अपडेट 
२०७९ भाद्र १९, आईतवार ०७:३४

‘बालेन ! बालेन !! बालेन !!!’ यत्र तत्र सर्वत्र यो नाम चर्चामा छन् । अहिले यो नाम अधिकांस नेपालीका लागि कर्णप्रिय बनेको छ । नाममा के छ र ! उत्कृष्ट काम गर्दा व्यक्ति लोकप्रिय हुने र उसको ‘नाम’ कर्णप्रिय हुने हो । काठमाडौंका मेयर बालेन्द्र शाह(बालेन)ले छोटो समयमैं महानगरपालिकालाई व्यवस्थित बनाउनका लागि थालेका कार्य सर्वसाधारण जनतालाई मन पराएपछि उहाँको नाम कर्णप्रिय भएको हो । सामाजिक सञ्जालका साथै विभिन्न सञ्चारमाध्यममा वालेनको चर्चाले भरिभराउ छ । कतिपयले हिन्दी चलचित्र‘नायक’मा एकदिने मुख्यमन्त्री बनेका अनील कपुरको ‘ठाउँको ठाउँ’ कारवाहीको दृश्यका तस्विरका साथ काठमाडौं अतिक्रमण हटाउनका लागि प्रयोगमा ल्याइएका डोजरसहित बालेनको तस्विर राखेका छन् । जो कोहीले मुलुकको हरेक कुना कुनामा बालेनजस्तै मेयर हुनुपर्ने भनेर सामाजिक सञ्जालमार्फत माग गर्न थालेका छन् । हिन्दी चलचित्र ‘नायक’को कथा काल्पनिक हो । तुलनानै गर्नुपर्ने हो भने कडाईका साथ कानुन पालना गराउने पदाधिकारीसँग गर्दा सुहाउँछ । भारतमा सन् १९९० डिसेम्बर महिनामा निर्वाचन आयोगको प्रमुख आयुक्त बनेका तिरुनेलै नारायण अइर शेषण (टीएन शेषण)सँग तुलना गर्दा उचित हुन्छ । हुन त दुवै पदमा धेरै भिन्नता छन् । अर्को, पदीय जिम्मेवारी र अधिकार क्षेत्रपनि फरक छन् । मेयर निर्वाचित व्यक्ति हुन्छ भने प्रमुख आयुक्तको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुन्छ । संविधानले दिएका अधिकारलाई कडाइका साथ पालना गराउने विषयमा दुवैबीच समानता देखिएकाले तुलना गर्न खोजिएको हो । टी एन शेषणले भारतमा निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि संविधानले दिएका अधिकारलाई कडाइका साथ पालना गर्न लगाए । आयोगको शक्तिको पहिचान गराए । अटेर गर्नेमाथि उहाँले अविलम्ब कारवाही थालेको थियो । यस विषयमा कुनै दिन विस्तारमा लेखौंला । तर, टी एन शेषणको कडा कारवाही फलस्वरुप भारतमा निर्वाचन प्रणालीमा धेरै सुधार भयो । अहिले मेयर बालेन पनि स्थानीय ऐनलाई कडाइका साथ प्रयोगमा ल्याउन खोजेका हुन् । बालेन सफल भयो भने ऐन कानुनको परिधिभित्र बसेर संरचना निर्माणलगायत कार्य नगरे भविष्यमा क्षतिका साथै दण्डितपनि हुने सन्देश सर्वसाधारणमा पुग्नेछ । भरसक, गल्ति नगर्ने सोचको विकास हुनेछ ।

