प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोरोना सङ्क्रमणको जोखिम नहटेकाले राधाकृष्ण रथयात्रामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सांस्कृतिक परम्परालाई अविच्छिन्न तुल्याउन सबै श्रद्धालु भक्तजनमा विशेष अपिल गर्नुभएको छ ।
रथयात्राको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले प्रदेशको राजधानी विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भगवान् राधाकृष्णको रथयात्रा निकाल्ने धार्मिक तथा सांस्कृति ऐतिहासिक परम्परा रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा उहाँले नेपालमा मात्र नभई दक्षिण एसियामै ठूलो मानिने रथयात्रामा लाखौँ भक्तजन सहभागी हुने स्वाथ्य मापदण्डलाई विशेष ख्याल गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभएको छ, प्रदेशकै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा हो र यस दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिने प्रचलन केही वर्षदेखि सुरु गरेको छ । मुख्यमन्त्री राईले सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको नेपाललाई संविधानले स्वीकारसमेत गरेको उल्लेख गर्नुभएको छ ।रासस

