मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले अपराध नियन्त्रणको लागि मधेश सरकारले फोरेन्सिक ल्याब बनाउन पहल गर्ने बताएका छन् ।
मंगलबार जनकपुरधाममा नेपाल प्रहरी प्रधान कार्यालयले आयोजना गरेको प्रदेश स्त्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले सो कुरा बताएका हुन् । ‘प्रदेशमा भइरहेको विभिन्न प्रकृतिका अपराधलाई नियन्त्रण गर्न मधेश प्रदेशमा फोरेन्सिक ल्याबको आवश्यकता छ,’उनले भने,‘प्रदेश सरकारले यस प्रकारको ल्याब बनाउन अगाडि बढ्छ ।’ सूचना प्रविधि तीब्रताले अगाडि बढेपछि अपराध गर्ने शैली पनि अपग्रेड भएको हुनाले अनुसन्धान पद्धति पनि परिर्वतन हुनु पर्ने उनको भनाइ छ । ‘साइबर क्राइम र लागू औषध कारोबार मधेश प्रदेशमा बढेको छ,’उनले भने,‘तर यसलाई निरुत्साहित गर्न केही चुनौती देखिएको छ । यी चुनौतीलाई पार गर्नुपर्छ ।’ मधेशमा भागि विवाहको प्रवृति बढेको भन्दै यसलाई न्यूनीकरण गर्न कानून संशोधन गर्नुपर्नेमा उनले जोड दिए । ‘उमेर नपुग्दै किशोर किशोरी भागेर विवाह गरेको हुन्छ । पछि केटी पक्षले बलात्कारको मुद्दा दर्ता गराइ दिन्छ,’उनले भने,‘भूगोल र वातावरण अनुसारको कानून बनाउनु पर्छ । मधेशमा विवाह गर्ने उमेर २० बाट घटाउनु पर्छ ।’
साइबर मुद्दा मधेशमै दर्ता गर्न सुझाब
प्रहरी महानरीक्षक धीरज प्रताप सिंहले मधेश प्रदेशमा घरेलु हिंसा र जघन्य अपराध बढेको बताए । सीमासँग जोडिएको हुनाले यस प्रकारको अपराध बढेको उनले बताए । ‘अहिले धेरै अपराध साइबरसँग जोडिएको हुन्छ । साइबर अपराध काठमाण्डु मात्रै दर्ता हुन्छ । मधेश प्रदेशमा पनि भयो भने अपराधको ग्राफ कम हुन सक्छ,’उनले भने । प्रदेश सरकारलाई उनले यस तर्फ ध्यानाकर्षण गराए । निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भन्दै देखिएको समस्याको सूक्ष्म बहस पछि तिनै तहको सरोकारवाला बसेर आगामी रणनीति बनाएर काम गर्ने उनले बताए । ८० प्रतिशत अपराध आफ्न्तबाटै प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले मधेश प्रदेशमा अपराधको लाज लाग्दो तथ्याङ्क रहेको बताए । ८० प्रतिशत अपराध आफन्तबाट भइरहेको उनले तथ्य प्रस्तुत गरे । ‘पछिल्लो समय नेपालमा पनि अपराध वृद्धि भएको देखिन्छ । त्यसकारण अनुसन्धान पनि प्रविधिमैत्री हुनुपर्छ,’उनले भने । सामाजिक सञ्जालको दुरुपयोगले गर्दा अपराधको संख्या वृद्धि भएको उनले बताए । ‘धेरै अपराधमा साइबर प्रयोग भइरहेको छ,’उनले भने,‘त्यसकारण प्रहरीको परम्परागत शैलीले अनुसन्धान हुँदैन । अपग्रेड हुनु पर्छ ।’ अव एकाउन्ट हकिङदेखि लागू औषध कारोबारमा पनि टेक्नोलोजी प्रयोग भइरहेको भन्दै अनसन्धान पनि प्रविधिमैत्री हुनुपर्ने बताए ।

