स्वर्गिय डाचाराज वाग्लेकी श्रीमती सरस्वती मिश्र वाग्लेले सर्लाहीको हरिपुर नगरपालिका–१, हजारबिघामा रहेको पाँचकुमार रामऔतार लक्षिया माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना गरेकी छन् ।
मिश्रले विद्यालयमा एक कार्यक्रमबीच ३ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेकी हुन् । उनले विद्यालयलाई ३ लाख रुपैयाँको चेक प्रदान गरेका विद्यालयका शिक्षक टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए । माओवादी केन्द्र सर्लाहीका तत्कालिन जिल्ला इन्चार्ज वाग्लेको गत वर्ष मूर्तिया जंगलमा रहस्यमय सवारी दुर्घटनामा परेर ज्यान गएको थियो । अक्षय कोषको रकमबाट प्राप्त हुने ब्याजले बर्सेनि प्लटूमा उत्कृष्ट अंक ल्याउने जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिने बताइएको छ ।
कार्यक्रममा अक्षय कोषदाता मिश्रसँगै बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, माओवादी केन्द्र हरिवनका अध्यक्ष अर्जुन पन्त, एमाले नेता चूडामणि वाग्ले, हरिपुर नगरपालिकाका शिक्षा शाखाका प्रमुख नागेश्वर राय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार सिंह, प्रधानाध्यापक विनोदकुमार सिंह, नेपाल शिक्षक महासंघ हरिपुरका अध्यक्ष सुरेश मिश्रलगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रमको अवसर पारेर ग्रामीण नारी उत्थान संघ हरिपुरको सहयोगमा विद्यालयमा कविता वाचन प्रतियोगिता गरी ६ जना विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयका शिक्षक थापाले बताए ।

