अपडेट 
२०७९ भाद्र ७, मंगलवार ०६:५८

नेपालको पुरानो हाट बजार मध्ये एक मटिहानी बजार पनि हो । भारतीय सीमासंग जोडिएको यो बजार हाल तिव्र गतिमा विकासको प्रक्रियामा छ । पञ्चायत कालमा देशलाई ७५ वटा जिल्लामा विभाजित गरिनु भन्दा पहिले धनुषा जिल्ला पनि महोत्तरी अन्तर्गत नै पथ्र्यो । त्यस्को सदरमुकाम जलेश्वर थियो । तर जलेश्वरले राजनीतिक महत्व प्राप्त गर्नु भन्दा पहिले महोत्तरीमा मटिहानीको महत्व बढी थियो । विशेष गरेर राणा कालमा । यस्को कारण देश भरीका मन्दिरहरुको ‘महन्थहरुको महन्थ’ मटिहानीको लक्ष्मी नारायण मन्दिरका महन्थ हुने गथ्र्ये । उनलाई ‘मानमहन्थ’भनिन्थ्यो । राणाकालमा र पञ्चायतकाल सम्म पनि, महन्थहरु धार्मिक अधिकारी मात्र हुँदैनथ्ये । उनिहरु राज्य सत्ताको तर्फबाट जोताहा र भोग चलन गर्नेहरु संग जग्गा कर (पोत) असुल्ने राज्य प्रतिनिधि पनि हुने गथ्र्ये । राजा–महाराजाहरुले मन्दिर र महन्थहरुलाई जग्गा दानमा दिने गथ्र्ये । त्यसैले महन्थहरु जमिन्दार बराबर कै हैसियत राख्ने गथ्र्ये । मटिहानी स्थान त झन् मानमहन्थको पद ओगटेको मन्दिर । त्यतिबेला त यस्को रुतबा नै ठूलो थियो । राणाकालमा जनकपुर, जलेश्वर र महोत्तरी (धनुषा समेत)का साधु समाजमा आएको समस्या हल गर्न जनकपुरको जानकी मन्दिर र रत्नसागर कुटी तथा मटिहानी महन्थ सर्वसम्मत निर्णायकहरु थिए । यसमध्ये मटिहानीको स्थान सबैभन्दा उच्च थियो । तात्पर्य के थियो भने विगतमा मटिहानी यस भेगमा राजनैतिक र धार्मिक प्रशासनको दृष्टिले प्रायः सबै भन्दा महत्वको ठाउँ थियो ।

जसरी धनुषा जिल्लाको गठन तथा धार्मिक र राजनैतिक प्रशासन दुबै दृष्टिले जनकपुरको महत्व बढदै गएपछि जलेश्वर ओझेलमा पर्दै गयो, त्यसरी नै जलेश्वरको उदय भएपछि मटिहानीको महत्व घट्दै गएको हो । यद्यपि सीमा क्षेत्रको बजार भएकोले यसको सामान्य आर्थिक महत्वभने सँधै रह्यो । मटिहानीले राणाकालमा यो सम्मान पाउनुको पछाडी यहाँको शैक्षिक महत्व हुनु हो । नेपालमा सबैभन्दा पुरानो विद्यालयवि.स. १९१०मा स्थापित काठमाँडौको दरबार हाईस्कूल र यसपछि वि.स. १९३२ मा बालगुरु षडानन्दले भोजपुरको दिङ्गलामा स्थापना गरेको संस्कृत पाठशाला हो भन्ने सामान्यबुझाई छ । तर मटिहानीको लक्ष्मीनारायण मन्दिर र यहाँ सञ्चालित संस्कृत विद्यालय सहितका स्रोतहरुले देशको सबैभन्दा पुरानो विद्यालय मटिहानीको संस्कृत माध्यमिक विद्यालय रहेको देखिन्छ । मटिहानीमा संस्कृत विद्यालयको बोर्डमा यस विद्यालयको स्थापना काल १७७५ लेखिएको छ । यस्को स्थापना काल १७७५ बारे अझै प्रमाण जुटाउन बाँकी नै छ । त्यस विद्यालयका प्रधानाध्यापक लगायतका मानिसहरुले तथ्य परक तर्क राखेपनि प्रमाण प्रस्तुतगर्न सकेका छैनन् । तर नेपाल संस्कृत विश्वविद्यालयको आधिकारिक वेभसाइटले मटिहानीको संस्कृत विद्यालयबारे विश्वसनीय ढङ्गबाट जानकारी राखेको छ ः ‘वि.स १८०१ मा मकवानपुरका राजा हेमकर्ण सेनले लक्ष्मी नारायण मठको स्थापना गरेपछि शिक्षा प्रेमी साधु तस्मैया बाबाले पिपलको रुखमुनीबाट संस्कृत पठनपाठन थालेको ठाउँमा वि.स. १९५० देखी व्याकरण, वेदान्त, रामायणको पठन पाठन हुन थाल्यो । त्यसपछि १९६८ सालदेखी नै लक्ष्मी नारायण मठका महन्त बनारसी दास र छात्रनाथको सक्रियतामा वेद, व्याकरण, न्याय र ज्योतिष विषयको पठनपाठन हुनथाल्यो ।’हाल मटिहानीमा सञ्चालित लक्ष्मीनारायण विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठ हो । राजधानीबाट प्रकाशित नागरिक दैनिक पत्रिकाको २०७८ श्रावणको अंकमा डा. गणेशराज रेग्मीको लेखमा तस्मैया बाबा (रामलाल दास)ले वि.स. १७५१ मा आफ्नै पहलमा सानो पाठशाला शुरु गरेको र वि.स. १८०१ मा लक्ष्मी नारायण महाविद्यालयको स्थापना भएको भनिएको छ । मटिहानीको संस्कृत विद्यालय बारे यी कथनहरु तथ्य परक र विश्वसनीय लागे पनि यस सम्बन्धी कुनै भौतिक प्रमाण अहिले सम्म उपलब्ध छैन ।

