मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले आउँदो मंसिर ४ गते हुने संघीय संसद र प्रदेशसभा सदस्य निर्वाचनमा पाँच दलीय गठबन्धनबाट जसपा जितेको ठाउँमा जसपाले नै टिकट पाउने बताएका छन् ।
आगामी चुनावको लागि गठबन्धनमा सिट बाँडफाँट गर्दा पहिला जुन दल जुन क्षेत्रमा जितेको छ त्यो क्षेत्रको सिट त्यही दललाई दिने शीर्षनेताहरु बीच सहमति भएको हुँदा जसपाले सांसद वा प्रदेश सांसद जितेको क्षेत्र पुःन जसपाको भागमा नै पर्ने राज्य मन्त्री यादवले बताएका छन् । जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजनामा भएको कार्यक्रममा स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी चुनावको रणनीति तथा विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले जसपा निर्वाचित भएको क्षेत्रमा गठबन्धनबाट पुःन जसपाका उम्मेदवारले नै टिकट पाउने भएको हुँदा कसैलाई कुनै भ्रममा नपर्न आग्रह गरे । उनले चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए । बैठकमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य चुल्हाइ राय यादवले गत स्थानीय तहको चुनावमा पार्टीकै केही नेताले गरेको गद्दारी र अन्तर्घातका कारण रौतहटमा पार्टी लज्जास्पद हार व्यहोरेको बताए । २०७४ सालको चुनावमा जसपाबाट पाँच जना मेयरमा निर्वाचित भएका थिए तर यस वर्ष भएको स्थानीय तहको चुनावमा पार्टीकै केही नेता कार्यकर्ता असहयोग गरेका कारण पार्टीले सोचे जस्तो परिणाम ल्याउन नसक्नु दुखद भएको नेता यादवले बताए । चुनावमा अन्तर्घात गर्दै आफनै पार्टीका नेतालाई पराजित गरी पार्टीलाई कमजोर बनाउने भूमिका खेलेका अन्तर्घातीलाई पार्टीले अनुशासनको कारवाही गर्नुपर्ने उनले बताए । आउँदो संघ र प्रदेशको निर्वाचनमा पहिला भएको कमीकमजोरीलाई सच्याउँदै सबैले इमान्दारिपूर्वक लागे रौतहटमा जसपा पहिला भन्दा पनि अझै मजबुत हुँदै राम्रो परिणाम ल्याउने उनले दाबी गरे ।
जनता समाजवादी पार्टीका मधेश प्रदेश सदस्य राजकुमार दास तत्माले स्थानीय तहको चुनावमा पार्टीमै रहेर अन्तर्घात गर्नेहरुलाई कारवाहीको माग गर्दै आउँदो मंसिर ४ गने हुने निर्वाचनमा पार्टीमा सक्रिय भइ निरन्तर लागेको र पार्टीका लागि पुर्याएको योगदानलाई उच्च मूल्यांकन गरी पुरानो नभइ नयाँ व्यक्तिलाई टिकट दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा जसपाका केन्द्रीय सदस्य रेवन्त झा, राघो राय, विनोद यादव, संघीय परिषद् सदस्य रामनिवास यादव, जयनाथ यादव, पूर्व मेयर वीरेन्द्र यादव, जिल्ला अध्यक्ष धर्मेन्द्र यादव, पूर्व वडा अध्यक्ष राजीव यादव लगाएत पार्टीका अन्य नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।

