बाराको सिमरामा सामाजिक सुरक्षा कोषको शाखा सञ्चालनमा आएको छ ।
शाखाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गरे । कार्यक्रममा नगर प्रमुख पौडेलले संविधानमै उल्लेखित श्रम सम्बन्धी हक अन्तर्गत लागु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आफ्नो संस्थामा लागु नगर्ने रोजगारदाताहरुलाई कार्बाही गर्नुपर्ने बताए । उनले औषधि उपचारमै कयौ व्यक्तिहरु कंगाल हुने गरेको बताउँदै रोजगारदाताहरुले आफनो संस्थामा कार्यरत श्रमिकहरुको सुरक्षा र आश्रित परिवारको भविष्य सुनिश्चितताकोलागि सामाजिक सुरक्षा योजनामा सहभागी हुन अनुरोध गरे । नगर प्रमुख पौडेलले सामाजिक सुरक्षा कोष सिमराको आफ्नै भवनमा कार्यालय स्थापनाको लागि जग्गाको जोहो गर्नमा सहकार्य गर्ने बताए । त्यस्तै सामाजिक सुरक्षा कोषको निर्देशक उत्तमराज नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको विषयमा जानकारी दिँदै श्रमिक र रोजगारदाता संस्थालाई सामाजिक सुरक्षा योजनामा सहभागी हुन अनुरोध गरे । सामाजिक सुरक्षा योजनामा मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कट्टा गरी रोजगारदाताले तोकिएको प्रणाली मार्फत जम्मा गर्नुपर्दछ ।
जसमा रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत जम्मा गर्नुपर्ने निर्देशक नेपालले बताए ।

