२०७९ भाद्र १०, शुक्रबार ०७:२०

जनता समाजवादी पार्टी नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि धनुषा जिल्लामा चुनावी अभियान तीब्र पारेका छन ।

आसन्न निर्वाचनको लागि गतिविधि तिब्र पारेका जसपा धनुषाले विहीवार एकै दिन धनुषा निर्वाचन क्षेत्र नं. ३ र ४मा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । स्थानीय तहको निर्वाचन पछि सुस्त बनेको पार्टी कमिटीहरुलाई पुनर्ताजगी दिने उद्देश्यका साथ अगुवा कार्यकर्ता भेलाहरुको आयोजना गरिएको जनाइएको छ । आसन्न निर्वाचनको लागि सत्ता गठबन्धनबिच सिटबाँडफाँडको कुरा चलिरहेकै बेला जनता समाजवादी पार्टी नेपालले चुनावी गतिविधि बढाएका छन । क्षेत्र नं. ४को अगुवा भेला विहीबार सम्पन्न भएको छ । उक्त भेलाले क्षेत्रीय अध्यक्षमा राजेश्वर यादव, प्रदेशसभा (क)मा प्रबोध यादव र (ख)मा राजेश्वर महतोलाई प्रदेशको अध्यक्षको जिम्मेवारी दिइएको छ । जसपाका क्षिरेश्वरनाथ नगरपालिकाका अध्यक्ष दिनेश यादवको अध्यक्षतामा सम्पन्न सो भेलामा राजनीतिक समिति तथा केन्द्रीय सदस्य बालकिशोर यादव, केन्द्रीय प्रतिनिधि उर्मिला साह, राजनीतिक समिति र केन्द्रीय सदस्य राम गोविन्द यादव, केन्द्रीय सदस्य नानुमाया मोक्तान, प्रदेश उपाध्यक्ष शेषनारायण यादव, धनुषा जिल्ला इन्चार्ज चन्देश्वर महतो, जिल्ला सदस्य डा. शत्रोहन यादव र जिल्ला सदस्य सीताराम यादव (हनुमान) लगायतको उपस्थिति रहेको थियो । भेलालाई सम्वोधन गर्दै उनीहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन रणनीति बनाउने र गठबन्धनका साथ जाने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले सिटको बाँडफाँट नभएको अवस्थामा कुन क्षेत्रमा को उम्मेदवार बन्ने त्यसको कुनै सुनिश्चितता नरहेपनि तयारी अवस्थामा बस्न उनीहरुले नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।

मधेशमा सवै भन्दा बढी सिटमा जित्ने दावी गर्दै उनीहरुले मधेशमा पुनः मधेश सरकार गठन हुने दावी समेत गरेका थिए । मधेश आन्दोलनको जगमा स्थापना भएको संघीयताको जननी मधेश प्रदेशनै रहेको भन्दै उनीहरुले मधेश प्रदेशमा सवै भन्दा बढी सिट जसपालेनै पाउने दावी गरेका थिए । त्यस्तै विहीबारनै धनुषा निर्वाचन क्षेत्र नं. ३का क्षेत्रीय अध्यक्ष युगलकिशोर यादवको अध्यक्षता एवं जसपा संसदीय समिति सदस्य वालकिशोर यादवको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले चुनावी अभियानलाई तीब्र बनाउन क्षेत्रीय कमिटीहरुलाई पुनर्गठन गरेको छ । क्षेत्र नं. ३ स्तरीय क्षेत्रीय कमिटीको अध्यक्षमा युगल किशोर यादव पुनः चयन भएका छन भने प्रदेश सभा स्तरीय क्षेत्र नं. ३को (क)मा जयकुमार यादव र (ख)मा सुमित शेखर साह संयोजकको जिम्मेवारी पाएका छन । समितिको अन्य पदाधिकारी एवं सदस्य चयनको जिम्मा संयोजकहरुलाई नै दिइएको जसपा प्रदेश समितिका सचिव जितेन्द्र कुमार यादवले जनाएका छन । भेलामा नगर तथा गापा अध्यक्षहरुले आ– आफनो स्थानीय तहमा पार्टीको अवस्थाबारे ब्रिफिङ्ग गर्दै अगामी रणनितीबारे आ–आफनो धारणा राखेका थिए । चुनावी अवस्थाबारे गहन छलफल गरेको भेलाले भदौ मसान्त भित्र सबै कमिटीहरुको गठन पुनरगठन गर्ने निर्णय गरेको छ ।

भेलामा राजनीतिक समिति सदस्य लालकिशोर साह, उर्मिला महतो, केन्द्रिय सदस्य बेचन मुखिया, प्रदेश सचिव जितेन्द्र यादव सहित प्रदेश समितिका सदस्यहरु, जिल्ला अध्यक्ष पशुपति यादव सहित जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरु , जनकपुरधाम उपमहानगर समितिका अध्यक्ष विष्णुदेव साह लगायत क्षेत्र नं. ३का चारवटै पालिकाका अध्यक्ष एवं सबै वडाका वडा अध्यक्षहरु सहित क्षेत्रका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News