२०७९ आश्विन २६, बुधबार ०६:५४

दशैंको अवसरमा विभिन्न शक्तिपीठहरुमा श्रद्धालु भक्तजनले दान, दक्षिणा, सुन चाँदीका गरगहना र नगद चढाउने गरे पनि यसको हिसाब किताब दुरुस्त राख्ने र हरेक वर्ष सार्वजनिक गर्नेमा केही मात्र मन्दिर समिति पर्ने गरेका छन् ।

सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर समितिले भने दशैं सकिएपछि प्रत्येक वर्ष दशैंका बेला श्रद्धालु भक्तजनबाट प्राप्त हुने आम्दानी र खर्च विवरण सार्वजनिक गर्ने गरेका छन् । यसै क्रममा मंगलबार छिन्नमस्ता मन्दिर समितिले पत्रकार सम्मेलनको आयोजना गरी यस पल्ट दशैंको अवधिमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । छिन्नमस्ता भगवती मन्दिर विकास समितिका पिठाधीशसमेत रहेका कार्यवाहक अध्यक्ष महाकान्त ठाकुरका अनुसार यस पल्ट विभिन्न भक्तजनबाट १५ लाख २५ हजार ७ सय ८५ रुँपैया आम्दानी प्राप्त भएको छ । उनले दशैंको बेला १० दिनको अवधिमा ४ हजार ५ सय ४ पशुबली प्रदान भइ बलि शुल्कबाट ४ लाख ६८ हजार ९ सय ३६ रुँपैया आम्दानी भएको जानकारी दिए । यस्तै गाडी पूजनबाट ५१ हजार १ सय २८, मुन्डनबाट १३ हजार ६ सय, पार्किङ शुल्कबाट ३७ हजार ९९, दाताहरुबाट नगद सहयोग २५ हजार ३ सय ७६, धर्मशालाबाट ६ हजार ८ सय, फुटकर पसलबाट ८१ हजार ९ सय ५०, विवाह शुल्कबाट ६ हजार ४ सय, दान पेटिकाबाट ७२ हजार ८ सय ९६, शीघ्र दर्शन शुल्कबाट ७ लाख ५९ हजार ६ सय ८० र पिकनिकका लागि आएका धार्मिक पर्यटकबाट १ हजार ९ सय २० रुँपैया आम्दानी भएको जनाइएको छ । यस्त,ै यस अवधिमा मन्दिरको रंगरोगन, सजावट, सरसफाइ, मर्मत सम्भार, अतिथि सत्कार, स्वयमसेवक खर्च, कर्मचारीको दशैं खर्च लगायतका शीर्षकमा ११ लाख ८८ हजार रुँपैया खर्च भइ ३ लाख ३७ हजार ७ सय ८५ रुँपैया बचत भएको र सो रकम बैंकमा रहेको मन्दिर समितिको खातामा जम्मा गरिसकिएको मन्दिर समितिका सदस्य राजकुमार ठाकुरले बताए ।

यस अवधिमा विभिन्न भक्तजनले एक तोला एक आना सुन र ४३ तोला चाँदीका गरगहनासमेत चढाएको पीठाधीश ठाकुरले जनाए । छिन्नमस्ता भगवतीको पुरानो चाँदीको मुकुट परिवर्तन गरिएको सन्दर्भमा राखिएको जिज्ञासाको जवाफमा पीठाधीश ठाकुरले मुकुट पुरानो र ठाउँ ठाउँमा भत्किएकोले त्यसलाई सुरक्षित राखी सोही डिजाइनको अर्को नयाँ मुकुट राखिएको बताए । सवा दुई किलो चाँदीको नयाँ मुकुट काठमाण्डु का सुशील दाहालले यस पल्ट दशैंको बेला उपलब्ध गराएको र देवी माताको मुकुट सोही डिजाइनमा सुनको बनाउने योजना रहेको सुनाउँदै यस कार्यमा सबैको सहयोगको अपेक्षा राखिएको बताए । नेपाल तथा भारतका हिन्दु धर्मावलम्बी माँझ ख्याति प्राप्त यस मन्दिरमा विशेष गरी दशैंका बेला ठूलो संख्यामा भक्तजनहरु आउने गरेका छन् । जिल्लामा माँ कंकालिनी, राजदेवी र भगवती लगायतका शक्तिपीठहरु छन् ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News