मुख्यमन्त्री लालबाबु राउतले ठेकेदारहरुले न्यूनतममा ठेक्का सकारेको कारण विकास निर्माणमा अनिमितता हुने गरेका बताएका छन् ।
वीरगञ्जको नगवामा निर्माण हुने सडकको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतले टेन्डर सकार गर्दा ठेकेदार कम्पनीहरुले ३० देखि ३५ प्रतिशतसम्म न्यूनतममा ठेक्का लिने गरेको कारण विकास निर्माण अनियमितता हुने गरेको बताएका हुन् । बिहीबार आयोजित शिलान्यास कार्यक्रममा उनले आफू जितेको चुनावी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै वीरगञ्जको नगवामा मन्दिर निर्माण देखि पोखरी सौन्दर्यकरण लगायत विभिन्न सडकहरुमा यसबर्ष पनि वजेट निकासा गरेको बताए । मधेश प्रदेश सरकारले लागु गरेको नगवाको पोखरी सौन्दर्यकरण निर्माणकार्यमा भइरहेको ढिलाइ बारे बोल्दै मुख्यमन्त्री राउतले कम भन्दा कममा ठेक्का लिने र त्यसपछि ठेकेदार गायब हुनेगरेकोले पनि विकास निर्माण कार्यमा ढिलाइको हुनका साथै अनियमितता समेत हुनेगरेका उनले बताए । सरकारले प्रत्येक प्रदेश संसदीय क्षेत्रमा ५ किलो मिटर सडक निर्माण योजना यो बर्ष लागु गरेको छ । उक्त योजना अन्तर्गत वीरगञ्जको लक्ष्मणवा,भिष्वा, नगवादेखि इनर्वासम्मको ५ किलो मिटर सडक निर्माणको शिलान्यास कार्यक्रममा उनले आफू जितेको क्षेत्रमा अत्यधिक विकास निर्माणका कार्यक्रमहरु लागु गरिएकोले पुन आफूलाई चुनावमा जिताउन अनुरोध गरे ।
६ करोड ५३ लाख ६८ हजारको लागतमा निर्माण हुने उक्त परियोजनाको ठेक्का सिवाको कन्स्ट्रक्सन प्रालि काठमाण्डुले लिएको छ । पूर्वाधार विकास कार्यालयको अनुगमनमा निर्माण हुने उक्त सडक निर्माण कार्यको अन्तिम समय आगामी बर्षको पुस मसान्त सम्म रहेको छ ।

