गर्ने चलन रहेको देखिन्छ । यसबाट के देखिन्छ भने नेपाल उपत्यकामा पनि नाग देवता अत्यन्त श्रद्धाका साथ पूजा गर्ने प्रथा पनि रहेको छ । मिथिलाञ्चल श्रावणको कृष्णपक्ष र शुक्लपक्ष दुवैको पंचमी तिथिमा केही परिवारहरुले कृष्णपक्षमा त केही परिवार शुक्ल पक्षमा नाग पंचमी मनाउने गर्दछन । विषहराको पाँच बहिनाहरुलाई प्रायः कुलदेवीको रुपमा पनि पूजा गर्ने गरिएको देखिन्छ भने नागपंचमीको दिन माटोको पाँचवटा थुम (ढि़स्को जस्तो) बनाइ धानको लावा, दुध र दुवोले पनि पूजा गर्ने चलन रहेको पाइन्छ । नागपंचमीको दिन घरहरुको भित्तामा गोवरले नाग लेख्ने र बेलुका धानको लावालाई मन्त्रले अभिमन्त्रित गरी प्रत्येक घरमा छर्ने परम्परा पनि रहेको देखिन्छ । यसको अतिरिक्त श्रावण मासमा मनाइने मधुश्रावणीमा पनि मधुश्रावणी व्रत गर्ने महिलालाई नाग नागिनको जन्मको कथा तथा अन्य कथाहरु पनि सुनाइने गरिन्छ । मधुश्रावणीमा गौरी शंकरको मुख्य रुपमा आराधना गरिन्छ तर महाशिव नाग प्रेमी भएकोले उनको गलामा भयंकर नागहरुको माला धारण गरिएको कारणले पनि नागको कथा सुन्ने परम्परा रहेको बुझिन्छ । यति मात्र होइन भगवान गणेश पनि नाग वाण अर्थात नागको वाण धारण गर्नु हुन्छ । नाग हाम्रो समाजमा लोक संस्कृतिमा यस रुपले पूजित छन कि यसको चर्चा लोककथा, लोकगीत, लोककलामा पनि भेटन सकिन्छ । नाग पंचमी र अनन्त चर्तुदशी यसै नाग संस्कृतिसँग सम्बन्धित भएकोले नै यी तिथिहरुमा दुध र धानको लावा एवं अन्य वस्तुहरु अर्पण गर्ने परम्परा रहेको छ ।

मनसा नागराज वासुकी की वहिनीको रुपमा मानिएकी छिन । भनिन्छ मनसादेवीको पूजा आराधना गरेपछि यसले सर्प दंशबाट सुरक्षा गर्दछिन । भागवत गीतामा भगवान श्रीकृष्णले आपूmलाई नागहरुमा म बासुकी छु र अर्को पटक त्यसै गीतामा भगवान श्रीकृष्णले म “अनन्त” छु भन्नु भएको छ । शेषनाग जसको हजार फनहरु –मुखहरु) हुन्छ भगवान विष्णुको शेष सैययामा देखिन्छ । भनिन्छ जव युगको अन्तमा विश्वका सबै जन्तुहरु समाप्त हुन्छन शेषनाग त्यस वखत पनि बाँचेको हुनाले यसलाई शेषनाग भनिएको छ । अनन्त नाग भनेको अन्तहीन नाग भन्न सकिन्छ । जी. रवीन्द्रन नैथ्यरको पुस्तक “स्नेक वर्सीप इन इण्डिया” अनुसार भारतमा मुसतामानी आक्रमण समम काबुल र कश्मिरका क्षेत्रहरुमा मानिसहरु नागदेवता पुजा गर्ने गरेको थियो । नागलाई उर्वराशक्तिको प्रतीक मानिएको छ । हाम्रो समाजमा यो विश्वास छ कि अष्ट फनधारी सर्पहरुको रुपमा अनन्त, वासुकी, कर्कोटक, पिंगलका, शंख, पदम, महापदम र तक्षक नागहरु हुन्छन । वासुकी नाग क्षीर सागर मन्थनको वखत रस्सीको रुपमा प्रयोग गरिएको थियो । मिथिलाञ्चलमा नाग पंचमीमा नाग पूजाको परम्पराको बारेमा केही कथाहरु प्रचलित छन । एउटा कथा अनुसार एउटी बुढ़ी आइमाई पोखरीमा नुहान जाँदा त्यस पोखरीमा एउटा पतामा पाँचवटा जीवहरु खेली रहेको देखेछिन । त्यस बुढ़ी महिलालाई देखेर मानव जस्तो आवाजमा उनीहरले त्यस बुढ़ीलाई भने– ए बुढ़ी जाउ र मानिसहरुलाई आज मौना पंचमी हो र आज माटोले घर आङन निपेर सफा र पवित्र गरी पाँचवटा माटोको थुम्मो बनाएर र त्यसमा चामलको पीठार (चामलको झोल) त्यसमा सिंदुर लगाई त्यस माथि दुवो राखी विषहरालाई पूजागर्ने भनी भनी देउ । आज जसले नागलाई विधिपूर्वक पूजा गछ त्यसलाई कल्याण हुन्छ र जो यस्तो विधिपूर्वक पूजा गर्देन त्यसलाई निकै हानि हुन्छ भनी पनि भनी देउ ।