अर्कोतर्फ, यस कार्यमा बालेन असफल भयो भने ऐन कानुन मिच्ने प्रवृति मौंलाउने छन् । राजनीतिक रुपमा बालेनलाई असफल बनाउनका लागि मुख्य दलहरु भित्रभित्रै षडयन्त्र गरेको भनेर सन्देशपनि प्रवाह हुनेछ । जसकारण, आउँदो निर्वाचनमा मुख्य दलविरुद्ध जनमत तयार सम्भावित खतरापनि देखिन्छ । मेयर बालेनले आफ्नै मनले केही गरेको होईन् । कानुनको परिधिमा बसेर दृढ इच्छाका साथ स्थानीय ऐनलाई कार्यान्वयनका लागि अग्रसर भएका हुन् ।यस कार्यमा महानगरपालिकाका निर्वाचित प्रतिनिधिका साथै कर्मचारीहरुको पनि पूर्ण सहयोग देखिन्छ । केही गर्ने दृढ इच्छा हुनु प¥यो । न्यायिक भावना हुनु प¥यो । साना ठूलाको भेदभाव नगरी बेथितीको विरुद्ध कार्य ग¥यो भने सफलता प्राप्त हुन्छ भनेर बालेनले गरेर देखाइरहेका छन् । यसअघिका मेयरहरुले स्थानीय ऐनलाई व्यक्तिपिच्छे फरक फरक ढङ्गले आफ्ना अनुकुल प्रयोग गरेकाले नै काठमाडौं गञ्जागोलको अवस्थामा पुगेको हो । मेयर बालेनले पदीय कर्तव्य इमान्दारिता साथ निर्वाहगर्न जुटेको देखिन्छ । स्थानीय ऐन सवैका लागि एकसमान भएकाले नियमविपरीत निर्माण भएका संरचनामाथि डोजर चलाउने नीतिमा अडिग छन् । नेपालको राजधानीसमेत भएका काठमाडौं सफासुग्घर र व्यवस्थित नभएमा अन्तर्राष्ट्रिय जगत नकारात्मक सन्देश प्रवाह हुन्छ । विभिन्न मुलुकका राजदुतावास छन् । विदेशी पाहुनाहरुको आवतजावत भइरहन्छन् । राष्ट्रको पहिचान विश्वसामु एक स्वच्छ एवम् सुन्दर र अनुशासित देश देखाउनु छ भने सर्वप्रथम, काठमाडौंलाई कुरुप शहरको कथित संज्ञाबाट हराभरा, स्वच्छ र व्यवस्थित शहर बनाउनुपर्छ । यस कार्यका लागि पहिलो चरणमा काठमाडौंमा फोहोरको व्यवस्थापन र ट्राफिक समस्यामा सुधारको आवश्यकता छ । सडक अतिक्रमण हटाउने र बेसमेन्ट पूर्णरुपले पार्किङको रुपमा सदुपयोग भएमा ट्राफिक समस्या पच्चीस प्रतिशतले घट्ने अनुमान गरिएको छ । अर्कोतर्फ, बेसमेन्टहरुबाट पसल हटेपछि सो क्षेत्रका सडकको चाप घट्नुका साथै ति पसलहरुबाट निस्कने फोहोरजन्य पदार्थ फाल्ने गतिविधि धेरै हदसम्म घटने छन् । दैनिकी मजदुरी गर्नेदेखि उद्योगपति, व्यापारी, विद्यार्थीलगायत देशभरका जनता मेयर बालेनको ‘बेसमेन्ट’ खाली गराउने र अवैध संरचना हटाउने अभियानलाई बडो चासोका साथ नियालिरहेका छन् । बालेन अतिक्रमण हटाउनुका साथै महानगरको बक्यौंता कर वसुलका लागि कडा कदमपनि उठाएकाले यतिखेर, चौंतर्फी स्वागत भइरहेको छ ।

