![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/10/sahi.jpg)
असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराउने दिन थियो । दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरु आ–आफ्ना क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनु भयो । धनुषामा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउने ९६ जनामध्ये एक थिए–सत्ता गठबन्धन दलबाट धनुषा ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल कुमार झा । झा स्वर्गीय गजेन्द्रनारायण सिंहका सहयात्री थिए । उनले स्वर्गीय सिंहबाटै मधेशवादको दीक्षा प्राप्त गरेका थिए । स्वाभावतः उनलाई मधेश,मधेशी र मधेशवादको बारेमा राम्ररी थाहा हुनु पर्ने हो । यिनै अनिल झासंग मैले सोधेको थिए – कहाँ गयो मधेशवाद ? एक छिनको चुप्पीपछि उनले भने– मधेशवाद स्थापना गर्ने, मधेशको लागि आन्दोलन गर्ने हामी नै पहिला हौं ।
गजेन्द्रबाबूका सच्चा अनुयायी हामी नै हौ । अनि उनले तत्कालीन समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको एकताबारे पनि बेलि विस्तार सुनाए–‘जब एउटा मधेशवादी पार्टी(जसपा) फूटको कगारमा थियो । पार्टी एकता गरेर हामीले त्यो दल र यिनका नेताउपेन्द्र यादव)लाई जोगायौं तर उनै नेताले हाम्रा शीर्ष नेताहरुलाई ६ महिना नबित्दै पार्टीबाट निष्काशन गरे ।’ अनिल झाजीले दिई रहनु भएको भाषण मेरो सवालको जवाफ थिएन । उनी यतिकैमा रोकिनु भएन । दार्शनिक जस्तै राजनीतिको एउटा सिद्धान्त पनि सुनाउनु भयो –‘राजनीतिमा प्वाईन्ट अफ नो रिटर्न हुँदैन ।’ आफूहरु मधेशीशक्तिसंग मिलेर जान तयार रहे पनि प्वाईन्ट अफ नो रिटर्न अनि सिके राउत नेतृत्वको राजनीतिक पार्टीलाई उदण्ड शक्तिको संज्ञा दिएर दुबै समगोत्रीसंग सहकार्य गर्न नसक्ने संकेत गर्नु भयो – मधेशवाद गजेन्द्रबाबूको लाईन हो । जसमा उदण्डताको स्थान छैन । निषेध गरिन्न । अनशन बसेर मांग पूरा गराइन्छ ।’ वल्ल मैले आफ्नो जिज्ञासाको आंशिक जवाफ पाए । मधेशवाद गजेन्द्रबाबूको पथ हो । यसमा हिंसाको स्थान छैन । यो सत्य हो । गजेन्द्रबाबू आफै कुटिनु भयो । लछार पछारमा पर्नु भयो तर अहिंसा परमोधर्म ः भन्दै आफ्नो मार्गमा अडिग रहनु भयो । नमन गजेन्द्रबाबू । तर मुलुकमा संविधान जारी भइ रहदा सिंगै मधेशलाई कांग्रेस,एमाले र माओवादी विरुद्ध उचाल्ने जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी आज कहाँ छन् ? चलु जनकपुर भरु जनकपुरको नारा लगाउँने को थिए ? चलु मलेठ , भरु मलेठ भन्दै उफ्रिने को थिए ? आज यी शक्तिहरु कोसंग सहकार्य गर्दै छन् ? जोसंग मिलेर आन्दोलन गरियो । शहादत दिइयो । जोसंग भाषा,संस्कृति मिल्छ । जसका सुख र दुःख समान छन् । राजनीतिशास्त्रले त्यस्तो शक्तिलाई मित्रशक्ति भन्छ । यस्तो शक्तिसंगको गठबन्धनलाई प्राकृतिक गठबन्धन भन्छ तर जसको विरुद्ध आन्दोलन गरियो । आन्दोलनको क्रममा शहादत दिइयो । जो अझै पनि मधेश र मधेशीको हित विरुद्ध षडयन्त्र गर्दै छ ।
त्यस्तासंगको गठबन्धन अप्राकृतिक गठबन्धन हो । मलाई लाग्छ – मधेशवादले पनि यही भन्छ होला ? नागरिकता समस्या देशका स्थायीसत्ताद्वारा सिर्जित राजनीतिक समस्या हो । यस विषयमा कांग्रेस,एमाले,माओवादी केन्द्र र राप्रपा लगायतका सम्पूर्ण पार्टीहरुको लगभग समान विचार छ । सत्ताका स्थायी खेलाडीहरुले चाहेको भए संविधान जारी भएको सात वर्षमा यो समस्या समाधान नहुने कुरै थिएन । लगभग दुई तिहाई बहुमतको केपी सरकार सुरुका दुृई वर्ष नागरिकता विधेयक किन ल्याएन ? प्रष्ट बहुमत हुँदा हुंदै आफ्नै लाइनमा किन पारित गराएनन् ?संसद विघटनको सिफारिस गरेर अध्यादेशमार्फत किन नागरिकता समस्या समाधान गर्न चाहे ? शेरबहादुर देउवा नेतृत्वको सरकार गठन हुने वित्तिकै नागरिकता विधेयक किन ल्याएन ? संसदको अवधि समाप्त हुने बेला किन ल्याए ? संविधानले प्रष्ट बोलेको छ । दोश्रो पटक दुबै संसदबाट पारित भइ गएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नै पर्छ तर भएन । यस विषयमा प्रमुख प्रतिपक्षी एमाले राष्ट्रपतिको पक्षपोषणमा किन उत्रे ? नेपाली कांग्रेस किन रक्षात्मक भए ? समस्या वीज जस्तै हो । जो आफू अनुकूल वातावरणको पर्खाइमा हुन्छ । वातावरण अनुकूल हुने वित्तिकै सर्लकै विरुवाको रुपमा विकसित हुन्छ । मधेश र मधेशीकोमात्र होइन, मुलुकका आदिवासी जनजाति, महिला, अल्पसंख्यक, मुस्लिमलगायतका जात जाति, वर्ग र सम्प्रदाय अझै पनि समस्याग्रस्त छन् ।
पारम्परिक भनिएका नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र तथा वैकल्पिक शक्ति भनिने लोसपा र जसपाले धनुषामै तोकेका उम्मेदवार हरुको अनुहार हेर्नोस् – उम्मेदवारहरुको सूचीमा कति जना महिला अटाएकी छन् ? कति जना दलित,मुसलिम र अल्पसंख्यक समुदायका मानिस अटाएका छन् ? मधेशवाद भनेको समानताको खोजी हो । समानुपातिकताको खोजी हो । आफ्नो भाषा, साहित्य, कला,संस्कृतिसंगै पहिचानको ग्यारेन्टी गराउने वाद हो । उम्मेदवारहरुको सूची हेर्दै आज मलाई भन्न मन लागेको छ – कहाँ गयो मधेशवाद ??