हल्का वर्षा भएपछि सप्तरीमा गर्मीबाट पीडितहरुले राहत पाएका छन् ।
श्रीकृष्ण जनमाष्टमीका दिन वर्षा हुने जनविश्वासलाई साकार गर्दै शुक्रवार विहान केही बेर हल्का वर्षा भएका कारण तातो घाम र प्रचण्ड गर्मीबाट पीडितहरुलाई राहत मिलेको छ । करिब २ साता देखि वर्षा न भएको र प्रचण्ड गर्मीका कारण मानिस घरबाट कमै निस्किने गरेका थिए । शुक्रवार केही बेर भएको वर्षा पछि बजारमा चहलपहल बढ्नुका साथै कृष्णाअष्टमी पर्व मनाउन कृष्ण मन्दिरहरुमा समेत श्रद्धालु भक्तजनहरु उल्लेख्य संख्यामा पुगि पूजाआजा गरेका छन् । ग्रामीण तथा शहरी क्षेत्रमा भगवान कृष्णका कलात्मक मुर्ति निर्माण गरी पूजापाठ गर्न भक्तजन लागेका छन् । पोहोर साल कृष्णाअष्टमी कोरोना महामारीको उच्च जोखिममा रहेका वेला परेकाले खल्लो भएको थियो । तर यस पालि जोखिम केही कम भएकाले गाउँका बालबालिका देखि युवा र वृद्धवृद्धाहरुमा पनि कृष्णाअष्टमीको उत्साह देखिएको छ । ग्रामीण क्षेत्रमा अवस्थित विभिन्न कृष्ण मन्दिर तथा टोल टोलमा युवाहरु द्वारा गठित कृष्ण पूजा समिति द्वारा कलात्मक मुर्ति निर्माण गरी बनाइएको पूजास्थलमा विहानै देखि दर्शनार्थीको भीड लागेको थियो । कतिपय ठाउँमा मेलाको आयोजना समेत गरिएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका युवाहरुले यस अवसरमा मटकाफोड कार्यक्रमको आयोजना गरेको छ भने सदरमुकाम राजविराज ७ स्थित प्रसिद्ध राधा कृष्ण मन्दिर परिसरमा दर्शनार्थीको विहानै देखि घुँइचो लागेको मन्दिर समितिका उपाध्यक्ष विन्देश्वर प्रसाद साह (विन्दी) ले बताए । विगतमा कृष्णाअष्टमी पर्वका दिन यस मन्दिरमा आउने दर्शनार्थीका लागि मनोरञ्जन दिन स्थानीय राजकला कुञ्ज, शारदा कला भवन र विजय नाट्य कला भवन द्वारा नाटक समेत मञ्चन हुने गरेकोमा केही वर्ष यता कोरोना लगायत विभिन्न कारणले त्यस्तो कार्यक्रम रोकिए पनि धार्मिक प्रवचन र भजन सन्ध्या लगायतका धार्मिक कार्यक्रम २ दिन सम्म आयोजना गरिने उपाध्यक्ष साहले बताए । कृष्णाअष्टमी पर्व मनाउन सरकारले सार्वजनिक विदा नै दिने गरेकाले सरकारी जागीरे र निजी संघ संस्थामा काम गर्नेहरु पनि सपरिवार कृष्ण मन्दिरमा पूजापाठ गर्ने र त्यसपछि मेलामा सहभागी भएर एक अर्कासंग भेटेर खुशी साटासाट गर्ने अवसरका रुपमा प्रयोग गर्ने गरेका छन् ।

