अपडेट 
२०७९ भाद्र २९, बुधबार ०६:४९

बडो तामझामका साथमधेस प्रदेशको गठनको कल्पना गरिएको थियो । कल्पना साकार भयो । एउटा खुसियालीको मुस्लो मधेसको आकाश भरि देखिएको थियो । केही मानिसको अनुहार अँध्यारो पनि थियो । कालान्तरमा सबैले माने, पत्याए र स्वीकारे । यही थियो सपना र यत्ति नै थियो त सपना ? के अहिले मधेसको अनुहारमा सन्तोषको, सुखको, समृद्धिको कुनै संकेत पाइन्छ ? मधेसको अनुहार अब पढ्ने कसले ? यही समस्या पनि देखिएको छ कि मधेसलाई चिन्ने अब कसले ? यदि कोहीले कोही सित परिचित हुन पाउँछ भने त तिनको समस्याको बारेमा बुझ्न सकिन्छ । नेपालका एक चर्चित शासकले कुनै दिन भनेका थिए – सक्षमहरु मेरा छैनन् र मेराहरु सक्षम छैनन् । मधेसलाई माया गर्नेहरुलाई केवल आफ्नो मात्र चिन्ता छ । भाषाको एउटा उदाहरण हेरौँ न ।

भोजपुरी र मैथिली बाहेक अन्य भाषालाई नै देख्दैनन्, देखेनन्, खेल्ने काम गरिरहेका छन् । मैथिली र भोजपुरीलाई पाँचपाँच करोड रुपैया दिँदा अन्य भाषा भाषी हेपिएका छन् । के समृद्धलाई मात्र समृद्ध बनाउन र हेपिएका चेपिएका थिचिएकालाई अझ हेप्न, चेप्न, थिच्न र गरिब बनाउने कल्पना मधेसको थियो ? गरिबको सपनालाई कुल्चेर अगाडि बढ्न सकिन्छ होलाभन्ने दृष्टिकोण हावी भएको हो ? उन्नतिको पूर्वाधार तर्फ धेरै सकारात्मक पाइला चाल्न सकिन्थ्यो । राम्रा सुरुआत गर्न सकिन्थ्यो तर मधेसले आफ्नो अनुहार कहाँनेर गर्विलो किसिमले देखाउने बनाएको छ भन्ने कुरा खोज्नुपर्छ । यसमा शंका छैन कि संघीयता ल्याउने कुराको नेतृत्व मधेशले गरेको तर संघीयताको व्यावहारिक मर्मको नेतृत्व पनि मधेशले गर्नु पथ्र्यो । यो अपेक्षा कहाँनेर गएर तुहियो ? किन तुहियो ? संघीयताको सपनामा खिया लगाउने काम भएको हो कि अझ बाँकी छ ? वास्तवमा संघीयतालाई गाली गरेर मात्र हुँदैन, स्थानीय सरकारले धेरै गरेको सबैले बुझेका छन् । अहिले पछिल्लो स्थानीय सरकारले सय दिनमा गरेको कामको राष्ट्रिय स्तरमा मूल्यांकन भइरहेको छ । कमीकमजोरी होलान् तर धेरै तिरबाट सकारात्मक आशाका किरन देखिएका चर्चाहरु आइरहेका छन् । राम्रो सुरुआत भएको भनिएको छ । यति हुँदाहुँदै पनि सामाजिक संजालमा आलोचना भइरहेको छ । कतिपयले आलोचनालाई कामगर्ने मार्गदर्शनको रुपमा लिएका छन् ।

