रौतहटको चन्द्रनिगाहपुरमा बाल संरक्षण र कल्याण सुनिश्चितता परियोजना अन्तर्गत महिला तथा बाल सेवा केन्द्र, स्थानीय प्रहरी र जिल्ला अधिकारीहरूका लागि घटना व्यवस्थापनमा क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।
इस्लामिक रिलिफ युएसएको आर्थिक सहयोग र आरडीसी नेपालको आयोजनामा महिला तथा बालबालिकामाथि हुने विभिन्न किसिमका हिंसा, शोषण, दुव्र्यवहार र उपेक्षालाई कसरी न्यूनीकरण गर्ने भन्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको थियो । तालिमका प्रशिक्षक रामाधार प्रसाद यादवले बालबालिकाको हक अधिकार र संरक्षणका लागि जिल्लाामा विभिन्न संघ, संस्था, क्लव, सञ्जाल लगाएतका अन्य निकायहरु काम गरिरहेको भएपनि बालबालिकामाथि हुने हिंसामा कमी आउन नसक्नु दुखद भएको बताए । प्रशिक्षक यादवले भने हिंसा, शोषण, दुव्र्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो, तथापि, नेपालसहित विश्वभरका सबै प्रकारका आर्थिक–सामाजिक पृष्ठभूमि, उमेर समूह, धर्म तथा संस्कृतिका लाखौं बालबालिका हिंसा, शोषण र दुव्र्यवहारबाट पीडित छन् । हिंसात्मक अनुशासन, बालबिवाह, बाल श्रम, बेचबिखन, महिला र बालिका विरुद्धको हिंसा, बालबालिकालाई अनावश्यक रुपमा अनाथालय वा सुधार गृहमा राखिनु, र बाल–मैत्री तथा लैंगिक संवेदनशील न्याय सेवामा अपुरो पहुंचका कारण बालबालिकामाथि दिनप्रतिदिन हिंसा, शोषण र दुव्र्यवहार बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । पढ्ने उमेर समूहका लाखौं लाख बालबालिका गरिबीका कारण होटल, विभिन्न पसल, इट्टा भट्टा, सवारी साधन लगाएत ठाउँमा जोखिमपुर्ण अवस्थामा बालश्रम गर्न बाध्य रहेको बताउँदै प्रशिक्षक यादवले जोखिममा रहेका बालबालिकाको उद्धार गरी उनीहरुको रक्षा सुरक्षाका लागि बालबालिकाको क्षेत्रमा काम गर्ने सबै निकायलाई गम्भीर हुनुपर्ने धारण राखे । कार्यक्रममा महिला तथा बालबालिका सेवा केन्द्र गरुडाका प्रमुख एवं प्रहरी सहायक निरीक्षक फुलमाया देवीले महिला तथा बालबालिकामाथि हुने सबैखाले हिंसा, शोषण र दुव्र्यवहार नियन्त्रण गर्न आफूहरु कुनै कसर बाँकी नराखेको जानकारी दिए ।
हरेक पाँच बालिकाहरूमध्ये दुई जनाको १८ वर्ष पुग्नुभन्दा अगावै विवाह हुनु, समुदायले स्विकार नगर्नु, बालिकाहरूलाई उचित स्थान नदिने खालका सामाजिक रितिरिवाजहरू, र बलियो पितृसत्तात्मक समाजका कारण बालबिवाह नियन्त्रण ठूलो चुनौती रहेको उनले बताए । बालिका बधुहरुले विद्यालय छोड्नुपर्ने, समय अगावै गर्भवती हुनुपर्ने, दाईजोजस्ता समस्याहरूका कारण घरेलु हिंसा र दुव्र्यवहारको शिकार हुँदै आएको उनले प्रसंग उल्लेख गरे । बालबालिकाको संरक्षणका लागि प्रहरी मात्र नभएर सबै आमा बुबालाई समेत आ– आफनो ठाउँबाट लाग्न अग्रसर हुनुपर्ने धारणा उनले राखे । कुनै पनि महिला तथा बालबालिका कुनै प्रकारको शोषण, दुव्र्यवहार वा हिंसामा परे सिधै आफूलाई खबर गर्न उनले आग्रह गरे । तलिममा सहभागी पत्रकार ओम प्रकाश यादवले समाजमा जरा गाडेका कुप्रथाहरुको सम्बोधन नभएसम्म हिंसा, दुव्र्यवहार र शोषणबाट बालबालिका मुक्त हुन नसक्ने धारणा राखे । यसको अन्त्य गर्न, धार्मिक र सामुदायिक नेतृत्वका उदाहरणीय व्यक्तित्वहरूको पहिचान गरी, पुरुष र बालकहरूलाई पनि सम्मिलित गरी, स्वास्थ्य र शिक्षा क्षेत्रसंगको साझेदारीमा विकासका लागि केन्द्रित संचारका रणनीति र कार्यक्रमहरूको प्रयोग गर्दै विद्यमान सामाजिक मान्यताहरुमा परिवर्तन ल्याउन बालबालिकाको क्षेत्रमा काम गर्ने सबै निकायले आफना ध्यान केन्द्रित गर्नुपर्ने उनले सुझाए ।
तालिममा विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारी, प्रहरी, संघ संस्थाका पदाधिकारी, पत्रकार गरी २५ जनाको सहभागिता रहेको थियो ।

