२०७९ आश्विन ४, मंगलवार ०६:२४

राजविराज । पतिको हत्या र नाबालिक छोरीको सामूहिक बलात्कारमा संलग्न आरोपिहरु एकपछि अर्काे गरी धरौटीमा रिहा हुन थालेपछि सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिला आफू झन असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्था पहलका लागि संचारकर्मीहरु समक्ष आग्रह गरेकी छन् ।

सो नगरपालिका ३ की ४० वर्षीया घुरनी देवी रामले सोमवार राजविराजमा पत्रकार सम्मेलन गर्दै आग्रह गरेकी हुन् । उनको १४ वर्षीया छोरीको ०७५ सालमा छिमेकीकै केही युवाहरुद्वारा बलात्कार गरिएको थियो भने उक्त घटनाको २ वर्षपछि श्रीमान त्रिभुवनको हत्या गरिएको थियो । बलात्कारका अभियुक्तलाई पक्राउ गर्न दबाब बढाएपछि आरोपित पक्षकै संलग्नतामा त्रिभुवनको पनि हत्या गरिएको गाउँलेहरुले बताउँदै आएका छन् । बलात्कारको घटनालाई मिलाउन गाउस्तरबाट निकै दबाब परे पनि छोरीको बलात्कारमा संलग्नहरुमाथि कडा कारवाही हुनुपर्ने अडान लिएपछि त्रिभुवनको हत्या भएको अनुसन्धानको क्रममा खुलेको थियो । बलात्कार घटनाको दुई वर्षपछि ०७७ साल असार ३० गते पीडित किशोरीका बुवा त्रिभुवनको गाउँ नजिकै एकान्त स्थलमा हत्या गरी फ्यालिएको अवस्थामा प्रहरीले मृत शरीर फेला पारेको थियो । किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सोही वडाका बबी चौधरी सप्तरी जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि अहिले पनि कारागारमा छन् । उनी संगै पक्राउ परेका अन्य चार जना भने केही दिन अघि धरौटीमा रिहा भएका छन् ।

यस्तै, पीडित किशोरीका पिताको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सोही वडाका प्रभु साह, शम्भु साह, पंकज चौधरी र सुरेन्द्र पाल पनि पूर्पक्षका लागि राजविराज कारागारमा छन् । यसरी कारागारामा रहेकाहरुको आफन्त तथा धरौटीमा रिहा भएकाहरबाट आफूलाई पनि ज्यान मार्ने धम्की आउन थालेपछि आफू असुरक्षित भएको घुरनी देवीको भनाइ छ । उनी भन्छिन–मुदा फिर्ता लिन र गाउँमै कुरा मिलाउन दबाब बद्दै गएको छ, थेग्न न सकेर न्याय खोज्न यहाँ आइपुगेकी छु । पीडकका आफन्तले डर त्रास देखाउने र कुरा नमाने ज्यानै मारिदिने सम्मको धम्की दिन थालेपछि डराएर जीवन विताउनु पर्ने अवस्था अन्त्यका लागि तपाईहरुको सहयोग खोजेकी हुँ उनले भनिन्। पत्रकार सम्मेलनमा उनका छिमेकी जयप्रसाद रामले यसबारे स्थानीय प्रशासनलाई समेत जानकारी गराइएको बताए ।

Comment


Related News

Latest News

Trending News