अपडेट 
२०७९ आश्विन ३०, आईतवार ०६:५६

मधेश प्रदेशका जिल्लाहरूमा स्वास्थ्य वीमाको अवस्था सन्तोषजनक देखिएको छैन । मधेश प्रदेशका जिल्लाहरूमा कुल जनसंख्याको ७ प्रतिशतले मात्र स्वास्थ्य वीमा गराएका छन् ।

स्वास्थ्य निर्देशनालयद्वारा आयोजित वार्षिक समीक्षा कार्यक्रममा सो जानकारी दिइएको हो । तथ्यांक अनुसार प्रदेशको कुल जनसख्ंया मध्ये ४ लाख १२ हजार ९ सय ९४ जनाले मात्र स्वास्थ्य वीमा गराएका छन् । मधेश प्रदेशमा करिब ६२ लाख जनसंख्या रहेको छ । देशको बागमती प्रदेशपछि सबै भन्दा बढी जनसंख्या मधेश प्रदेशमा रहेको छ । यति मात्र नभएर गरिबी तथा अशिक्षाको दृष्टिकोणले मुलुककै अग्रणी प्रदेशमा रहेको छ । प्रदेशको समग्र मानव सूचकाङ्कको दृष्टिकोणले निक्कै पछाडि परेको छ । त्यस कारणले पनि प्रदेशमा स्वास्थ्य वीमाको अवस्था दयनीय रहेको जनाइएको छ । नेपालको संविधान २०७२ ले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु आम जनताको मौलिक हकको रुपमा रहेकाले स्वास्थ्यमा आम जनताको पहुँच बढाउनका लागि नेपाल सरकारले स्वास्थ्य वीमालाई ठूलो माध्यम बनाएको छ । २०७४ साल माघ २५ गते मधेश प्रदेशको महोत्तरी जिल्लाबाट स्वास्थ्य वीमा कार्यक्रम लागु गरेर अहिले प्रदेशका ८ वटै जिल्लामा विस्तार भएको छ । स्वास्थ्य वीमा गराउने मध्ये २ लाख १० हजार ७ सय १४ पुरुष र २ लाख २ हजार ५ सय ८० महिला रहेको स्वास्थ्य वीमा बोर्डका प्रादेशिक कार्यालयका प्रमुख मनोज पौडेलले जानकारी दिए ।

स्वास्थ्य वीमा गराएकाहरूले पनि पुनः दर्ता नगराउने पनि ठूलो समस्याको रुपमा रहेको छ । मधेश प्रदेशका सरकारी तथा नीजि गरेर ८ वटै जिल्लामा ४८ वटा स्वास्थ्य संस्थाहरूले बिमा गर्ने गरेका छन् । जिल्ला स्तरमा सबै भन्दा बढी स्वास्थ्य वीमा सिरहा जिल्लामा भएको छ । सिरहा जिल्लामा कुल वीमित मध्ये १ लाख ५ हजार ४ सय जनाले वीमा गराएका छन् । सबै भन्दा कम सर्लाही जिल्लामा वीमा गराउनेहरू रहेका छन् । सर्लाही जिल्लामा २३ हजार ६ सय ५५ जनाले वीमा गराएको पनि वीमा वार्डको प्रादेशिक कार्यालयले जानकारी दिए । सिरहा जिल्लामा विपन्न समूहमा पर्ने १ हजार ८ सय १४ जनाले वीमा गराएका छन् । यता स्वास्थ्य वीमा गराउनेले उपचार नपाएका कारणले वीमाप्रति सर्वसाधारणको रुचि बढ्न सकेको छैन । वीमा गर्ने संस्थाले अस्पतालले गरेको वीमितको उपचार खर्च समयमा नतिर्ने गरेका कारणले वीमा गराउनेको गति मधेश प्रदेशमा मन्द रहेको छ । वीमाप्रति स्थानीय सरकारका प्रमुखहरू इमान्दार नबनेका कारणले वीमा कार्यक्रम राम्रो भए पनि गति लिन नसकेको वीमा बोर्डको निष्कर्ष रहेको छ ।

स्वास्थ्य वीमा कार्यक्रमलाई सफल बनाउनका लागि सबै पक्षको संयुक्त सहकार्य हुन आवश्यक रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशक विजय कुमार झाले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News