धनुषा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव आफै झाडु र बेल्चा लिएर सडक सरसफाइमा होमिएका छन् ।
शनिवार नगरपालिका वडा नम्वर ५ मा रहेको महेन्द्रनगर बजारबाट सरसफाइ सुरु गरेका हुन् । स्थानीय बासिन्दालाई सफाइमा जुट्न आग्रह गर्दै मेयर यादव आफै सफाइ गर्न महेन्द्रनगरको बजार क्षेत्रमा सरसफाइ गरेका थिए । उनले आफ्नो घर बजार वरिपरि सफाइ गरौँ, बाटोमा सडकमा जथाभावी फोहोर फाल्न बन्द गरौ भन्दै सफाइमा जुटेपछि नगरपालिकाका जनप्रतिनिधि श्रीनाथ गणका नेपाल आर्मी तथा स्थानीय प्रशासनको पनि सहभागिता रहेको थियो । नगरपालिकाका सरसफाइ कर्मचारी पनि तलब भत्ताको लागि आन्दोलित रही सरसफाइ गर्न ठप्प गरेको बेला मेयर यादवले सडक तथा बजार क्षेत्र सफाइपछि उनले बजार तथा सडक आसपासका क्षेत्रमा जथाभावी फोहोर फालेमा कारवाही गर्ने निर्देशन दिएका छन् । हिन्दुहरुको महानपर्व दशैं तिहारलाई समेत मध्यनगर गर्दै उनले ठप्प रहेको सरसफाइका कारण दुर्गन्धित बन्दै गरेको नगरलाई सफा बनाउने अभियान अन्तर्गत सरसफाइ कार्यलाई आफ्नै अगुवाइमा निरन्तरता दिएका छन् ।
उनले नगरपालिका ७ मा जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत औरही पुल नजिक लागिरहेको नयाँ बजार र चोकको बजारलाई पनि छिट्टै व्यवस्थित गर्ने जनाएका छन् । सरसफाइ कार्यक्रमलाई हरेक शनिवार निरन्तरता दिइने उनले जनाए । कार्यक्रममा वडाध्यक्ष विनोद प्रसाद गुप्ता, श्रीनाथ गणका कर्णेल, श्रीनाथ गणका गणपति सुरेश देवकोटा, नेकपा एमालेका धनुषा जिल्ला सदस्य ललित साह, स्थानीय राजु गुप्ता, क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष श्याम यादव लगायतको सहभागिता रहेको थियो ।