एक जना विदेशी अनुसन्धाता रिचर्ड बर्घार्टले ‘ हिस्ट्र अफ जनकपुरमा मटिहानी मठ (स्थान) को महन्थहरुको वंशावली प्रस्तुत गरेका छन् । तस्मैया बाबालाई उनले राम तस्मैया भनेर सम्बोधन गरेका छन् । उनका अनुसार तस्मैया बाबाका चारवटा शिष्यहरुले तत्कालीन समयमाचार वटा मठको महन्थ पद सम्हालेका थिए — राम दास– बराही, ध्रुव दास– बिररख, गोसाँईँ दास–सिमरदही र जयकृष्ण दास– मटिहानी । ऐतिहासिक स्रोतहरुको रुपमा जयकृष्ण दासलाई मटिहानी मठ तथा जनकपुरको लक्ष्मण मन्दिरको महन्थको पद दिइएको अभिलेख उपलब्ध छ । मटिहानी स्थानबाट उपलब्ध सबैभन्दा पुरानो अभिलेखको रुपमा मकवानपुरका सेनवंशी राजाहरुले दानमा दिएको कुशे विर्ताको अधिकारवि.सं १८६३ मागिर्वाण युद्ध विक्रम शाहले थामी दिएको तत्कालीन महन्थ बनवाली दासको नाममा लेखी दिएको शाही आदेश पत्र हो । बनवाली दास मटिहानी स्थानका तेस्रा महन्थ हुन् । गिर्वाण युद्धको शाही आदेश पत्रमा उल्लेख गरिए अनुसार वि.स. १८१०मा मकवानी राजा हेमकर्ण सेनले जयकृष्ण दासको नाममा कुशेविर्ता गरि दिएका थिए । त्यसै वर्ष अर्थात् वि.स. १८१० मा नै राजा हेमकर्णले जयकृष्ण दासलाई कुशे विर्ताको रुपमा रजौर मौजा –हालको जनकपुरधाम उपमहानगरपालिका भित्रको रजौल)को अधिकार सुम्पेको पनि देखिन्छ । अभिलेखहरुले त्यति बेला मटिहानी मठको प्रसिद्धि र प्रभाव नेपाल र भारत दुबैतिर रहेको देखिन्छ । उदाहरणको रुपमा वि.स. १८४८ (सन् १७९१)मा दरभङ्गा राजका राजाले मुजफ्फरपुर जिल्लाको चरौत स्थानको तत्कालीन महन्थ नारायण दासलाई चारवटा मौजादा नदिएको पत्रमा मटिहानी स्थानका महन्थ जयकृष्ण दासको नाम उल्लेख गरिएको छ । यस पत्रबाट चरौत स्थान पनि पहिले मटिहानी स्थानकै संरक्षणमा रहने गरेको तथा मटिहानी महन्थ त्यताको पनिकुतअसूल गर्ने अधिकारी रहेको बुझिन्छ ।