एउटा अमूर्त उदाहरण हेरौँ । कुनै पालिकामा नेतृत्वको कट्टर विरोधीले एउटा बाटो अत्यन्त खराब भएको पोस्ट गरे, पालिका सरकारले केही पनि नगरेको आरोप लगाए । त्यसको भोलिपल्ट त्यो बाटो बनाउने काम पालिका सरकारले सुरु ग¥यो । पालिका सरकार प्रमुखले सामाजिक संजालमा लेखे– बाटो बिग्रेको गुनासो सामाजिक संजालमा आएपछि अनुगमन गरी मर्मतको कामगर्ने आदेश दिएका छौँ । पालिका सरकारले आदेश मात्र दिएन, काम पनि भयो । आलोचना गर्नु पनि राम्रो कुरा हो तर स्वस्थ हुनुपर्छ । नियत नै खराब राखेर आलोचना गर्नुहुँदैन । काम गर्ने वेलामा कमीकमजोरी हुन्छ तर नियत नै खराब राखेर काम गर्नु हुदैँन । यदि नियत सफा छ भने रौतहटको चन्द्रनिगाहपुरको एउटा कर्मलाई बुझ्न सकिन्छ । सन्दर्भ खेलकूदको हो । र, मधेश प्रदेश खेलकूदको क्षेत्रमा धेरै गर्न सक्छ भन्ने दृष्टान्तार्थ यो प्रस्तुत गर्दैछु । हेटौँडा कपडा उद्योग बन्द भएपछि त्यसका एक जना मजदुर वा कर्मचारी आफ्नो घर चन्द्रनिगाहपुर फर्के । उनको नाम थियो शेरबहादुर दर्लामी । दर्लामीले आफूलाई खेलकुदको क्षेत्रमा अर्पण गरिदिए । चन्द्रनिगाहपुरमा उनले आफुनो रुचि भएको फुटबल खेलाउनथाले र खेल्न थाले । यसै क्रममा केही किशोरीहरुको पनि रुचि जाग्यो । त्यत्तिवेला प्लान इन्टरनेशन नेपाल नामको एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था रौतहटमा कार्यरत थियो जसले किशोरीलाई सक्षम बनाउन विभिन्न कार्यक्रम चलाइरहेको थियो । कार्यक्रममा जनचेतना मूलक र व्यवहार मूलक दुवै थिए । यसबाट धेरै बालबालिका लाभान्वित भएका थिए । तिनै किशोरीहरुको लागि प्लान नेपालले फुटबलको क्षेत्र खोलि दियो ।

विपन्न समुदायका किशोरीहरुको फुटबल खेलमा प्लानले सहयोग ग¥यो । त्यसको परिणाम यो देखियो कित्यसवेलाप्लान नेपालको कार्यक्षेत्र रहेको उत्तरी रौतहटका केही किशोरीहरुको खेल अब्बल साबित भयो । त्यसैका परिणाम स्वरुप विस्तारै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विभागीय टोलीमा केहीले जागिर पाउनथाले । विस्तारै यो क्रम र सम्मान बढेर राष्ट्रिय टोलीसम्म रौतहटेली महिलाको पहुँच हुन पुग्यो । बिचैमा प्लान नेपालले रौतहटलाई आफ्नो कार्यक्षेत्रको सिमा भन्दा बाहिर लग्यो । समयक्रममा शेरबहादुर दर्लामीको पनि देहावसान भयो । शेरबहादुर दर्लामीको नाममा उनले अभ्यास गराउने गरेको मैदानको नाम नै राखिएको छ । र, आज पनि त्यस क्षेत्रका विपन्न समुदायका किशोरीहरुले फुटबलको अभ्यास गरिरहेका छन् । साँच्चिकै यदि राम्ररी विचार गर्ने हो भने नेपालको सबै महिला फुटबल टिममा रौतहटको सम्मान जनक उपस्थिति भइरहेको छ । आज भोलि यो पनि भनिन थालिएको छ कि कतिपय किशोरीहरु यस्ता गरिब छन् जसको कुनै सोर्स छैन, तिनले फुटबल खेलमा राम्रो गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना वा अन्य कुनै यस्तै विभागीय टोलीमा खेलकुदकै कारण जागिर पाउँछन् । मतलब जागिर खाने सपना खेल मार्फत पनि देखिन थालिएको छ । खेलकुद प्रतिभोक जगाउन सकिएको छैन । खेलकुद मात्र किन अन्य क्षेत्रमा पनि सम्बन्धित काम प्रतिभोक जगाउन सकिएको छैन । यदि भोक जगाउने हो र भोक जगाउने संस्कृति बस्ने हो भने धेरै कुरा सिस्टममा आउन सक्ने देखिएको छ ।