अनि त्यस बुढ़ी महिलाले सबै मानिसहरुलाई घर घरमा गएर भनी हालिन तर केही त बुढ़ीले भने अनुसार त पूजा गरे केही पूजा गरेनन । यो पूजा नगर्नेहरु सबैको मृत्यु भएछ र त्यसपछि त्यस बुढ़ी महिलाले त्यस पोखरीमा रहेका ती जीवहरुलाई सोधेछिन– मर्नेहरुलाई बचाउन के गर्ने ? ती जीवहरु विषहरा पाँचो बहिनी रहेछिन र उनीहरुले भनीन– विषहराको लागि तै यसरी चढाएको नैवेध्य उनीहरुको मुखमा लगाई दिए पछि मर्नेहरु पुनः जीवित हुन्छन तर उनीहरुले साउन महिनाको आउने अर्को पंचमीको दिन नागपूजा अवश्य नै गर्नुपर्छ नत्र कल्याण हुँदैन । यसरी नाग पूजाको प्रारम्भ भएको भनी मैथिल लोककथामा भनिएको छ । पाँच दीदी बहिनाीहरुको नाउँ जया, सामरि, दाँतुल, लिली र विषहरि भएको भनिन्छ । एउटा अर्को लोककथा अनुसार महादेव र गौरी एउटा पोखरीमा जल विहार गर्दा महादेव एसलित हुनुभयो र उनको वीर्यलाई एउटा पुरैनिको पातमा राखेपछि त्यहाँ पाँच दीदी बहिनीहरुको जन्म भयो र उनी पाँच दीदी बहिनी विषहरा भएको प्रचलित लोककथामा भनिएको छ । तर गौरी उनीहरु माथि रिसाएपछि महादेवले भन्नुभयो यी पाँचै दीदी बहिनीहरुलाई श्रावण महिनाको पंचमीको दिन सबैले पूजा गर्ने छन र यसले सबैको कल्याण गर्ने छन भनी भनिएको छ । एउटा कथा अनुसार तक्षक की स्वास्नीले आफनो लोग्ने प्रति विश्वासधात गरेकोले तक्षकले प्रत्येक मानिसले आफनी स्वास्नीलाई हत्या गर्न आदेश जारी गर्न जन्मेजयलाई अनुरोध गरेको थियो । तर जन्मेजयले प्रत्येक महिलाले नाग पंचमीको दिन नागको प्रतिमूर्ति बनाइ पूजा गर्ने भनेको थियो र उसले यसबाट आफनो लोग्नेको विश्वास पात्र बन्ने कुरा भनेको थियो । यसै कारणले प्रत्येक वर्ष श्रावण महिनाको पंचमीको दिन पूजा गर्ने चलन चलेको भनी भनेको पाईन्छ ।

