वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको सबै वन क्षेत्रको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइने बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी’ भन्ने मूल नाराका साथ मंगलबार आयोजना गरेको सामुदायिक वन दिवस २०७९ को कार्यक्रममा मन्त्री यादवले नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइ नेपालमा बैदेशिक काठको आयातमा निरुत्साहित गर्ने बताए । उनले भने,वनको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाउने र वैदेशिक काठ आयातमा निरुत्साहित गर्ने मेरो योजना छ, सोही अनुसार काम गर्ने छु ।’ यसैगरी मन्त्री यादवले सामुदायिक वनले अघि सारेका कार्यक्रमले नेपालमा हरियाली वृद्धि हुन सहयोग पुग्नुका साथै वनले ओगटेको क्षेत्रफलमा उल्लेखनीय वृद्धि भइ वनको हैसियतमा सुधार आएको तथा भूक्षय नियन्त्रण एवं जलाधार संरक्षण हुँदा वन्यजन्तुको बासस्थान संरक्षण लगायत जैविक विविधतामा अतुलनीय योगदान पुगेको दावी गरे । मन्त्री यादवले सामुदायिक वनकै कारण गरिब तथा विपन्न वर्गको जिविकोपार्जनमा सुधार हुनुका साथै सामाजिक बहिस्करणमा परेका महिला, दलित, आदिवासी जनजाति वर्गलाई सामाजिक मूलप्रवाहिकरण, महिला वर्गको नेतृत्व विकास तथा सामाजिक सदभाव कायम राख्न उल्लेख्य योगदान र भूमिका निर्वाह गरेको बताए ।
यसैगरी मन्त्री यादवले हाल विभिन्न कारणले वन क्षेत्रबाट टाढा रहेका तर वनका परम्परागत उपभोक्ताहरु विशेषतः मधेशी, दलित, जनजाति, आदिबासी तथा मुसलमानहरुको वन पैदावारको माग र आवश्यक्तालाई पनि प्राथमिकताका साथ पुरा गर्नु पर्ने धारणा अघि सारे । उनले वर्तमान अवस्थामा वन ऐनका प्रावधानहरु बमोजिकम व्यवस्थापनका लागि नेपालमा करिव २२ हजार ५ सय १९ सामुदायिक वन उपभोक्ता समूहहरुले करिव २३ लाख ५१ हजार ५ सय ७७ हेक्टर राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोगमा निकै सहयोग पुगेको जानकारी दिए । उनले विशेष गरी तराई तथा मधेशका नजिक एवं टाढा दुबै स्थानमा बस्ने उपभोक्ताहरुको काठ, दाउरा लगायत वन पैदवारको आधारभूत मागलाई परिपूर्ति गर्न अझै बढी मेहनत गर्नु पर्ने बताए ।



