जनता समाजवादी पार्टी (जसपा) नेपालको असन्तुष्टिलाई लिएर शीर्ष नेता बसेको बैठक निष्कर्षविहीन भएको छ । आइतबार बालवाटरस्थित शीर्ष नेताहरु बसेको बैठकले जसपाको असंतुष्टिलाई सम्बोधन गर्न सकेको छैन । जसपा सम्मानजनक सिट बाँडफाँटको लागि निर्णायक वार्ता गर्न बैठकमा सहभागी भएको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादव बैठक शुरु भएको केही समयपछि नै बैठकबाट बाहिरिएका थिए ।
कार्यदलले तयार पारेको सिट बाँडफाँटमा सम्मानजनक स्थान नदिएको भन्दै जसपाको गठबन्धनप्रति नै असंन्तुष्टि छ । बैठकबाट निस्किएर अध्यक्ष यादव जसपा पार्टी कार्यालय आएका थिए । कार्यालयमा पार्टीका नेताहरुसँग बैठक बारे छलफल गरेका थिए । सो छलफलमा अन्य दलसँग तालमेल खुल्ला राख्ने निर्णय भएको बुझिएको छ । गठबन्धनको बैठक कुनै निर्णय गर्न नसक्दा गठबन्धन बारे अन्योलता देखिएको छ । मधेश प्रदेशमा जसपालाई दिएको सिट सन्तोषजनक नभएको भन्दै शनिबार नै कार्यकारिणी समितिको बैठकले गठबन्धन बाहिर जाने संकेत गरेको थियो । जसपाले प्रतिनिधिसभामा २० सिटमा दाबी गरेको छ । तर, कांग्रेस र माओवादी केन्द्रले भने १६ सिट दिने खाका तयार गरेको छ । जसपाले अनौपचारिक रुपमा अन्य दलसँग तालमेलको लागि छलफल गरिरहेको छ । यस क्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष यादवबीच भेटघाट भएको छ । नेकपा एमालेका नेताहरु पनि चुनावी तालमेलका लागि लाइनमै रहेको बताइएको छ । जसपा गठबन्धनबाट अल्गिएर लोसपा, एमाले र जनमत पार्टीसँग तालमेल गर्न विकल्प राखेका छन् । जसपा अध्यक्ष यादवले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई र आइतबार महासचिव शंकर पोखरेलसँग भेटघाट गरी सघन छलफल गरेका छन् ।
यद्यपि एमालेले लोसपासँग पनि तालमेल गर्ने केही दिन पहिले इच्छा देखाएका थिए । तर अहिलेसम्म तालमेल गर्न सकेको छैन् । नेकपा एमाले जसपालाई २० देखि २५ सिट दिन तयार छ । काँग्रेसले पनि जसपा गठबन्धनभन्दा बाहिर नजान दिन प्रयासरत रहे पनि काँग्रेस आफ्नै आन्तरिक कलहका कारण निष्कर्षमा पुग्न सकिरहेको छैन् । कार्यकारिणी समितिको बैठकबाट जसपाले आगामी निर्वाचनमा एक्लै जानसक्ने विकल्पलाई पनि खुल्ला राखेका छन् । मधेशलाई आधार बनाएर राजनीति गरिरहेको जसपाले मधेश प्रदेशमा बढी सिटका लागि दाबी गरिरहेको छ । केही दिन अघि गठबन्धनको बैठकमा जसपाले ३२ सिटमा दाबी गरेको थियो । दल परित्यागको लहरका कारण एमाले पनि उम्मेदवार छनौट गर्न इच्छुक नभइ दसैं पछि गर्ने तयारीमा छ । पार्टी सचिवालयबाट उम्मेदवार छान्ने जिम्मेवारी पाए पनि ओली केही समय कुरेर बस्न चाहिरहेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव आगामी चुनावपछि पनि मधेश प्रदेशमा जसपाकै नेतृत्वमा सरकार बनाउन चाहन्छन् । मधेश प्रदेश सभामा प्रत्यक्षतर्फ ६४ सिट छ । मधेश प्रदेशमा बहुमत नभए पनि प्रदेशको ठूलो पार्टी बनेर सरकारको नेतृत्व गर्नका लागि उनी अहिल्यैबाट वातावरण बनाउने प्रयासमा लागेका छन् ।