भारत तथा अन्य देशहरुमा नाग पूजाको परम्परा

भारतको काश्मिर एवं हिमाञ्चल प्रदेशको कान्ँग्रा उपत्यकामा नाग मन्दिरहरु पाउन सकिन्छ जसमा शेषनाग, वासुकी नाग, कर्काेटक नाग दिलाई पूजा गर्ने परम्परा रहेको बुझिन्छ । इण्डोनेशियाको वालिद्विपमा वासुकी नागको मन्दिर छ जहाँ बड़ो श्रद्धापूर्वक पूजा गर्ने परम्परा रहेको छ । भारतको केरालामा मनरसलामा नाग मन्दिर अत्यन्त प्रसिद्ध छ । इण्डोनेशियाको वाली तथा जावा द्वीपमा वासुकी नागलाई नागराजको रुपमा पूजा गर्ने र यसको मन्दिरलाई पवित्र मन्दिर भनिएको देखिन्छ । भारतको इन्दौर नजीक तक्षक नागको मन्दिर छ र यो तक्षकेश्वर नामले प्रसिद्ध छ । कम्वोडियामा बाह्रौं शताव्दीमा हिन्दू राजा सूर्य वर्मन दोश्रोद्वारा निर्मित अंगकोर बाट हिन्दू मन्दिरमा पनि वासुकी नाग मन्दिरको सजावटमा हेर्न सकिन्छ । नागदैत्य अर्थात ड्रेगन तिव्बत, चीन, सिक्किम आदि क्षेत्रका नाग शक्तिको रुपमा मान्यता पाएको छ र यसलाई राष्ट्रिय पहिचानको रुपमा पनि चित्रांकन गरिएको पाइन्छ ।

महासती विहुलाको कथा

महासती विहुला र बाला लखिन्दरको कथा नागदेवी मनसासँग सम्बन्धित रहेको र यो कथा मिथिालाञ्चलको साथै बंगालमा नीकै लोकप्रिय रहेको देखिन्छ । विहुला र बाला लखिन्दरको कथा लोग्ने स्वास्नी बीचको मायाको अमरगाथाको रुपमा लिइन्छ । बंगालमा त श्रावणको अन्तिम राति र भाद्र महिनाको पहिलो दिन मनसा नागदेवीको उत्सवको रुपमा धूमधाम सँग भनाउने परम्परा रहेको छ र यो दिन बंगालका किसानहअरु कृषि कार्य नगरी विहुला र बाला लखिन्दरको अमर प्रेमको उत्सव मनाउने गर्दछन । महासती विहुला र नागदेवी मनसाको कथा अनुसार नागदेवी मनसा महादेव की मानस पुत्री थिइन र महासती विहुलालाई अत्यन्त दुख दिएकी थिइन र पछि घर घरमा मनसाको पूजा गर्न लगाउन र त्यसको प्रचार गराउन बाध्य गराएकी भन्ने कुरा मिथिलाञ्चलमा नीकै प्रचलित रहेको छ । विहुलाबाट नाग पूजा स्वीकार गराएर मानव कल्याणको लागि घर घरमा नाग पूजा हुनुपर्छ भनी प्रचार गरेपछि नाग पूजाको प्रारम्भ भएको पनि लोक धारणा रहेको छ । मध्य युगमा बंगालमा मनसा सम्प्रदाय पनि प्रचलित भएको देखिन्छ । यस प्रकार नाग पूजाको परम्परा विश्वभरी कुनै न कुनै रुपमा प्रचलित रहेको छ ।

Comment


Related News

Latest News

Trending News