२०७९ श्रावण १२, बिहीबार ०७:२३

मधेश प्रदेश सरकारले प्रशासनिक भवनसहित विभिन्न मन्त्रालयहरुको स्थायी भौतिक संचरना निर्माणको लागि जनकपुर चुरोट कारखानाको जनकपुरधाम स्थित ३३ विघा जग्गाको स्वामित्व हस्तारण गर्न प्रधानमन्त्री शेरवहादुर देउवालाई ज्ञापन पत्र बुझाएपछि कारखानाको धराशायीे बारे विभिन्न कोणबाट चर्चा परिचर्चा हुन थालेको छ ।

कुनै सयममा जनकपुरधामसहित यस क्षेत्रका जनताले गर्व गर्ने जनकपुर चुरोट कारखाना पछिल्लो ६ वर्षदेखि बन्द अवस्थामा रहेको छ । हुनत जनकपुर जुरोट कारखनाको उत्पादन ठप्प भने असार २०६८ सालदेखि नै भएको थियो । रुस सरकारको सहयोगमा २०१७ सालदेखि नै कारखानाको निर्माण कार्य सुरु भएको थियो । तत्कालीन आर्थिक मन्त्री रामनारायण मिश्रको पहलमा रुस सरकारले जनकपुरमा उद्योग स्थापना गरेको उक्त कारखानाको राजा महेन्द्र शाहले २९ पुस २०२१ सालमा उद्घाटन गरेका थिए । स्थापनाको समयमा कुल चुक्ता पँुजी ४ करोड ८ लाख ३७ हजार रहेको सो कारखानाको प्रारम्भमा ३ सय कर्मचारी भर्ना गरी उत्पादन कार्य सुरु भएको थियो । पछि २०४४ साल सम्म कारखानाले प्रत्यक्ष रुपमा साढे ४ हजार कर्मचारी सम्मलाई रोजगारी दिएको थियो । त्यतिवेला सम्म कारखानाको अवस्था निकै राम्रो थियो । कारखानाले आफ्नो कारोवार बढाउदै गइरहेको थियो । त्यही क्रममा जनकपुरभन्दा वाहिर बुटबल, नारायणघाट लगायतका स्थानमा जग्गा खरिद गरी भवन निर्माण समेत गरे । यहाँ सम्म कि जनकपुरको कुनै चार्ड पर्वको अवसरमा मेला होस् वा खेलकुदको विकास होस् जनकपुर चुरोट कारखना (जचुकालि)ले राम्रो आर्थिक सहयोग गर्ने हैसियत राख्थे । जचुकालिमा काम गर्ने मजदुरदेखि उच्च स्तरका कर्मचारीको पनि ठूलै गरिमा थियो । अर्थात त्यतिवेला जचुकालिमा काम पाउनु सामान्य विषय थिएन । यहाँ सम्म जचुकालि सुर्ति विकास कार्यालय, धागो बुटबल, सेती चुरोट कारखाना धनगढी लगायतका शेयर रहेको थियो । तर २०४६ सालमा प्रजातन्त्र आएपछि राजनीतिक हस्तक्षेप बढ्दै गएपछि कारखानाको विनाश लीला सुरु भयो । सरकार परिर्वातनसँगै सञ्चालक समितिका अध्यक्ष र महाप्रबन्धक फेर्नुको साथै पार्टीहरुले आफ्ना कार्यकर्ता भर्ति केन्द्रको रुपमा जचुकालिको प्रयोग गर्न थाले । यसरी आवश्यकता भन्दा बढी कर्मचारी हुनु, अध्यक्ष र महाप्रबन्धकले आफ्ना स्वार्थसिद्ध हुने गरी काम गर्दा विस्तारै विस्तारै जचुकालि धराशायी हुदै गयो । जानकारहरुका अनुसार आवश्यकताभन्दा बढी कर्मचारी, अध्यक्ष र महाप्रबन्धकले पनि स्वार्थसिद्ध गर्न गलत नियतले काम गर्दै जाँदा जचुकालिको विकास हुनुको सट्टा घाटाको क्रम बढ्दै गयो । जचुकालिलाई धराशायी बनाउनुको सुर्या टोबाको पनि महत्वपूर्ण भुमिका रहेको त्यसमा काम गर्ने कर्मचारीहरुको भनाइ छ ।

