प्रदेश सरकारका महिला बालबाबालिका युवा तथा खेलकुद मन्त्रालयलले प्रदेश प्रहरी कार्यालयलाई ट्राफिक नियम तथा महिला हिंसा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले बुफरसहितका सामग्री हस्तान्तरण गरेका छन् ।
विहीवार मन्त्रालयको प्राङ्गणमा अयोजित कार्यक्रममा महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले मधेश प्रहरी प्रमुख डिआईजी मकसुद आलम खाँलाई ८० थान बुफर, पेन ड्राइभ र प्रशारण गरिने जिङ्गगल हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा मन्त्री सिंहले ट्राफिक नियम तथा महिला हिंसा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले प्रहरीलाई उक्त सामग्रीहरु वितरण गरिएको बताए । प्रदेशको खेलकुद विकासको लागि सरकारले सबै जिल्लामा रहेका कबर्ड हलको मर्मत सम्भार, खेलकुद मैदानको स्तरोन्नति गरिएको मन्त्री सिंहले बताए । त्यसैगरी, वृद्धाआश्रममा रहेका आमाहरुको लागि मासिक रुपमा वृद्ध भत्ता समेत प्रदेश सरकारले दिदै आएको उनले बताए । ९ औ राष्ट्रिय खेलकुदको तयारी प्रदेशमा युद्धस्तरमा भइरहेको भन्दै मन्त्री सिंहले आगामी ९ औ राष्ट्रिय खेलकुदमा मधेशका सबै खेलमा सहभागी हुने गरी खेलाडीहरुको टिम तयारी गरिरहेको र उनीहरुले अभ्यास समेत गर्दै आएको बताए । खेलमा उत्कृष्ट हुने खेलाडीलाई राष्ट्रिय स्तरको टोलीमा समावेश गराउने प्रदेश सरकारले पहल गर्ने मन्त्री सिंहले बताए । यसका साथै युवाहरु स्वस्थ्य राख्ने उद्देश्यले सरकारले विभिन्न ठाउँहरुमा जिम सेन्टरको समेत व्यवस्था गरेको उनको भनाइ थियो ।

