अपडेट 
२०७९ आश्विन ३०, आईतवार ०७:१२

उम्मेदवारी दर्तासँगै सप्तरीको अन्य क्षेत्र जस्तै निर्वाचन क्षेत्र नं. १ मा पनि चुनावी माहोल तातेको छ ।

पछिल्लो प्रतिनिधिसभाको चुनावमा यस क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) का डा. सूर्य नारायण यादव निर्वाचित भएका थिए । यसपल्ट जसपा–एमाले गठबन्धनबाट जसपाका नवलकिशोर साह साझा उम्मेदवारका रुपमा छन् । उनी मधेश प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका छन् । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको आकांक्षी हुँदा हुँदै पार्टीले आफूलाई नसोधि प्रदेशसभा तर्फको उम्मेदवार बनाएपछि रुष्ट भएका पूर्वसंविधानसभा सदस्य एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अशोक कुमार मण्डल पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । यहाँ जनमत पार्टीबाट जयकान्त राउत, मंगोल नेशनल अर्गेनाइजेशन पार्टीबाट पदमबहादुर राना, नेमकिपाबाट विष्णुदेव यादव, नागरिक उन्मुक्ति पार्टीबाट टिका लक्ष्मी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नागेश्वर प्रसाद साह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निरन्जन कुशवाहा, नेपाल लोकतान्त्रिक पार्टीबाट श्रवणकुमार थारु पनि चुनावी मैदानमा छन् ।

यस्तै, स्वतन्त्रबाट कविन्द्र यादव, सर्वेन्द्र नायक, नारायण ठाकुर, विद्यानन्द लेखी , दीलिप चौधरी, प्रकाश नाटाहा, फजिल मन्सुरी, डा. रोहीत पोखरेल गरी कुल २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा सप्तकोशी नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र अग्निसाइर कृष्णासवरण गाउँपालिका गरी पाँच पालिका पर्दछ । जसमध्ये पाँच महिना अघि सम्पन्न स्थानीय तहको निर्वाचनमा तीन पालिकाका प्रमुखमा नेपाली कांग्रेस र एक–एक पालिकामा जनमत तथा एमालेका उम्मेदवारले प्रमुख पदमा जितेका छन् । यस आधारमा आफ् नो जित सुनिश्चित रहेको सत्ता गठबन्धनका साझा उम्मेदवार रामदेव साहको दाबी छ । जसपा–एमाले गठबन्धनले नवलकिशोर साहलाई चुनावी मैदानमा उतारेको छ ।

मधेश प्रदेशका सामाजिक विकास मन्त्रीसमेत रहेका साहले यस क्षेत्रमा गरेको दर्जनौं विकासका कामलाई आधार बनाएर जित सुनिश्चित गर्ने दाउमा छन् । अघिलो चुनावमा प्रदेश सभा सदस्य पदमा जितेका साह आफूले स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, कृषिलगायतको क्षेत्रमा गरेको विकास निर्माण कार्यको मुल्याकंन, मतदाताले गर्ने र प्रतिनिधिसभा सदस्य पदमासमेत मौका दिने कुरामा आफू पूर्ण आशावादी रहेको बताउछन् । जसपाका जिल्ला अध्यक्ष केदार यादव पनि परिपक्व र जिम्मेवार उम्मेदवार पाएकाले जनता माझ जान सजिलो भएको बताउछन् । यहाँ सत्तारुढ गठबन्धनका बागि उम्मेदवार नेकपा माओवादी केन्द्रका अशोककुमार मण्डलको उपस्थितिले सत्तारुढ गठबन्धनका आधिकारीक उम्मेदवार रामदेव साहको केही मत काट्ने र यसको लाभ जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार नवलकिशोर साहले पाउन सक्ने आकलनसमेत गरिएको छ । तर मण्डलले भने आफू सत्तारुढ गठबन्धन र विपक्षी गठबन्धन दुबैको मत तानेर जित निकाल्ने दाबी गर्छन् । “निराश जनतालाई आशा दिालाउने गरी रणनीति बनाएर चुनावी मैदानमा छौं, उनी भन्छन्, मेरो परम्परागत भोट सुनिश्चित छ, यसका साथै सत्तारुढ गठबन्धन, विपक्षी गठबन्धन र अन्य पार्टीमा आवद्ध थुप्रै नेता कार्यकर्ताको साथ र सहयोग पनि छ ।” प्रतिनिधिसभा निर्वाचनलाई नजिकबाट नियालि रहेका राजनीतिक विश्लेशकहरु यीनै तिन जना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान व्यक्त गरिरहेका छन् ।

यस क्षेत्रबाट रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदबाट राजिनामा दिँदै डा( रोहित पोखरेल पनि स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । उनी तीनै जना मुख्य प्रतिस्पर्धीको मत विभाजन भइ एउटा समुदायको एकलौटी मत प्राप्त गरी जित निकाल्ने दाउमा छन् । यहाँ अन्य साना दल र स्वतन्त्र उम्मेदवार भए पनि उनीहरु उपस्थितिमै सीमित हुने आकलन गरिएको छ । यस क्षेत्रमा ५८ हजार दुई सय २९ पुरुष, ५४ हजार ९ सय ५८ महिला र अन्य ८ गरी कुल १ लाख १३ हजार एक सय ९५ मतदाता छन् । यो जिल्लाकै चारवटा निर्वाचन क्षेत्र मध्ये सबभन्दा बढी मतदाता रहेको क्षेत्र हो ।

Please subscribe our official youtube channel and support us.

Comment


Related News

Latest News

Trending News