२०७९ श्रावण ११, बुधबार ०७:४७

रौतहट जिल्लाको राजदेवी नगरपालिका–४ र ६ नजिक रहेका बागमती नदीमा कटान भईरहेको ठाउँमा ११ वटा स्पर निर्माण गरिएको छ ।

वर्षा याममा बागमती नदीमा आउने बाढीबाट बाँधलाई जोगाउन तथा कटान नियन्त्रण गर्नका लागि राजदेवी नगरपालिकाबाट वडा नम्बर ६ स्थित रहेको स्पर नम्बर २ तथा वडा नम्बर ४ नजिक रहेको स्पर नम्बर ५ को वीचमा ११ वटा अस्थायी स्पर निर्माण गरिएको हो । गएको असार महिनामा भएको वर्षाले नदीमा आएको बाढीको कारण कटान हुन लाग्दा हुन सकिने सम्भावित खतरालाई न्यूनीकरण गर्ने उद्देश्यले बोरामा बालुवा हालेर नाइलन क्रेटको साढे ११ र साढे नौ मिटर लामो स्पर निर्माण गराइएको नगरपालिकाका इन्जिनियर संजय पाण्डेले जानकारी दिए । स्पर निर्माण गर्न करिव १ लाख बोरा तथा ७ सय २० वटा बासको प्रयोग भएको जानकारी गराउदै इन्जिनियर पाण्डेले सवै भन्दा बढी जोखिम स्पर नम्बर २ नजिक रहेको बताए । बाँध देखि करिब ३० मिटरको दूरीमा बागमती नदीको मूलधार बगि रहेकोले बाँध उच्च जोखिममा रहेको जनाए । तत्काल कटान नियन्त्रण गर्नका लागि बागमती लालबकैया नदी नियन्त्रण आयोजना कार्यालयले २५ हजार बोरा , १ सय ३० थान जाली र ७ सय २० थान बास उपलव्ध गराएको बताए । जिल्ला स्थित जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयले पनि बोरा र जाली उपलव्ध गराएको छ भने सशस्त्र प्रहरी बलले २ हजार बोरा सहयोग गरेको छ । स्पर नम्बर २ नजिक ५ वटा र स्पर नम्बर ५ नजिक ६ वटा नया स्परहरु बनाउनु को साथै बासको पाइलिङ्ग गरिएको छ । नगरपालिकाको विपद् व्यवस्थापन कोष बाट ६१ लाखको लागतमा निर्माण गरिएको स्परमा नपा बाट ७० हजार बोरा खरिद गरिएको छ । बागमती र लालबकैया नदीको उच्च जोखिममा सदरमुकाम गौर र राजदेवी नगरपालिका रहेको छ ।

बर्सेनि भौतिक तथा मानवीय क्षति दुवै नगरपालिकाका स्थानीयहरु बढी मात्रामा बेहोर्दै आएपनि नदी नियन्त्रण कार्यालयले स्थायी रुपमा समाधान खोज्ने तर्फ चासो नदेखेको आरोप नगर प्रमुख भिखारी प्रसाद यादवको रहेको छ । ठूलो नदी जुन जिल्लामा रहेको छ त्यही जिल्लामा नदी नियन्त्रण कार्यालय राख्नु पर्नेमा नेपाल सरकारले सानो नदी भएको बारा जिल्लामा कार्यालय राखेकोले रौतहटका आम नागरिक दुवै नदी बागमती र लालबकैयाबाट बर्सेनि रुपमा क्षति बेहोर्दै आएको जिकिर नगर प्रमुख यादवले गरे । उनले नदी नियन्त्रण कार्यालय गौरमा राख्नु पर्ने समेत धारणा राखेका छन् । संघीय सरकार र प्रदेश सरकारले बागमती नदी नियन्त्रणको लागि ठोस र स्थायी समाधानको लागि निकाश निकाल्नु पर्ने माग समेत गरे । गत वर्ष आएको बाढीले बागमती नदीमा भारत सरकारको लगानीमा निर्माण गरिएको २ नम्बर स्पर क्षतिग्रस्त भएपछि नदीको धार परिवर्तन भएर बाँधको नजिक आएकोले बाँध उच्च जोखिममा रहेको छ । स्पर नम्बर ५ नजिक पनि नदीको अवस्था त्यस्तै रहेकोले समय मै यसको नियन्त्रणको लागि सरकारको ध्यान जानु जरुरी रहेको मेयर यादवको भनाइ रहेको छ । पटक पटक अस्थायी रुपमा स्पर निर्माण गर्दा आर्थिक रुपमा नोक्सानी हुने गरेकोले ठोस एवं स्थायी रुपमा स्पर निर्माणको लागि नेपाल सरकार र प्रदेश सरकारले बजेट विनियोजन गरी निर्माणको कार्य गराउनु पर्ने उनले जोड दिएका छन् । समयमा ठोस समाधान गरिएन भने बाँध भत्किएमा राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रहमपुरी र वडा ८ लक्ष्मीपुर बेल्विछ्वाको बढी भौतिक तथा मानवीय क्षति बेहोर्नु पर्ने खतरा रहेको छ । दक्षिणमा भारतीय बाँध रहेकोले सदरमुकाम गौर डुवानमा पर्न सकिने उच्च जोखिम रहेकोले यस तर्फ नदी नियन्त्रण कार्यालय, संघीय सरकार र प्रदेश सरकारले ध्यान दिन नितान्त जरुरी रहेको छ ।

रौतहट निर्वाचन क्षेत्र नम्बर १ संग जोडिएको बागमती नदीलाई नियन्त्रण गर्न निर्वाचन क्षेत्र बाट निर्वाचित भएका जनप्रतिनिधिहरुले पनि कुनै उत्सुकता नदेखाएको कारण बागमती नदीको अवस्था यस्तो भएको स्थानीयहरुले बताएका छन् । क्षेत्रबाट प्रतिनिधि सभामा नेतृत्व गरेका पूर्व स्वास्थ्य मन्त्री ब्रज किशोर सिंह , पूर्व सभासद बबन कुमार सिंह , पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समेतले बागमतीको ठोस व्यवस्थापनको लागि चासो देखाउन सकेनन् ।

Comment


Related News

Latest News

Trending News