मधेशको खेलकुद कमजोर छैन तर यदि प्रोत्साहन गर्ने हो, व्यवस्थित गर्ने हो र यसलाई व्यवसायको रुप पनि दिन सकिन्छ भन्ने आत्म विश्वास जगाउने हो भने खेलकुदको विभिन्न क्षेत्रमा आफ्नो क्यारियर देख्न सक्ने सम्भावना रहेको छ । कोही आफ्ना दिदी बहिनीलाई देखेर म अझ राम्रो गरेर कमसेकम त्यस्तै बन्छु भन्ने सपना सर्वसाधारणले पनि देख्न सक्छन् । गरिबका छोराछोरीले पनि खेलकुदको सपना देख्न सक्छन् । खेलकुद मनोरंजन वा स्वास्थ्यवा फुर्सदको समय उपयोग गर्नका लागि मात्र होइन, खेलकुद कसैलाई देखाउन वा खुसी बनाउनको लागि मात्र हो, सोखको लागि पनि मात्र होइन । यी सबैका लागि त हो नै तर खेलकुद पनि सपना हुन सक्छ । सपनामा पाइला टेकेर खेलकुदको संसारमा नाम कपाउन सक्छ । सपनाले व्यवसाय बनाउने अवसर बन्न पाउँछ । सपनाले सोखको पनि बाटो समात्न सक्छ । आफूभित्रको प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्न सक्दछ । प्रतिभा प्रदर्शनको माध्यमले प्रदेश सेवा र देश सेवा गर्न सम्भव छ । वास्तवमा सम्भावना भएकालाई अवसर दिइनु पर्दछ भन्ने कुरो माथिको दृष्टान्तले स्पष्ट पारिइसकेको छ । मधेशले निकै राम्रो गर्न सकिने सम्भावना रहेको क्षेत्र खेलकुद पनि हो । खेलकुदको लागि सिद्धान्तमा भन्दा पनि व्यवहारमा असल सुरुआत गर्नु परेको छ । यसमा एकै पटक धेरै आर्थिक लगानीको साटो कम प्रक्रिया मुखी र बढी व्यावहारिक बाटो बनाउनु परेको छ । रौतहटका महिलाहरु खेलकुदमा अब्बल साबित हुँदै गर्दा यसमा प्रक्रियाको खासै आवश्यकता परेको देखिएको छैन, धेरै औपचारिकता पनि छैन, अवसर दिइएको हो र अवसर दिँदा आफू मात्यो प्रतिभा रहेको भनेर बुझ्नेहरुले आफूलाई त्यहाँसम्म पु¥याउन निकै मिहिनेत गरेका हुन्, लगनशील भएर अनुशासनको पालना गरेका हुन् ।

अनि आफूलाई सक्षम साबित गरेका हुन् । हो, सक्षम बनाइदिने वातावरण र अवसर प्रदान गर्नु अहिलेको आवश्यकता हो । यदि वातावरण र अवसर हुन्छन् भने त्यस मार्गमा चल्ने पथिकहरु अवश्य निस्कन्छन् । कतिपय अवस्थामा अरुलाई देखेर आफूलाई चिन्नेहरु हुन्छन् जसका लागि प्रायोजित वातावरण पनि स्वाभाविक बन्न पुग्दछ । स्वाभाविक वातावरण महसुस गर्नेले त्यसलाई भरपूर उपयोग गरेका हुन्छन् । जसले आफ्नो समयलाई र अवसरलाई इमानदारी पूर्वक उपयोग गर्ने अवसर प्राप्त ग¥यो उसले त जीवनमा केही अवश्य नै गर्दछ । जीवनमा अवश्य केही गर्ने वातावरण बनाउने काममा स्थानीय सरकार देखि प्रदेश सरकारसम्मको भूमिका महत्वपूर्ण छ । सरकारहरुलाई पनि बुद्धिजीवीहरुले सकारात्मक सुझाव दिइरहनु आवश्यक छ । सरकारहरुले पनि राम्रा सुझाव मान्नुपर्छ । ठूला र महँगा भनिएका विद्यालयमा पढ्न सम्भवन भएका गरिब बालबालिकाको लागि पनि खेलकुदको माध्यमले जीवनमा धेरै कुरा गर्ने सपना देखाउन सकिन्छ ।

Comment


Related News

Latest News

Trending News