वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) पर्साले दुइ केन्द्रीय सदस्यसहित आधा दर्जन भन्दा बढी नेतालाई कारवाही गरेपछि पार्टीमा भाडभैलो मचेको छ ।
पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिने ७ जनालाई जसपा जिल्ला कार्य समतिले कारवाही गरेको छ । जनता समाजवादी पार्टी जिल्ल कार्यसमिति पर्साको बुधबार बसेको बैठकले पार्टीको निर्णय विपरीत प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका सात जनालाई कारवाही गरेको छ । जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा जारी गरिएको विज्ञप्तिमा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका सबै नेता कार्यकर्ताहरुलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको उल्लेख गरिएको छ । पार्टीद्वारा कारवाहीमा पर्नेहरुमा जसपाकी केन्द्रीय सदस्य करिमा बेगम, प्रदेश परिषद् सदस्य शिवकुमार साह, प्रदेश समितिका सदस्य जन्नत अन्सारी, गौरीशंकर साह, नेताहरु प्रमोद जयसवाल, मुकेश द्विवेदी र रुपेशमान सिंह रहेका छन् । रुपेशमान सिंह वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिहका भतिजा हुन । पार्टीको केन्द्रीय निर्देशन अनुसार आफ्नो समयमै उम्मेदवारी फिर्ता नलिएकोले आजको मितिबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
जसपाले नेकपा एमालेसँग गरेको गठबन्धनको निर्णय विपरीत कारवाहीमा परेका सातै जनाले पर्सा जिल्लाको विभिन्न क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् । दुइ दिन अघि एमाले र जसपा गठबन्धनको पर्सामा बसेको बैठकले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको थियो । तर बागी उम्मेदवारहरुलाई पार्टीको निर्देशनलाई नमाने पछि सबैलाई कारवाही गरिएको जनाइएको छ । टिकट बितरणमा केन्द्रीय नेतृत्वले गरेको नातावाद, कृपावाद र रकमी लेनदेनको विरोधमै आपूmहरुले स्वतन्त्र उम्मेदवारी दिएको युवा नेता मुकेश द्विवेदीले बताए ।उनेल भने–‘आपूmहरुले पार्टी त्यागेर नै स्वतन्त्र उम्मेदवारी दिएका छौं, त्यो निष्काशनबाट केही फरक पर्ने छैन् ।’ पार्टीका केन्द्रीय सदस्य देखि जिल्लाका सक्रिय नेताहरु बागी बनेपछि एमाले र जसपा पर्साको गठबन्धनमा ठूलो अविश्वास उत्पन्न भएको छ । मुख्यरुपमा पर्सा क्षेत्र नम्बर एकका सांसद एवम् वन तथा वातावरण मन्त्री प्रदीप यादवका सुरु देखि प्रतिद्वन्दी रहेका बिचारी यादवको प्रदेश सभा सदस्य क्षेत्रबाट जन्नत अंसारीको उम्मेवारदीले गठबन्धन भन्दा पनि ठगबन्धन भएको आरोप एमालेका नेताहरुको रहेको छ ।


