राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरि फिर्ता पठाएपछि मधेशमा आन्दोलन तथा विरोध शुरु भएको छ ।
राष्ट्रपति भण्डारीले विधेयकमाथि थप छलफलको खाँचो रहेको भन्दै विधेयक फिर्ता गरेकी थिइन् । जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को अथक प्रयास पछि नागरिकता विधेयक प्रतिनिधिसभा र प्रदेश सभावाट पारित भइ राष्ट्रपति समक्ष प्रमाणीकरणकालागि पठाइएको थियो । प्रमाणीकरण गर्नकालागि १५ दिनको समयसीमा हुन्छ तर १३ दिनमानै राष्ट्रपतिले सो विधेयक पिर्ता गरेपछि मधेशमा आन्दोलनको विगुल फुकिएको छ । राष्ट्रपति भण्डारी नेकपा एमालेको कार्यकर्ता रहेको भन्दै जसपा र लोसपाका नेताहरुले मधेशका विभिन्न जिल्लाहरुमा विरोध सहित पुतला दहन सम्मको कार्यक्रम सम्पन्न गरेको छ । जनकपुरधाममा सोमबार जसपा र लोसपा दुवै दलका नेता कार्यकर्ताहरु राष्ट्रपति भण्डारीको पुतला दहन गरेका छन् भने मधेशका अन्य जिल्लाहरुमा समेत विरोध गरिएको छ ।
हुनत नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एसले पनि विभिन्न माध्ययमवाट विरोध जनाएका छन् तर, जसपा र लोसपा सडकमा ओर्लेको छ । राष्ट्रपतिले लाखौं मधेशी जनतालाई आफ्नै मुलुकमा गैर नागरिक सरह बस्न बाध्य तुल्याएको र उनीहरुलाई नागरिकता दिनवाट बञ्चित गरेको उनीहरुको आरोप छ । विरोध प्रदर्शनमा जसपाका केन्द्रीय सदस्य तथा जनकपुरधाम उप–महानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह, युवा नेता जितेन्द्र यादव, नविन यादव लगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए । आइतवार राष्ट्रपतिले दुवै सदनबाट पारित भइसकेको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरि पुनः प्रतिनिधिसभामा फिर्ता पठाएपछि मधेशका चौतर्फी विरोध हुन थालेको छ ।
कांग्रेस रौतहटले ग¥यो विरोध प्रदर्शन
नेपाली कांग्रेस रौतहटले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएपछि विरोध प्रदर्शन गरेको छ । कांग्रेसले सोमबार रौतहटको गरुडा नगरपालिकाको गौर चपुर जाने बाटो ३० मिनेट चक्का जाम गरी विरोध जनाएका हो । कांग्रेस रौतहटका वरिष्ठ नेता हृदयनारायण यादवको अध्यक्षतामा भएको कोणसभामा बोल्ने वक्ताले अविलम्ब नागरिकता विधेयक प्रमाणीकरण नगरे मधेशमा भीषण आन्दोलन हुने चेतावनी दिएका थिए । यस्तै मधेश प्रदेश सदस्य एवम सूचना संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितिशकुमार गुप्ताले मधेश प्रदेशमा हजारौं जनता नागरिक अधिकारबाट बन्चित गरेको बताए । राष्ट्रपति भण्डारीले संसदको मर्यादालाई अपमानित गरेर नागरिकता विधेयक फिर्ता गरेको भन्दै उनले आपत्ति जनाए । त्यस्तै पूर्व उपसभापति सुनिलकुमार यादवले जन्मसिद्ध नागरिकका छोराछोरीहरूले नागरिकता नपाउँदा राज्यको सेवा सुविधा बन्चित हुने अवस्था रहेको बताए । विरोध कार्यक्रमा नेता राम यादव, रामसेनेही यादव लगायतले नागरिकता विधेयक फिर्ता भएकोप्रति खेद प्रकट गरेका थिए । युनामाई गाउँपालिका सभापति सीताराम यादव, वडा सभापति हरिन्द्र कुमार, महाधिवेशन प्रतिनिधि रामकृष्ण चौधरी लगायतका नेता– कार्यकर्ताहरु उपस्थित थिए । राष्ट्रपति भण्डारीले आइतबार नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । प्रतिनिधि र राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन् ।

