२०७९ भाद्र ४, शनिबार १०:०९

निर्वाचन आयोगले निर्वाचनको निष्पक्षतालाई असर पर्ने कुनै पनि गतिविधि नगर्न ३ वटै तहका सरकारलाई निर्देशन दिएको छ।

४ मङ्सिरमा निर्वाचन घोषणा भइसकेको स्मरण गराउँदै आयोगले विपत् व्यवस्थापन र स्वास्थ्य महामारीको सामनाबाहेक मतदातालाई प्रभावमा पार्ने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको हो ।

गण्डकी प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत बजेट बाँड्ने तयारी थालेको भन्दै आयोगले यस्ता गतिविधिले मतदातालाई प्रभाव पार्ने जनाएको छ।

प्रदेश सरकारले सांसदहरूमार्फत योजना छनोट थालेपछि आयोग रुष्ट बन्दै सङ्घ, प्रदेश र स्थानीय सरकार, सांसद र जनप्रतिनिधिलाई मतदाता प्रभावित पार्ने कुनै पनि गतिविधि नगर्न भनेको हो ।

आयोगले प्रदेश सरकारलाई ४ बुँदे स्पष्टीकरण सोधेर तत्काल काम रोक्न भनेको छ। उसले निर्वाचन आचारसंहिता जारी गर्ने तयारी भइरहेको स्मरण गराउँदै अन्य कुनै पनि प्रदेश सरकारलाई सांसद कोषको बजेट वितरणलगायत कुनै पनि आयोजना अघि नबढाउन भनेको हो।

आयोगले निर्वाचन सम्पन्न नभएसम्म पूर्वाधार विकास कार्यक्रम नामको कार्यक्रम स्थगन गर्न निर्देशन दिएको हो। आयोगले निर्देशनसँगै ‘के कति कारणले बजेट वितरण गर्न लागेको हो, हालसम्म यो शीर्षकको बजेट किन खर्च गरिएन ?’लगायत गम्भीर प्रश्न उठाउँदै स्पष्टीकरण दिन भनेको छ।

Comment

Related News

Latest News

Trending News