पर्साको पोखरीयाका विभिन्न टोलमा १८ करोड रुपैयाको लागतमा निर्माण हुन थालेको सडकको शिलान्यास गरिएको छ ।
पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा, वडा नम्बर ५ सतवरिया र वडा नम्बर ६ सिर्सियामा निर्माण हुन लागेको सडकको पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले मङगलबार शिलान्यास गरेका हुन् । संघीय सरकारको एक सांसद एक रणनीतिक कार्यक्रम अन्तर्गत पोखरीयाको ३ वटा वडामा १८ करोड रुपैयाको लागत सडक निर्माण गर्न थालिएको हो । सडक निर्माणको लागि सांसद रौनियारले पटक पटक भौतिक पूर्वाधार मन्त्रालय र सम्बन्धित निकायकोमा पहल गरेका थिए । शिलान्यास कार्यक्रममा सांसद रौनियारले सडक निर्माण भएपछि त्यस भेगका जनतालाई आवागमनमा थप सहज हुने बताए ।
रौनियारले आगामी दिनमा समेत जनताको चाहना अनुसार बिकास निर्माणका कामका लागि आफनो पहलकदमी जारी रहने प्रतिबद्धता जनाए । ग्रीस नन्दनको अध्यक्षतामा भएको सडक शिलान्यास कार्यक्रममा पोखरीया नगरपालिकाका मेयर प्रद्युमन चौहान ,जनता समाजबादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव , मधेश प्रदेशकी प्रदेशसभा सदस्य करिमा बेगम , जसपाका नेता गौरीशंकर साह , लोसपा नेता नेजामोदीन समानी ,सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल , पोखरिया नगरपालिकाकी पूर्व उपमेयर सलमा खातुन लगायतको सहभागिता रहेको थियो ।

