अपडेट 
२०७९ आश्विन ३, सोमबार १९:३१

महोत्तरी : एक साता अघिमात्र सञ्चालनमा आएको महोत्तरीको बर्दिबास-९ पशुपतिनगरस्थित रातु नदीको झोलुङ्गे पुल अहिले आम सर्वसाधारणका लागि घुमफिरको रमाइलो ठाउँ बनेको छ । सामान्यतया मधेशमा कमै बन्ने झोलुङ्गे पुल यहाँ अहिले आम सर्वसाधारणका लागि साँझबिहान घुमफिरका लागि आकर्षण बनेको हो ।

“आवागमनमा सहज भएको त छँदैछ, अहिले हाम्रो ठाउँमा यो घुमफिरको रमाइलो गन्तव्य पनि बनेको छ” बर्दिबास-९ पशुपतिनगरको बनरझुल्ला बस्तीका सामाजिक अभियानी युवा अमृतकुमार महतोले भन्नुभयो, “मधेशमा नौलो भएर पनि होला, पुल सञ्चालनमा आएदेखि नै यहाँ साँझ बिहान डुल्न र पुल वारपार गर्न पुग्नेको लाम लाग्छ ।” पशुपतिनगरकै पथलैया र बनरझुल्लालाई जोड्ने यो २५९ मीटर लम्बाइको पुल मधेश प्रदेश सरकारले तीन करोड २९ लाखको लागतमा हालै निर्माण सम्पन्न गरेपछि सञ्चालनमा आएको हो ।

यस्तै गत सातामात्रै सञ्चालनमा आएको जिल्लाको भारतीय सीमावर्ती मटिहानी नगरपालिका-५ को गोबरौरा र धनुषाको घोडघास जोड्ने दुधमती नदीको झोलुङ्गे पुलमा पनि घुमफिरको उद्देश्यका मान्छे बाक्लै पुगेका देखिन्छन् । मटिहानी नगरपालिकाले ४५ लाखको लागतमा निर्माण सम्पन्न गरेको यो ३२ मीटर लम्बाइको पुल महोत्तरी/ धनुषा दुबैतिरका बासिन्दाका लागि आकर्षण बनेको छ । आफ्ना ठाउँमा अझै केही झोलुङ्गे पुलका योजना बन्ने नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

छिमेकी बस्तीकै भएपनि वर्षौ भेट नभएका दुबैतिरका बासिन्दा अहिले पुलमा दिनहुँजसो भेट हुन्छन्” मटिहानी-५ गोबरौराकी बासिन्दा कान्तिवती भन्नुहुन्छ, “पुलमा बिहान/बेलुका घुम्न पुग्नेमा महिला, पाका उमेरका जेष्ठ नागरिक र किशोरकिशोरीको सङ्ख्या उल्लेख्य देखिन्छ ।”

महोत्तरीमा यसैपालि निर्माण सम्पन्न भएर सञ्चालनमा आएका यी झोलुङ्गे पुल बर्खामा बाढी तर्न नसकेर वारीपारी रोकिनु पर्ने अवस्थाको अन्त्यमात्र नभएर घुमफिरको गन्तव्यसमेत भएपछि बस्तीका बासिन्दा मख्ख देखिन्छन् । “जरुरी कामले बाहिर हिंडेका यात्रीले बाढीकै कारण यात्रा रोक्नुपथ्र्यो, यो राहत त छँदैछ, अहिले त छिमेकी बस्ती भङ्गाहा-४ र बर्दिबास-१२, १३ को बिजलपुरासम्मका मान्छे घुमफिरकै लागि पुलसम्म आउने गरेका छन्” बर्दिबास-९ का वडाअध्यक्ष घुरन महतो भन्नुहुन्छ, “यसले आफ्नो ठाउँले थप वास्ता पाएको झैं लाग्दोरहेछ ।”

जिल्लामा यसपालि मात्र झोलुङ्गे पुल निर्माण सम्पन्न भएका हैनन् । यसअघि जिल्लाको मध्यवर्ती भेगको बलवा नगरपालिकाको बलवाबजार र मनराशिशवा नगरपालिकाको सरपल्लो बीचको ओक्सी नदीमा निर्माण भएको झोलुङ्गे पुल पहिलो भएको महोत्तरीबासी सम्झन्छन् । एक दशक पहिले नै सञ्चालनमा आएको सो पुलमा अझैपनि घुमफिर गर्न आउने नघटेका बलवा बजारका शिवनारायण झा बताउनुहुन्छ ।

त्यसैगरी रामगोपालपुर नगरपालिकाको टिकुलियाबजार र बलवाकै बनौटा बीचको ओक्सी नदीमा पनि झोलुङ्गे पुल बनेर सञ्चालनमा आएको एक दशक नाघेको छ । भर्खरै तीन वर्षअघि निर्माण सम्पन्न भएर सञ्चालनमा आएको महोत्तरीको बर्दिबास-३ रजबास र धनुषाको मिथिला-११ चुरेबीचको रातु नदीको झोलुङ्गे पुलपनि घुमफिरको ठाउँ बनेको छ ।

“एक समयमा बाढी तर्न नसकेर वारीपारी ट्वाल्ल परेर घण्टौं कुर्नुपर्ने यो ठाउँ अब पुलले आवागमन सहज बनाएको छ” रजबासका बासिन्दा टेम्पुचालक कमल तामाङ् भन्नुहुन्छ, “झोलुङ्गे पुलमा कामविशेषका यात्रीमात्र नभएर तीन किलोमीटर पर सिन्धुली जिल्लाको भिमानबजारदेखिका मान्छे साँझबिहान घुम्न आएका भेटिन्छन् ।”

सामान्यतया पाहाडी र हिमाली भेगमा बाक्लो प्रयोगमा रहँदै आएको झोलुङ्गे पुल मधेशमा नौलो लागेर पनि हेर्ने, घुम्नेहरुको चासोमा परेको बुझिन्छ । यसबाहेक यातायात साधन नचल्ने र मान्छेमात्र आवतजावत गर्ने यी पुल हिंड्दा लचकलचक हल्लिने हुँदा त्यसले पनि फरक आनन्दको महसुस गराउने पशुपतिनगरमा निर्मित नयाँ झोलुङ्गे पुलमा डुल्नै आउँदा भेटिनु भएका भङ्गाहा- ४ का रामप्रताप साहको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News