२०७९ श्रावण १३, शुक्रबार ०७:४२

यहाँका बोर्डिङ स्कुलहरु साना कलिला बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिने नाममा गरुँगो झोला बोकाएर भरिया बनाउने काम गरिरहेको अभिभावकहरुले गुनासो गरेका छन् ।

बोर्डिङ स्कुलका संचालकहरु आफ्नो विद्यालयले अरु विद्यालयको भन्दा आफ्नो विद्यालयले स्तरीय शिक्षा प्रदान गरेको भन्ने देखाउनकै लागि भएपनि बालबालिकाहरुलाई विद्यालय आउँदा ठूलो साइजको झोला, झोलामा प्रत्येक विषयको दुईदुई वटा काँपी, मोटा मोटा किताब, औजार बक्स, टिफिन र पानीको बोतल अनिवार्य रुपमा लिएर आउनु पर्ने नियम बनाएर बालबालिकालाई सानो उमेर देखि नै भरिया बनाइरहेको बाल अधिकारकर्मीले बताए । स–साना बालबालिकालाई स्तरीय शिक्षाका नाममा धेरै किताब बोकाउने, विद्यालयमा खानेपानीको व्यवस्था नगरी घरैबाट पानी समेत लिएर आउन बाध्य पार्ने प्रवृत्तिले पनि बालबालिकाहरुले बोक्ने झोलाको वजन बढेको बालअधिकारकर्मीले बताए । गरुँगो झोलाका कारण बालबालिकामा ढाड, मांसपेसी र नसासम्बन्धी समस्या देखिनुका साथै उनीहरूको वृद्धि र विकासमा समेत प्रतिकूल प्रभाव परेको स्वास्थ्यकर्मीहरुले जनाएको छ ।

वर्तमान समयमा निजी विद्यालयहरुमा किताबको संख्या अनुसार विद्यालयको स्तर राम्रो मानिने मानसिकताका कारण धेरै किताब राख्ने चलन बढेको छ । आधारभूत तहका विद्यार्थीलाई समेत १० देखि १२ वटा किताब किन्न बाध्य पार्ने निजी विद्यालयहरुको गलत कार्यलाई निरुत्साहित पार्नुको सट्टा केही सामूदायिक विद्यालयहरुले पनि अँग्रेजी माध्यमबाट पढाउने नाममा विद्यार्थीहरुलाई अतिरिक्त किताब भिडाउन थालेको पाइएको छ । अनावश्यक रूपमा धेरै किताबलाई पाठ्यक्रममा समावेश गरी सबै किताब अनिवार्य रुपमा विद्यालय आउँदा ल्याउनैपर्ने गलत नियमका कारण साना बालबालिकाहरुको मानसिकतामा नकारात्मक प्रभाव पारेको मलंगवाका एक अभिभावकले बताए । पेज अनुसार बढी मूल्य लिन पछिल्लो समय प्रकाशन गृहहरुले ठूलो साइजको र मोटो किताब छाप्न थालेका छन् । यसले गर्दा पनि बालबालिकाहरुले बोक्ने झोलाको वजन बढाएको छ । प्रकाशन गृह र विद्यालय मिलेर अभिभावक र विद्यार्थीहरुलाई आर्थिक, मानसिक र शारीरिक कष्ट मात्र दिने काम गरेको अभिभावकहरुको भनाइ छ । गाउँघरका बोर्डिङ स्कुलमा पढ्ने बालबालिकाहरु बिहान स्कुल जाँदा र बेलुका घर फर्कदा गरुँगो झोला बोकेर सडकमा जसोतसो हिँडिरहेको हरेक दिन देख्न सकिन्छन् भने सहर बजारमा पढ्ने बालबालिकाहरु ठूला झोला बोकेर स्कुल बसको प्रतीक्षा गरिरहेको भेटिन्छन् ।

यहाँका निजी विद्यालयहरुलाई स्तरीय शिक्षा प्रदान गर्ने नाममा आफूखुसी धेरै किताब राख्न प्रवृत्ति तुरुन्त बन्द गरि बालबालिकाहरुलाई सानैदेखि भरिया बनाउने काम बन्द गर्न अभिभावकहरुले सुझाव दिएका छन् ।

Comment


Related News

Latest News

Trending News