
वन तथा वातावरण मन्त्री प्रदीव यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी सडक खण्डमा पर्ने वीरगञ्ज स्थित तिलावे नदीमा पुलको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
पर्साको ग्रामीण भेगलाई सदरमुकाम वीरगञ्जसँग जोड्ने मुख्य बाटोमा पर्ने तिलावे नदी पुलको शनिवार एक कार्यक्रमबीच मन्त्रीद्वय यादव र राईले उद्घाटन गरेका छन् । पुल उद्घाटन भएसँगै जिल्लाको ग्रामीण भेगका वासिन्दाले वर्षौंदेखि भोग्दै आएको जामको समस्या समाधान भएको छ । उद्घाटन कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादवले तिलावे नदीमा निर्माण भएको पुल पर्सा जिल्लाको समृद्धिको लागि कोषेढुङ्गा सावित हुने बताए । पुल निर्माणसँगै यसअघि रहेको साँघुरो र पुरानो पुलका कारण घण्टौँसम्म जाममा फस्ने समस्याबाट पनि पर्सावासीलाई छुटकारा पाउने उनले विश्वास व्यक्त गरे । तिलावे पुल प्रयोग गरेर जिल्लाको ग्रामीण भेगका ८५ देखि ९० प्रतिशत जनता वीरगञ्ज आउजाउ गर्ने गरेका छन् । नयाँ पुल बनेसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि सामग्री, खाद्यान्न लगायतका बस्तुले बजार पाउने र त्यस क्षेत्रका जनतालाई स्वास्थ्य उपचार, शिक्षा, रोजगारका लागि समेत वीरगञ्ज आउन सहजता हुने मन्त्री यादवले बताए । त्यसैगरी उनले अनुमति नपाएर रोकिएका विकास निर्माणका कामहरुको सञ्चालन गर्न वन मन्त्रालयले तत्काल अनुमति दिने आश्वासन व्यक्त गरे । नागरिकको आवश्यकतामा रहेका तर मन्त्रालयका कारण रोकिएका विकासका सबै कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै सोही अनुसार मन्त्रालयका कर्मचारी र मातहात विभाग र निकायलाई निर्देशन दिएको जनाए । उनले भने ‘म नागरिकको सेवाका लागि मन्त्री बनेको हुँ, वन मन्त्रालयको अनुमति नपाएर रोकिएका विकास निर्माणका कामलाई तुरन्त सुरु गर्न अनुमति दिरहेको छु, मन्त्री बनेको एक महिना भित्रै वर्षौंदेखि अनुमति नपाएर रोकिएका कयौँ विकास निर्माणका कामहरु तुरुन्त अनुमति दिएर सुरु गराएको छु ।

नागरिकको खुशी नै मेरो खुशी हो, जनताको काममा एक सेकेन्ड पनि ढिलाई हुनुहुँदैन । मन्त्रालयका कर्मचारीहरुलाई पनि सोही अनुसार काम निर्दिष्ट गरेको छु । ढुक्क हुनुस मेरो कार्यकालमा धेरै कामहरु सुरु हुनेछन् ।’ त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले अधुरो रहेको पर्सा–माडी– चितवन हुलाकी सडक खण्डको निर्माण छिटो सम्पन्न हुने आश्वासन दिए । मन्त्री राईले वन मन्त्रालले उक्त सडक खण्ड निर्माणमा रहेको अड्चन हटाएसँगै हुलाकी सडकको वाँकी काम सम्पन्न गरेर पर्सालाई चितवनसम्म जोड्ने र ठोरीलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने बताए । उनले पर्सा जिल्लाको सन्दर्भमा मन्त्री यादवले दिनहुँ नयाँनयाँ विकास निर्माणका योजनाहरु आफूलाई मन्त्रालयमा सिफारिस गर्ने गरेको र आफूले पनि उक्त योजनाहरुलाई प्राथमिकतामा राखेको जिकिर गरे । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, सिंगासन् साह तेली, वीरगञ्ज माहनगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, जसपाला जिल्ला अध्यक्ष रामनरेश यादव लगायतको उपस्थिति रहेको थियो । १ सय ३ मिटर लामो उक्त पुल निर्माण गर्न ७ करोड ७१ लाख रुपैयाँ लागेको सडक विभागले जनाएको छ । तीन वर्ष भित्र निर्माण सम्पन्न हुनेगरी २०७२ सालमा ठेक्का लगाइएपनि विभिन्न प्राविधि कारणले पुल निर्माणमा ढिलाई भएको थियो । पुल निर्माणको काम पप्पु÷लुम्बिनी जेभीले गरेको हुलाकी सडक निर्देशनालयले जनाएको छ ।