यस प्रभाव अन्य स्थानीय निकायमा पनि परेको छ । पोखरा महानगरपालिका, मध्यपुर नगरपालिका कर्णाली प्रदेशको वीरेन्द्रनगरपालिकालगायतका कतिपय नगरपालिकाले ३५ दिने सूचना जारी गरी अतिक्रमण हटाउन निर्देश जारी गरेका छन् । अभियानको रुपमा अतिक्रमण हटाउने कार्य भएकाले अव, व्यापारिक प्रयोजनका साथै घर बनाउँदा स्थानीय निकायका शर्तलाई पालना गरेर मात्रै निर्माण गर्ने र नक्सा पास नभएसम्म निर्माण कार्य नथाल्ने भन्ने सन्देश राष्ट्रव्यापी रुपमा जनमानसमा प्रवाह भएको छ । अव, स्थानीय ऐनलाई पैसा र पावरको बलमा खल्तिको ऐन सम्झनेहरुले पटक पटक सोच्ने छन् । ट्राफिक समस्या केही हदसम्म घटेपनि अर्कोतर्फ कतिपयको व्यापारपनि चौंपट भएको हो । ति व्यापारीहरुलाई विजोग त पक्कै भएको छ । दसैंसम्म पसल थाप्न दिँदा हुन्थ्यो । तर, त्यति समय दिनासाथ बालेनले आर्थिक चलखेल ग¥यो भनेर आरोप लाग्ने डरपनि छ । त्यसकारणले पनि डोजर अभियानलाई बालेनले निरन्तरता दिएको हो जस्तो बुझिन्छ । मर्कामा परेका व्यापारीहरुलाई वैकल्पिक ठाउँ उपलब्ध गराउनेतर्फ महानगरका साथै सङ्घीय सरकारलाई ध्यान दिँदा उत्तम हुने थियो ।

राजनेताको टाउको दुखाइ

एमालेबाट निर्वाचित तत्कालीन मेयर विद्यासुन्दर शाक्य बडो आकर्षक व्यक्तित्वको स्वामी हुनुहुन्छ । आफ्नो चम्किलो अनुहारजस्तै महागरपालिकालाई किन चम्काउन असमर्थ हुनुभयो । उहाँले आफ्ना पदीय जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गरेको भए, आज यो परिस्थिति उत्पन्न हुने थिएन् । शाक्यको असफलताले गर्दानै बालेन शाहको उदय भएको अथ्र्याउन सकिन्छ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वारको रुपमा बालेनको जितको खवर काँग्रेस र एमालेमाथि बज्रपातसरह नै थियो । राजधानीको मेयर पद गुमाउने पीडा दुवै दलका लागि असहय थियो नै अहिले महानगरलाई सफासुग्घर गर्ने अभियानलाई बालेनको तीव्रताले कतिपय नेतालाई जनमत खुस्किने डरपनि सताउन लागेको देखिन्छ । ति दलका नेताहरुमा के भ्रम थियो भने एक्लै बालेनले के गर्न सक्छ र, ? यो चाँडै असफल हुन्छ । उनको जोशिलो भाषण सुनेर लहैलहैमा युवावर्गले साथ दिएको हो । काठमाडौंको फोहोर व्यवस्थापन भनेको फलामको चिउरा चपाउनेसरह हो । यस कार्यमा असफल हुनासाथ बालेनको लोकप्रियता स्वत खतम हुने सोचे थियो । तर, बालेनले बडो सुझबुझका तत्कालका लागि फोहोर व्यवस्थापना ग¥यो । अव, अतिक्रमण हटाउने र बेसमेन्ट खाली गराउने अभियानलाई निरन्तरता दिँदा मुख्य दलका नेताहरु झस्किएका छन् । भित्रभित्रै उहाँहरुलाई पश्चातापपनि हुँदै होला कि आपूmहरुले महानगरलाई व्यवस्थित पार्नका लागि किन केही गरेनौं । बालेनको अभियानप्रति खासगरी एमालेका नेता महेश बस्नेतले संयमता गुमाउँदै प्रतिक्रिया दिएका छन् । उक्त धम्किसहितको प्रतिक्रियाको नागरिक समाज, प्रबुद्धवर्ग, राजनीतिज्ञका साथै सामाजिक सञ्जालमा समेत बस्नेतको आलोचना भएको छ । तर, यस विषयमा स्थानीय निर्वाचनको समयदेखि अहिलेसम्म काँग्रेसका नेताहरु बढी संयमित भएर प्रतिक्रिया दिने गरेको पाइएको छ ।

