पहाडी क्षेत्रमा भएको अविरल वर्षासँगै टेङग्रा खोलामा आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका ४ स्थित चन्द्र नहरको बाँध ठाउँ ठाउँमा भत्काएको छ ।
शनिबार मध्यरातमा टेङग्रा खोलाको अनियन्त्रित वहावले तुलसी चोक आसपासका उक्त नहरको चार स्थानमा बाँध भत्काएको छ । बाँध भत्किएपछि एउटा घर समेत कटानमा परेको सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण ढकालले बताए । उच्च वहाव कायमै रहेकाले एउटा पुल र त्यस क्षेत्रका आधा दर्जन घर उच्च जोखिममा परेको उनले जानकारी दिएका छन् । मध्यरातमा अचानक नहरको बाँध भत्किएर बाढी पसेपछि नजिकै रहेका बस्तीमा भागाभाग भएको स्थानीय अमर खवासले बताए । बाढीले ठाउँ ठाउँमा नहरको बाँध भत्काउनुका साथै सो खण्डको करिब एक सय मिटर सडक समेत क्षतिग्रस्त बनाएको स्थानीय भरत बस्नेतले बताए । नहरको बाँध भत्किएपछि आसपासका बासिन्दा बिस्थापित हुने खतरामा पुगेको स्थानीयले बताएका छन् । कटान गरेको क्षेत्रमा आइतबार एकाबिहानै पुगेका नगर प्रमुख ढकालसहितको एक टोलीले नियन्त्रणको प्रयास गरिरहेको नगरपालिकाले जनाएको छ ।
“भत्किएको ठाउँमा तारजाली, ढुङ्गा र बोरामा बालुवा भरेर रोक्ने प्रयासका साथै जेसिभि र अन्य साधनको प्रयोग गरि मर्मतसम्भारको काम पनि थालेका छौं,” नगरप्रमुख ढकालले भने, नहर छेउमा बसोवास गरिरहेका जोखिममा छन्, उनीहरुलाई सुरक्षित गर्न सबै उपाय प्रयोग गर्न लागिपरेका छौं ।

