२०७९ भाद्र ८, बुधबार ०७:३९

स्थानीयलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा जेल जीवन विताइरहेका पूर्व मन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमका छोरा राजपुर नगरपालिकाका मेयर डा. मोहम्मद राजीक आलमले आफ्ना बुबा अफताव आलम आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जेलबाट नै संघीय सांसद पदमा चुनाव लड्ने बताएका छन् ।

कम्युनिष्ट सरकारले विभिन्न जालझेल र षडयन्त्र गरी बुबालाई फसाएको आरोप लगाउँदै मेयर आलमले बुबा अफतावलाई चुनाव अघि नै जेलमुक्त गराउने प्रयास भइरहेको बताए । रौतहटको राजपुर नगरपालिकाको बैरियामा मंगलवार अबेर साँझ आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा मेयर आलमले मंसिर ४ गते अघि बुबा अफताव आलम जेलमुक्त नभए जेलबाट नै भएपनि रौतहट क्षेत्र नं २ बाट सांसद पदमा चुनाव लड्ने जानकारी दिए । आफ्ना बुबा आलम अदालतबाट न्याय नपाए मंसिर ४ गते हुने निर्वाचनमा जनताको अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको उनले बताए । अदालत वा सरकारले न्याय नदिए आउँदो चुनावमा आलम सांसदमा लड्ने भएकोले सम्पूर्ण जनताले अत्याधिक जनादेश दिएर उनलाई सांसदमा जिताएर जेलबाट मुक्त गराउने उनले बताए । जनमतबाट कसैले पराजित गर्न नसक्ने भएको हुँदा केही विपक्षी नेताले सफाई पाइसकेको मुद्धामा षडयन्त्र गरी आलमलाई फसाएको उनले बताए । सोही कार्यक्रममा बोल्दै रौतहट क्षेत्र नं २ का समानुपातिक प्रदेश सांसद शेख लालबाबु रसिदले कम्युनिष्ट सरकारले आफ्ना पार्टीका नेता अफताव आलमलाई विना कारण झुटो मुद्धामा फसाएर जेल हाल्ने काम गरेको बताए । झुटो मुद्धामा फसाइएको आलम आउँदो निर्वाचनमा सांसदमा लड्ने र उनलाई न्यायप्रेमी जनताले भारी मतले जिताउनुपर्ने उनले धारणा राखे । जनताको जनादेशले आलम सांसदमा बहुमत सहित जित्ने र जनताले नै उनलाई जेलबाट मुक्त गराउनेमा आफू विश्वस्त रहेको समेत उनले बताए ।

नेपाली कांग्रेसका जिल्ला सचिव रामचन्द्र गिरीले कांग्रेसलाई सखाप पार्न खोज्ने राजावादी र राणाहरु आफै समाप्त भएको इतिहास रहेको बताउँदै अफताव आलमलाई सखाप गर्न खोज्ने राजा एवं राणा जस्तै आफै समाप्त भएर जाने बताए । आउँदो संघीय चुनावमा कांग्रेसका अफताव आलमले एमालेलाई नराम्ररी पराजित गर्दै सांसदमा बहुमत सहित विजयी प्राप्त गर्ने नेता गिरीले दाबी गरे । राजपुर नगरपालिका– ९ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले, जसपा, नेकपा एस, माओवादी केन्द्र सहित विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

Comment


Related News

Latest News

Trending News