यस सम्बन्धमा बर्घार्टको पुस्तकको अध्ययन उपयोगी हुन सक्छ । मकवानपुरका राजा हेमकर्ण सेनले वि.स. १८१० मा यस भेगका कयौँ महन्थहरुलाई कुशे विर्ता दान दिएका अभिलेखहरु पाइन्छन् ।यस्मा बसहिया कुटी, कुआ कुटी समेत छन् । यसबाट के देखिन्छ भने नेपाल संस्कृत विश्वविद्यालय संग कुनै प्रमाण छ भने बेग्लै कुरा भयो, होइन भने उसको वक्तव्यमा भनिएझै लक्ष्मीनारायण मठलाई हेमकर्ण सेनले दान दिएको समय वि.स. १८०१को साटो वि.स. १८१० बढी विश्वनीय देखिन्छ । मटिहानी क्षेत्रमा तस्मैयाबाबा एउटा सिद्ध पुरुषको रुपमा लोकप्रिय र प्रसिद्ध मिथ पात्र छन् । तर उनको ठ् याक्कै समय बारे कुनै विश्वनीय अभिलेख हालसम्म उपलब्ध छैन । जयकृष्ण दास तस्मैया बाबाका शिष्य थिए, त्यसैले उनि अठारौँ शताब्दीको उत्तराद्र्धमा थिए भन्नेमा कुनै शंका छैन । यसै गरि मटिहानी स्थानमा संस्कृतको पाठशाला कहिले शुरु भयो ठ्याक्कै (पिनप्वाइन्ट) भन्न सकिने स्थिति छैन । अघि चर्चा गरिए झै यो जयकृष्ण दासको समयमा भएको हो भने अठारौँ शताब्दीको उत्तराद्र्ध वाउन्नाइसौँ शताब्दीको प्रारम्भ (वि.स. १८१०)तनिश्चय नै स्थापित हुन्छ । यस दृष्टिले ऐतिहासिक स्रोत तथा मटिहानी स्थान तथा संस्कृत पाठशाला बारे भनिँदै आएका भनाईहरुमा तालमेल बसाल्दा नेपालको सबैभन्दा पुरानो पाठशाला मटिहानी नै भन्ने तथ्य सत्यको नजिक देखिन्छ । यद्यपि यसबारे पुराना अभिलेखहरु खोतल्नु पर्ने आवश्यकता छँदैछ । शिक्षा विभागको अभिलेखमा भने मटिहानीमा संस्कृत पाठशालाको शुरुआत वि.स. १८६८ भनिएको छ । यस हिसाबले पनि मटिहानीको संस्कृत पाठशाला देशको सबैभन्दा पुरानो पाठशाला रहेको सिद्ध हुन्छ र दरबार हाईस्कूल र दिङ्गलाको संस्कृत विद्यालय यस भन्दा पछि पर्छ । यहाँ एउटा उल्लेखनिय विषयभनेको त्यहाँको राजकीय संस्कृत विश्व विद्यालयको बोर्डमा स्थापना काल लेखिएको वि.स. १७७५हो । यो तथ्य प्रमाणित भयो भने नेपाली ईतिहासमा कयौँ तथ्यहरुलाई सुधार्नु पर्ने हुन्छ । वि.स. १७७४मा मानिक सेन आफ्नी भाउजू राजेश्वरीको नायबीबाट मुक्त भएर स्वतन्त्र रुपमा मकवानपुरका राजा भएका थिए ।

१७९० मा राजामानिस सेनको मृत्यु भयो र उनका छोरा हेम कर्ण सेन राजाको पदमा आसी नभए । आफ्नो मृत्युको ६ वर्ष पहिले वि.सं १७८४मा मानिक सेनले नै जानकी मन्दिरका संस्थापक सुरकिशोर दासका प्रशिष्य रामदासलाई पहिलो महन्थ घोषित गरेकाथिए । मटिहानी स्थानको शैक्षिक प्रसिद्धि नेपाल र भारत दुबै तिर टाढा टाढा सम्म फैलिएको तथा यसबाट उत्पादित संस्कृत आचार्यहरु नेपाल र भारतका कयौँ विद्यालयमा विगतमा र हाल पनि अध्यापन गरि रहेको बाट बुझिन्छ । केही अपुष्ट मतका अनुसार त भोजपुर दिङ्गलामा संस्कृत पाठशालाका संस्थापक बाल गुरु षडा नन्दले पनि मठिहानी पाठशालामा केही समय अध्ययन गरेका थिए । विविध ऐतिहासिक स्रोत तथा शिक्षा विभागको आधिकारिक दस्तावेजहरुमा उल्लेख भएपनि मटिहानीको संस्कृत पाठशालाको प्राचीन ता बारे अहिले पनि अन्यौलता सृजना गर्ने प्रयास गरिन्छ । त्यसैले यस बारे ऐतिहासिक तथ्यहरुको खोजीको निम्ती सरोकारबाला क्षेत्रबाट विशिष्ट पहल आवश्यक देखिन्छ । यस बारे तत्कालीन समयका नेपाल र भारतका पुराना दस्तावेजको खोजी र अध्ययन आवश्यक छ ।

Comment


Related News

Latest News

Trending News