महोत्तरी जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा चुनावी माहौल तातेको छ ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुर फेरि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट नै प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
ठाकुरले प्रदेश ‘क’बाट अभिराम शर्मालाई र प्रदेश ‘ख’बाट रानी शर्मालाई उम्मेदवार बनाएका छन् ।२०७४ सालको चुनावमा तीनै जना विजयी भएका थिए । सत्तारुढ गठबन्धनबाट ठाकुरको उम्मेदवारी रहे पनि प्रदेशमा भने माओवादी केन्द्रका नेता रामकुमार शर्माले विरोध जनाएका छन् ।प्रदेश ‘ख’बाट उम्मेदवारी दिएका शर्माले सो क्षेत्रबाट गठबन्धनको निर्णय विपरीत ठाकुरले रानी शर्मालाई उम्मेदवार बनाएको आरोप लगाएका छन् ।तर रामकुमार शर्माको उम्मेदवारी पार्टीले फिर्ता लिएकाले उनी आक्रोशित बनेका छन् । क्षेत्र ३ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका प्रमुख ४ उम्मेदवार नै कांग्रेस परित्याग गरेर अन्य दल रोजेका हुन् ।लोसपाका अध्यक्ष रहेका ठाकुरपनि कांग्रेसका पूर्व नेता हुन् ।जनता समाजवादी पार्टी(जसपा)बाट उम्मेदवारी दिएका हरिनारायण यादव पनि कांग्रेसका पूर्व नेता हुन् । जसपामा हुञ्जेल ठाकुरका बलियो सहयोगी मानिने वृषेश चन्द्र लालले तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)का हाल अध्यक्ष हुन् ।पूर्व कांग्रेसी नेता रहेका लाल पनि सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । स्वतन्त्र उम्मेदवारी दिएका रामअधार कापर पनि कांग्रेसका पूर्व नेता हुन् ।पछिल्लो समय माओवादी केन्द्रमा रहेका कापरले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
२०७४ सालको संसदीय निर्वाचनमा ठाकुरले २६ हजार ८ सय ४५ मत प्राप्त गरेका थिए । जसपा र कांग्रेसको पूर्ण समर्थन पाएका ठाकुरले तत्कालिन एमालेका उम्मेदवार विजय चौधरीलाई १८ हजार १ सय ६९ मतको फराकिलो अन्तरले पराजित गरेका थिए ।चौधरीले ८ हजार ६ सय ७६ मत प्राप्त गरेका थिए । हाल एमालेले जसपालाई साथ दिइरहेको छ ।एमाले र जसपा गठबन्धनले स्थानीय तहको चुनावमा कुल २४ हजार ७ सय ८८ मत प्राप्त गरेको छ ।तर सत्तारुढ गठबन्धनको ३३ हजार ५ सय ६८ मत रहेको छ ।स्थानीय तहको मत अन्तर ८ हजार ७ सय ८० रहेको छ । सत्तारुढ गठबन्धनबाट अलग रहेका तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले ठाकुरलाई पर्ने मत नै बढी काट्ने छन् । प्रतिस्पर्धामा लाल अगाडि रहेको उनका सहयोगी विभा ठाकुरले बताइन् । माओवादी केन्द्रबाट अलग भएर स्वतन्त्र उम्मेदवारी दिएका कापर पनि प्रतिस्पर्धामा रहेका छन् । उनलेपनि सत्तारुढ गठबन्धनको मत काट्ने बताइएको छ । लोसपाका नेता समेत रहेका मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले अहिले देखिएको अवस्था चुनावको अन्त्य सम्म नरहने बताउँदै चुनावको तिथि नजिकिने क्रमसँगै ठाकुरको अवस्था बलियो हुने दाबी गरे । ‘ठाकुरको संभवतःयो अन्तिम चुनाव हो’ उनले भने, त्यसकारण क्षेत्रका मतदाताहरुले उनको पक्षमा मतदान गर्ने छन् । जसपाका उम्मेदवार यादवले आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् ।उनले एमाले र जसपाको मतका अतिरिक्त कांग्रेस, माओवादी र लोसपाकै मत पनि प्राप्त हुने विश्वास व्यक्त गरे । गत चुनावमा पनि कांग्रेसले उम्मेदवार फिर्ता लिएर ठाकुरलाई सघाएको थियो । हाल पिपरा गाउँपालिका र जलेश्वर नगरपालिकामा जसपाको कब्जा छ ।
जसपाले सन्तुलनका लागि प्रदेश ‘क’बाट दिपेन्द्र झालाई उम्मेदवार बनाएको छ ।त्यहाँ उनको स्थिति सुधारोन्मुख रहेको बताइन्छ । ठाकुरलाई पनि गत चुनाव जस्तो अवस्था नरहेको उनका समर्थकहरुलेपनि स्वीकार गर्न थालेका छन् ।उनीहरुले जित निश्चित रहे पनि मतान्तर कम रहने अनुमान गरेका छन् । कांग्रेसले उम्मेदवार नउठाए पनि प्रतिस्पर्धामा रहेका चारै जना उम्मेदवार कांग्रेसका पूर्व नेताहरु नै हुन् । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणी पोखरेल र एमालेबाट लक्ष्मी महतोबीच प्रतिस्पर्धा छ ।महतोले उम्मेदवारी दिनेबेला जसपा छाडेर एमालेको टिकट लिएका थिए ।तर जसपाले पनि उनलाई सहयोग गरिरहेको छ । निर्वाचन क्षेत्र नम्बर २ मा शरतसिंह भण्डारी फेरि जित्ने बलियो संभावना छ ।उनी सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका छन् ।एमालेका डा.रामपरीक्षण यादवले भने उनलाई कडा टक्कर दिने बताइएको छ । क्षेत्र नम्बर ४ जसपाका उम्मेदवार डा.सुरेन्द्र यादव र कांग्रेसका उम्मेदवार महेन्द्रकुमार रायबीच प्रतिस्पर्धा छ ।गत चुनावमा डा.यादवले रायलाई पराजित गरेका थिए ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=R9LPU7poSSo


