२०७९ आश्विन १५, शनिबार ०६:५९

सामुदायिक विद्यालयहरुको अवस्था अध्ययन गर्न गठित उपसमितिले आफनो प्रतिवेदन महानगरपालिकामा बुझाएको छ ।

महानगरको शिक्षा समितिले गठन गरेको उपसमितिले २ हप्ता लगाएर गरेको स्थलगत निरीक्षण पछि तयार पारिएको प्रतिवेदन मेयर राजेशमान सिंहलाई बुझाएको छ । महानगरमा रहेका सामुदायिक विद्यालयहरुको भौतिक अवस्थाको अध्ययन गर्न महानगरको शिक्षा समितिले प्रदीप केडियाको संयोजकत्वमा एक उपसमिति गठन गरेको थियो । उक्त उपसमतिले महानगरका ९० वटै सामुदायिक विधालयमा पुगेर त्यहाँको भौतिक र शैक्षिक अवस्थाका बारेमा स्थलगत निरीक्षण गरेको थियो । स्थलगत निरीक्षणका क्रममा धेरै जसो सामुदायिक विद्यालयहरुमा विधार्थीलाई बस्ने डेस्क बेञ्चकै अभाव रहेको पाइएको उपसमितिकी सदस्य डाक्टर सुष्मा तिवारीले बताइन । उनका अनुसार , महानगरका सामुदायिक विद्यालयहरुलाई १ हजार ८ सय ७५ सेट डेस्क बेञ्चको अभाव रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । डेस्कबेञ्च अभावमा विद्यार्थी एउटै डेस्कबेञ्चमा कोचिएर बस्नु पर्ने समस्या रहेको तथा केही ठाउँमा भुईँमै बसेर पढ्नु पर्ने बाध्यता रहेको देखिएको तिवारीको भनाइ छ ।

मेयर सिंहलाई प्रतिवेदन बुझाउँदै उपसमितिका संयोजक केडियाले महानगरका सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि प्रतिवेदनमा समेटिएका समस्या सुधार गर्नुपर्नेमा जोड दिए । स्थलगत निरीक्षणका क्रममा बजार क्षेत्रमा सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा भवन तथा कक्षाकोठाका साथै डेस्कबेञ्चको अभाव देखिएको छ । महानगरकै ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा भने कक्षाकोठामा जस्तापाता लगाउनुपर्ने, झ्यालढोका मर्मत गर्नुपर्ने, शौचालय, पिउने पानी, पंखा अभाव जस्ता समस्या भेटिएको छ । उपसमितिले दिएको प्रतिवेदनमा ६१ वटा नयाँ कक्षाकोठा निर्माण गर्नुपर्ने, ७१ वटा कक्षाकोठा मर्मत गर्नुपर्ने, २३ वटा शौचालय निर्माण गर्नुपर्ने, ५ वटा शौचालय मर्मत गर्नुपर्ने र ४ सय १९ वटा पंखा जडान गर्नुपर्ने आवश्यकता रहेको उल्लेख छ । यस्तै १ सय ३२ वटा झ्याल ढोका बनाउनुपर्ने, १३ वटा कोठामा जस्तापाता छाउनुपर्ने, १९ थान चापाकल जडान गर्नु पर्ने, १४ वटा विद्यालय मैदानमा माटो पुर्नु पर्ने लगायतका समस्या प्रतिवेदनमा देखाइएको छ । उपसमतिको प्रतिबेदन बुझ्दै मेयर सिंहले सामुदायिक विद्यालय सुधारका लागि उसमितिले औँल्याएको समस्या समाधानका लागि दसैँ लगत्तै विस्तृत कार्ययोजना बनाएर अगाडि बढ्ने बताए । कतिपय विद्यालयमा शिक्षक नियमित नआउने, आर्थिक अपारदर्शिता, न्यून विद्यार्थी संख्या जस्ता समस्या पनि देखिएकाले त्यसलाई पनि सम्बोधन गर्ने गरी काम गरिने मेयर सिंहले बताए ।

Comment


Related News

Latest News

Trending News