दुई दशकअघि सगरमाथा अंचलको सदरमुकाम समेत रहेको राजविराजबाट लहान सारिएको यातायात व्यवस्था कार्यालय मंगलबारदेखि राजविराजमा पुनःस्थापना गरिएको छ ।
सिरहाको लहानबाट यथावत रुपमा सेवा प्रवाह हुँदै रहने र नयाँ शाखाको रुपमा राजविराजमा समेत कार्यालयको शुभारम्भ भएको छ । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले एक समारोहबीच यस कार्यालयको उदघाट्न गरेका छन् । सालमा राजविराजमा रहेको उक्त कार्यालयललाई सिरहाको लहानमा सारिएपछि सप्तरीवासीलाई २२ वर्षदेखि लहान धाउनु पर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । नयाँ शाखाको रुपमा कार्यालय स्थापना भएपछि अब सवारीसाधनको लाइसेन्स र ट्राइल बाहेकका सबै सेवा यहीबाट उपलब्ध हुने यातायात व्यवस्था सेवा कार्यालय राजविराजका निमित्त कार्यालय प्रमुख शशिप्रसाद यादवले जानकारी दिए । कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री यादवले कर्मचारीहरुलाई सुशासनसहितको सरल, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरे । देशैभरका यातायात कार्यालयबाट सेवाग्राहीहरु अझै सन्तुष्ट हुनसकेको छैन, मन्त्री यादवले भने, यातायात कार्यालयबाट सेवा लिदा अतिरिक्त शुल्क बुझाउनुपर्ने सेवाग्राहीबाट हामीले पनि गुनासो सुनेका छौं । सेवाग्राहीलाई खुशी पार्ने गरी सरल, सुलभ र गुणस्तरीय सेवा प्रधान गर्न आग्रह गर्दै उनले सबैको साथ सहयोगबाट मात्र विकास सम्भव रहेकोले हातमा– हात मिलाए अघि बढ्नुपर्नेमा जोड दिए । सबैको सामूहिक प्रयासले राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापना गर्न सफलता हाँसिल भएकोमा सप्तरीबासीलाई धन्यवाद र बधाई दिदै कार्यक्रमका प्रमुख अतिथि मन्त्री यादवले कार्यालय संचालनका लागि पूर्वाधार निर्माणको कार्यमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
फरक प्रसंगमा मन्त्री यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेर नेपाली नागरिकमाथि अन्याय गरेको टिप्पणी गरे । त्यस्तै,मधेश प्रदेशका अर्थमन्त्री साहले प्रदेश सरकारलाई सब भन्दा बढी राजश्व दिने कार्यालयनै यातायात व्यवस्था कार्यालय रहेको बताउँदै यसलाई व्यवस्थित र यसको सेवा विस्तार गर्न प्रदेश सरकार लागिपरेको बताए । जनतालाई कसरी बढी भन्दा बढी र आफ्नै गामठाममा सहज, सरल र छिटो छरितो सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको उनको भनाइ थियो । मन्त्रालयका सचिव दीपककुमार दासको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समन्वय समितिका उपप्रमुख शम्भुप्रसाद यादव, राजविराज नगरपालिकाका निलम्बित प्रमुख भिमराज यादव , उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवाल, आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण प्रधान, माउन्ट सगरमाथा यातायात संघका संचालक सदस्य दिनेश गुप्ता, सगरमाथा ट्रक एशोसिएशनका अध्यक्ष जगदीश अर्याल लगायतले पनि धारणा व्यक्त गरेका थिए ।