सुर्या टोबाको भन्दा जचुकालिको उत्पादन गुणस्तर थियो । स्वदेशमा मात्र नभई विदेशमा पनि जचुकालिको उत्पादनको माग धेरै थियो । तर त्यतिवेलाका उच्च स्तरका कर्मचारीहरु नै सुर्या टोबैकोसँग मोटो रकम लिई आफूलाई नै रोजगारी दिने संस्थान विरुद्ध विभिन्न षड्यन्त्रहरु गर्न थाले । कहिले मेसिनमा समस्या देखाएर, हप्तौ सम्म उत्पादन ठप्प गर्ने काम गरियो त कहिले मजदुर संगठनहरुलाई उचालेर कारखना बन्द गराउने जस्ता षड्यन्त्रहरु भए । यसरी बजारमा जचुकालिको छवि नकारात्मक बनाउने काम भइरह्यो । कारखानामा सुर्ति, डिजेल लगायतका आपुर्ति दिन किसान र व्यापारीहरुको समयमा भुक्तानी गर्न पनि समस्या भयो भने कर्मचारीहरुलाई पनि तलब खुबाउन समेत नसकिने अवस्थामा जचुकालि पुग्यो । एक जना जानकार भन्छन्,‘जचुकालिन नै यस्तो बलियो संस्थान थियो षड् न्त्रकारीहरुलाई सिध्याउन झण्डै दुई दशक लाग्यो । अन्य कुनै संस्थान भएको भए दुई चार वर्षमै तालाबन्दी हुन्थ्यो ।’ अन्ततः चैत (२०६८ साल) बाट कारखानाको उत्पादन पुर्ण रुपमा ठप्प भयो भने तत्कालीन उद्योग तथा वाणिज्य आपुर्ति मन्त्री अनिल झाले २० असार २०७० सालबाट कारखाना पूर्णमा बन्द गराउने निर्णय गराए । यसै आरोह अवरोहहरुको क्रममा बन्द रहेको कारखानालाई सञ्चालन गर्नुको सट्टा ४ जेष्ठ २०७४ सालमा शेरवहादुर नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट ३३ विघामा फैलिएको कारखाना प्रदेश सरकारलाई उपभोग गर्ने निर्णय गरियो । यो निर्णय गराउन तत्कालीन गृह मन्त्री विमलेन्द्र निधिको ठूलो भूमिका रहेको थियो । सो निर्णय अनुसार अहिले मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि प्रदेश प्रमुखको कार्यालय जचुकालि भित्रै रहेको छ । प्रदेश प्रमुखको निवासदेखि कर्मचारीहरुको निवासपनि जचुकालिन भित्रै रहेको छ । प्रदेश सरकार गठन भएको वेलामा प्रदेशको सरकारको सञ्चालनका लागि जचुकालि जीर्ण रहेको भवनहरुको मर्मत सम्भार तथा रंङगरोगनका लागि संघीय सरकारले करिव साढे ७ करोड रुपैयाँपनि विनियोजन गरेको थियो । ती वजेट प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री, मन्त्रीहरुको आवासको समेत रंङरोङन भयो । करिव दुई वर्ष अघि जचुकालिको नाम परिवर्तन गरि प्रदेश सरकारले मधेश भवन राखेको छ ।

३३ विघामा फैलिएको जचुकालिको २० विघा जग्गामा निवास क्षेत्र, ८ विघा कारखाना क्षेत्र, ५ विघामा गोदाम रहेको छ । २० विघामा फैलिएको निवास क्षेत्रमा मुख्यमन्त्रीको निवास, प्रदेश प्रमुखको कार्यालय, निवास, ५ वटा मन्त्रालय, मन्त्रीहरुको निवास, प्रमुख सचिवदेखि अन्य कर्मचारीहरुको निवास समेत रहेको छ । त्यसैगरी, मुख्यन्यायाधिवक्ताको कार्यालय, निवास, नीति तथा योजना आयोगको कार्यालय र सशस्त्र प्रहरीको लागि एक भवन रहेको छ । त्यसवाहेक एक कवर्ड हल समेत रहेको छ । प्रदेश सरकारले कारखाना क्षेत्रको ८ विघा जग्गा मध्ये बीचमा रहेको एक भवन प्रयोग गरिरहेको छ । त्यसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालनमा रहेको छ । निर्वास क्षेत्र अहिले पूर्ण रुपमा प्रदेश सरकारको रेखदेखमा रहेको छ भने कारखाना क्षेत्र र गोदाम क्षेत्र जचुकालि आफै रेखदेख गरिरहेको छ । त्यसका लागि जचुकालिले रेखदेख र सुरक्षाका लागि ८ जना सुरक्षा गार्ड समेत राखेको छ ।

please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=-gUA8UoSBJY

Comment


Related News

Latest News

Trending News