जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा आत्मघाती सहमति नगर्ने बताएका छन् ।
शनिबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले गठबन्धनका नाममा कुनै पनि आत्मघाती कदम नउठाउने बताएका छन् । प्रतिगमनकारी कदमको अन्त्यका लागि गठबन्धन बनाइएको उनले स्पष्ट पारे । आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सन्तुष्ट हुन नसके सत्ता गठबन्धनबाट अलग हुन सक्ने उनको भनाइ थियो । ‘संघीयता र गणतन्त्रलाई बचाउनका लागि गठबन्धन गरिएको हो । तर, प्रदेश र संघको निर्वाचनमा सन्तोषजनक सिट नपाएमा गठबन्धनबाट अलग्गिन सक्छौँ,’उनले भने । जसपा गठबन्धनको पक्षमै रहेको उनले उल्लेख गरे । तर, सिट बाँडफाँटमा सम्मानजनक तालमेल हुनुपर्नेमा उनले जोड दिए । मधेशको शक्तिलाई कमजोर आकलन नगर्न उनले अरू दललाई चेतावनी समेत दिए । संघीयता र गणतन्त्र संकटमा परेको वेला गठबन्धन गरिएको उनले स्मरण गरे । सामाजिक विकृतिको रुपमा रहेको पिछडा वर्गहरु माथिको अन्याय अन्तको लागि संवैधानिक रुपमै पहल गर्नुपर्ने उल्लेख गरे । दलित र पिछडा वर्गको उन्नति विना देश समृद्ध हुन नसक्ने उनले बताए । उनले वर्तमान निर्वाचन प्रणाली परिवर्तन नगरे सम्म हरेक वर्गको समान सहभागीता हुन नसक्ने दावी गरेका थिए । महँगो निर्वाचन प्रणालीले सवै वर्गको सदन हुन नसक्ने उनको भनाई थियो । उनले लोकतन्त्र र संविधानको रक्षाका लागि जसपाले एक्लै सडक आन्दोलन गर्यो, पछि पछि कांग्रेस र कम्युनिष्टहरु पनि आए, जुन दलको बलमा तिनीहरुले सत्तामा गए त्यसले जसपालाई आज कमजोर बनाउन गठबन्धन गर्न लागेको आरोप लगाए । उनले जात जाति र वर्गमा बांडिएर पछि पछि लागेको कारण ८० प्रतिशतको संख्यामा रहेका हामी मधेशी र पिछडिएकाहरुमाथि मुठीभर २० प्रतिशतको हराहारीमा रहेका खसहरुले शासन गरिरहेको बताए । एकजुट भएर अघि बढयौं भने आफ्नै सत्ता र शासन चलाउन सक्छौं आफ्नो हकअधिकारलाई स्थापित गर्न सक्छौ उनले बताए । अध्यक्ष यादवले लोकतन्त्र र संघीयताको रक्षाको लागि गठबन्धन अपरिहार्य रहे पनि मधेशी, दलित, आदिवासी जनजातिको प्रतिनिधित्वमा ह्रास आउने गरी गठबन्धनको नाउमा आँखा चिम्लेर कुनै आत्मघाती चाल्न तयार नरहेको स्पष्ट गरे ।
‘मधेश जनविद्रोहले पहिचान दियो’
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले मधेशी जनताको पहिचान स्थापित भएको बताएका छन् । शनिबार जनकपुरधामको मुजेलियास्थित शहीदको सम्झनामा आयोजित कार्यक्रममा मधेश आन्दोलनले पहिचानको अधिकार प्राप्त भएको उनले बताएका हुन् । मधेश जनविद्रोहकै कारण मधेशीले नेपालको नागरिकको रुपमा सम्मान पाएको उनले जिकिर गरे । ‘शहीदको बलिदान र मधेश आन्दोलनकै कारण मधेशीलाई विहारी र धोती भन्न छाडिएको छ,’उनले भने,‘मधेश आन्दोलनभन्दा अगाडि मधेशीलाई बिहारी, धोती अरु के–के शब्दले सम्बोधित गर्ने गरिन्थ्यो । वीर सपूतको बलिदानीकै कारण संघीय गणतन्त्र नेपाल बनेपछि अहिले त्यस्तो सम्बोधन बन्द भएको छ ।’ राणा विरोधी, निरंकुश राजनीति विरुद्धको आन्दोलन वा जनआन्दोलन वा सशस्त्र विद्रोह वा ऐतिहासिक मधेश जनविद्रोह सवैमा मधेशी विर सपुतहरुको समान सहभागीता रहेपनि विगतमा राज्य पक्षवाट भएको विभेदकै कारण उनीहरुलाई शहीद मान्न पनि तयार भएको थिएन् । तर, मधेश जनविद्रोहले मधेशी शहीद सहित उहाँहरुलाई पनि पहिचान दिलाउन सफल भएको उनले दावी गरेका थिए । मुलुकमा निरंकुश शासन प्रणालीको अन्त भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि उनीहरुको हेर्ने दृष्टिकोण फरक नभए सम्म मुलुक समृद्धिको वाटोमा हिड्न कठिनाइ हुने बताए । शहीदको बलिदानीकै कारण एकात्मक र निरंकुश शासन प्रणाली फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनले दावी गरे । लोकतन्त्र र संघीयताविरोधी शक्ति, विभेदकारी शासक वर्ग आज पनि संघीय गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको उनले शंका गरे ।
please subscribe our official youtube channel and support us.
https://www.youtube.com/watch?v=ZPWPOg7YOrg

