राजविराज । मंसिर ४ हु्ने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागी केन्द्रीयस्तरमा बनेको गठबन्धन जिल्लाको विभिन्न क्षेत्रमा भत्किएको छ ।
जसकाकारण गठबन्धनका आधिकारीक उम्मेदवार तनावमा परेका छन् । यहाँ गठबन्धनको सहमति विपरीत प्रतिनिधिसभा क्षेत्र नं. १ र ३ तथा प्रदेशसभा १ को ‘क’, ३ को ‘क’ र ‘ख’ तथा ४ को ‘ख’ मा उम्मेदवारी परेको छ । सत्ताधारी दलको गठबन्धनमा कांग्रेसको भागमा परेको प्रतिनिधिसभा क्षेत्र नं. १ बाट पूर्व साँसद समेत रहेका माओवादी केन्द्र सप्तरीका इन्र्चाज अशोककुमार मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई पार्टीले प्रदेशसभा सदस्यका लागी टिकट दिए पनि टिकट अस्वीकार गर्दै उनले प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा सत्तारुढ दलको गठबन्धनबाट नेपाली कांग्रेसका रामदेव साह साझा उम्मेदवार छन् । टिकट वितरणमा असन्तुष्टि जनाउदै मण्डलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि गठबन्धन भित्र पनि असन्तुष्टि संगै शंका उपशंका र विश्वासको संकट उत्पन्न भएको र यसलाई सच्याउनु पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादवको भनाइ छ । यस्तै केन्द्रीय सदस्य यादव उम्मेदवार रहेको प्रतिनिधिसभा क्षेत्र नं.३ मा पनि गठबन्धन भित्रका दल लोसपाका तर्फबाट लक्ष्मीकान्त मण्डलले उम्मेदवारी दर्ता गराएका छन् । सप्तरीको प्रदेशसभा १ को ‘क’ मा गठबन्धनको सहमति विपरीत लोसपाका तुलसी चौधरीले गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका वेचन चौधरी बिरुद्ध उम्मेदवारी दर्ता गराएका छन् । सोही प्रदेशसभा क्षेत्रबाट पूर्वमन्त्री एवं कांग्रेस नेता हेमराज तातेडले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा क्षेत्र नं ३ को ‘क’ मा एकीकृत समाजवादीका अनिल कुमार गुप्ताले स्वतन्त्र तथा ३ को ‘ख’ मा गठबन्धनको सहमति विपरीत लोसपाका गजेन्द्र मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै प्रदेशसभा क्षेत्र नं. ४ को ‘ख’ मा एमाले–जसपा गठबन्धनका आधिकारीक उम्मेदवार जसपाका अभिषेक यादवविरुद्ध एमालेकी ललिता कुमारी लता तथा जसपाका अनिरुद्ध प्रसाद सिंह यादवले बागी उम्मेदवारी दिएका छन् । यस्तै सोही क्षेत्रमा कांग्रेस सहितको पाँच दलीय गठबन्धनबाट कांग्रेसका उम्मेदवार रहेका इन्द्रदेव यादव विरुद्ध कांग्रेसकै रामलखन साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको सहमति अनुसार भागमा परेको सिटमा सहमती विपरीत गठबन्धन दल भित्रकै पार्टीले अर्काे उम्मेदवार उठाउनु उपयुक्त नहुने कांग्रेसका केन्द्रीय सदस्य यादवको भनाइ छ । “केन्द्रमा सहमति भए पनि जिल्लामा विथोल्नु उचित होइन, उनले भने–‘यसबारे गठबन्धन दलका शीर्ष नेताका साथै स्थानीयस्तरमा पनि पहल सुरु भएको छ ।” नामावली सच्याउने र उम्मेदवारी फिर्ता लिने समय २ दिन बाँकी भएकाले समस्या समाधान हुने विश्वास गरिएको छ, उनले भने । यसैबीच सोमबार नेपाली कांग्रेस सप्तरीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धनबाट दिइएको साझा उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका कांग्रेसका बागी उम्मेदवारलाई आ–आफ्नो उम्मेदवारी फिर्ता लिन अनुरोध गरेको छ । सचिव सनत कुमार मण्डलद्वारा जारी प्रेस विज्ञप्ति मार्फत उम्मेदवारी फिर्ता नलिए विधान अनुसार कारवाही गरिने समेत सचेत गराइएको छ । आसन्न निर्वाचनका लागि जिल्लामा ४ लाख १८ हजार ३ सय ७४ मतदाता छन भने ५ सय ३६ मतदान केन्द्र तोकिएको छ ।


