नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाममा कालो झण्डा देखाइएको छ ।
शनिबार जनकपुरधाम विमान स्थलबाट निस्किने क्रममा उनलाई जनता समाजवादी पार्टी (जसपा)निकट युवाहरुले कालो झण्डा देखाएका छन् । जनकपुरधाम विमानस्थलबाट रेल्वे स्टेशन जाने क्रममा ओलीलाई कालो झण्डा देखाउने युवा र प्रहरीबीच घम्साघम्सीसमेत भएको थियो । प्रहरीले उनीहरुसँग भएको कालो रंगको कपडा खोस्ने प्रयास गरिरहेका थिए भने युवाहरु नाराबाजी गर्दै कालो झण्डा देखाइरहेका थिए । विमानस्थलबाट रेल्वे स्टेशन जाने क्रममा पनि ओलीलाई केही युवाले कालो झण्डा देखाउने प्रयास गरेका थिए । सिटि होस्पिटल नजिक उनलाई युवाहरुले कालो झण्डा देखाउने प्रयास गर्दा प्रहरीले घेरा हालेर रोकेको थियो । त्यसपछि अध्यक्ष ओली स्टेशन नजिक पुग्न लाग्दा युवाहरुलाई प्रहरीले होस्पिटल जाने सडकमा बल प्रयोग गर्दै अवरोध गरेका थिए । यस क्रममा युवाहरुले केपी ओली र विद्यादेवी भण्डारी विरुद्ध चर्को नारावाजी गरेका थिए । यद्यपि कालो झण्डा देखाउनेलाई शनिबार प्रहरीले पक्राउ नगरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
नागरिकता विधेयकमा एमाले अध्यक्ष ओलीकै कारण प्रमाणीकरण नभएको भन्दै उनीहरुले कालो झण्डा देखाएका थिए । यस अघि भदौ २७ गते ओली जनकपुरधाम आउँदा पनि प्रहरीले पाँच जना युवालाई कालो झण्डा देखाउने प्रयास गरेका कारण नियन्त्रणमा लिएका थिए । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै मधेशवादी दलहरु पाँच दिनदेखि मधेशका जिल्लाहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रदर्शन गरिरहेका छन् ।


