२०७९ श्रावण २३, सोमबार ०६:३६

महोत्तरी जिल्लामा ज्वाइँले सासु र श्रीमतीको शरीरमा आगो लगाएको घटना आइतवार बाहिरिएको छ ।

भंगहा नगरपालिका ९ कञ्चनवनकी आमा छोरीलाई मट्टितेल खन्याएर आगो लगाइएको हो । ६५ वर्षीया रेसमादेवी सदा र ३५ वर्षीया प्रमिला देवी सदालाई औरही नगरपालिका–८ टिमकियाका शंकर सदाले मट्टितेल खन्याएर शनिबार राति आगो लगाएको महोत्तरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जनाएका छन् । उनका अनुसार घटनाका आरोपि शंकर सदा फरार छन् । उनको खोजी कार्य भइरहेको छ । आगो लागेर घाइते भएका दुबै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा सम्भव नभएपछि काठमाण्डु रेफर गरिएको छ । घटना बारे यकिन हुन नसके पनि घरायसी विवादका कारण आगो लगाइएको हुन सक्ने प्रहरीको अनुमान छ । रेशमा देवी सदा टोलमा निकै लोकप्रिय पूर्व जनप्रतिनिधि हुन् । शंकर सदालाई घर ज्वाइँ राखेकी रेशमा र उनकी छोरी प्रमिला देवीलाई राति जिउमा मट्टीतेल खन्याएर आगो लगाएका थिए । आगो लागेर छट्टपट्टाउँदै गुहार मागेपछि स्थानीय बासिन्दाहरुले आगो नियन्त्रणमा लिएका थिए । उनीहरुलाई उपचारका लागि तत्कालै अस्पताल पठाइएको थियो ।

आगोले रेसमा देवी सदाको पिट्यु, पाखुरा र बायाँ खुट्टा जलेको छ । प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि काठमाण्डु रेफर गरिएको प्रादेशिक अस्पताल जनकपुरका डा. रुपेश बर्माले बताए । वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए । आगोमा पोलेर गम्भीर घाइते भएकी रेशमा ०७४ को स्थानीय निर्वाचनमा सोही वडामा दलित महिला वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् । प्रमिलाको तीन छोरा छन् ।

Comment


Related News