युवा परिवर्तनका संवाहक

काठमाडौंका जनताले मेयरमा स्वतन्त्र उम्मेद् वारको रुपमा बालेनलाई जिताएर आपूmहरु कुनै दलको ‘दास’ होइनौं भन्ने सन्देशपनि दिएको छ । दलहरुलाई सुघ्रिनका लागि सचेत गराएको रुपमा पनि सम्झनुपर्छ । अव, दलहरुलाई सुघ्रिनु पर्छ । स्वच्छ छविका इमान्दार व्यक्तिलाई आउँदो निर्वाचनमा उम्मेद्वार बनाउनुपर्छ । यसो नगरे भने अव देशभरका युवाहरु दलहरुभित्रका फोहोरलाई व्यवस्थापनगर्न मतदानमार्फत अग्रसर हुने प्रवल सम्भावना छ । नेपालको राजनीतिले कोल्टो फेर्न खोजेको सङ्केतको रुपमा सम्झनुपर्छ । युवावर्ग परिवर्तनका संवाहक हुन् । युवाकै वलमा मुलुकमा प्रजातन्त्रको पुनःस्थापना र ०६२को जनआन्दोलन सफल भएको हो । काठमाडौंका जनता सडकमा उत्रिएपछि आन्दोलनले मूर्तरुप लिएको थियो । काठमाडौं तातिएपछि निश्चित रुपमा परिवर्तन हुने गरेको इतिहास छ । युवाहरु हतास मनस्थितिमा छन् । उनीहरुको धेर्य टुटन लागेको छ । किनभने, विगत तीस बर्षको अवधिमा ज्ञानेन्द्रको शाही शासनबाहेक २७ पटक प्रधानमन्त्री फेरिएका छन् । मुलुकले स्थायी सरकार पाएन् । संविधान निर्माणपछि २०७४ सालमा केपि ओली झण्डै दुइ तिहाइको बहुमतका साथ प्रधानमन्त्री बनेपछि जनतामा धेरै ठूलो उत्साह र विश्वास जागृत भएको थियो । तर, विश्वासमाथि कुठाराघातनै भयो । चालीस लाखको हाराहारीमा युवाहरु वैदेशिक रोजगारमा छन् । उद्योग चौंपट छन । जुन सरकार आउँछ । करारमा आफ्ना नातागोता र कार्यकर्ताको भर्ना गर्छन् । जहाँतहाँ बेथिति छ । भ्रष्टाचार व्याप्त छ । कतिपय स्थानीय निकायका प्रमुखहरुले भ्यूटावर निर्माणलाई नै विकास सम्झेका छन् । प्रत्येक बर्ष अर्बोका खाद्यान आयात हुन्छ । नेताहरुको गफ त मङ्गलग्रहमैं पु¥याउनेस्तरको छ । त्रिभुवन विश्वविद्यालयमा सधैं ताल्चानै झुण्डिएको हुन्छ । महङ्गी चरमोत्कर्षमा पुगेको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको अवस्था दिनप्रतिदिन खस्किँदै गइरहेको छ । पाइला पाइलामा कर तिर्नु पर्छ । ति करको समूचित ढङ्गले देश र जनताको विकासमा खर्च हुनुपर्छ । जनताको करबाट नेताहरु रजाइ गरिरहेका भनेर जनताहरु मनमस्तिष्कमा घर गर्न थालेका छन् । समग्रमा भन्नुपर्दा कुनैपनि क्षेत्रले जनताको मन जित्न नसकेको अवस्था छ । जनतामा नैराश्यता छाएको छ । यस्तो वेलामा बालेनतर्फ जनताले टकटकी लगाएर हेर्न थालेका छन् । आउँदो निर्वाचनमा बालेनहरु जन्माउनतर्फ जनता उद्यत छन् । दलहरुलाई जनताको विश्वास जित्नु छ भने दलभित्र इमान्दार, स्वच्छ छविका व्यक्तिलाई उम्मेद्वार बनाउनुपर्छ । नत्र, भने भारतको राष्ट्रिय काँग्रेस र बामपन्थी पार्टीको जस्तै हविगत हुन बेर लाग्दैन् । लोकतन्त्रको मेरुदण्ड भनेको कानुनी राज्य हो । कानुनको पालना नभएमा लोकतन्त्र वा गणतन्त्रको मूल्य मान्यताको ह्रास हुन्छ । राजनेताहरुले जनताबीच दिने यस्ता उपदेशहरु आफ्ना जीवनशैलीमा उतार्न नखोज्दा राजनीतिक क्षेत्र विकृत हुन थालेको हो । ‘इतिश्री’ !

 

Comment


Related News

Latest News

Trending News