प्रहरीले चेकजाँचमा कडाइ तथा सीमानाका क्षेत्रमा निगरानी बढाएसंगै दिनहुँजसो चोरी पैठारी गरी ल्याइएका विभिन्न अवैध सरसामान पक्राउ पर्ने क्रम बढेको छ ।
अघिल्लो दिन भन्सार छली ल्याइएका १ लाख भन्दा बढीको सरसामान पक्राउ गरी प्रहरीले भन्सार कार्यालयलाई बुझाएको छ । त्यस्तै, बिहीबार ८९ हजार ८ सय ५० रुपैया भन्दा बढीको अवैध सरसामान भन्सार कार्यालयमा बुझाएको छ । डिएसपी एवं जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी नरेश कुमार सिंहका अनुसार भन्सार छलेर भारतबाट ल्याइएका ८९ हजार ८ सय ५० रुपैया भन्दा बढीको किराना, लताकपडा तथा भाडा वर्तन लगायतका अवैध सरसामान राजविराज नगरपालिका ८ स्थित सडक खण्डमा चेकजाँचको क्रममा बरामद गरिएको हो । प्रहरी देख्नासाथ तस्करहरु भने उक्त समान छाडेर भागेको उनले बताए । बरामद समान आवश्यक प्रकृया पूरा गरी तिलाठी स्थित राजविराज भन्सार कार्यलयमा बुझाइएको छ । प्रहरीले यस अघि बुधवार पनि छिन्नमस्ता गाउँपालिका क्षेत्रबाट ५८ हजार २ सय ३६ तथा मंगलवार १ लाख भन्दा बढीको भन्सार छलेर ल्याइएका अवैध सरसामान जफत गरी भन्सार कार्यालयमा बुझाएको थियो ।
प्रहरीले चालु आ.व.को ३ महिनाको अवधिमा ९९ लाख ३४ हजार ३ सय ८३ रुपैया मूल्य बराबरको भन्सार छलीका विभिन्न सामान बरामद गरेको छ । प्रहरी उपरीक्षक अविनारायण काफ्लेका अनुसार गत आ.व.२०७८÷०७९ मा २ करोड ६२ लाख ७५ हजार ८ सय ८९ रुपैया बराबरको अवैध सरसामान जफत गरी भन्सार कार्यालयमा बुझाइएकोमा चालु आ.व.०७९÷०८० को साउन, भदौ, असोज गरी ३ महिनामा ९९ लाख ३४ हजार ३ सय ८३ रुपैया बराबरको भन्सार छलीका अवैध सरसामान बरामद गरिएको छ । खुल्ला सीमा नाकाको प्रयोग गर्दै तस्करहरुले भारतीय बजारबाट नेपाली वजारमा चोरी पैठारी गर्दै मालसामानहरु भित्र्याइ रहेको सूचनापछि चेक जाँचमा कडाइ र निगरानी बढाइएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ छ । भन्सार छलेर ल्याइएको सरसामानमा सबभन्दा बढी किराना, पान मसाला, लताकपडा र इलोक्ट्रोनिक्सका सरमासनहरु रहने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै तीन महिनाकै अवधिमा अवैध सरसामान ओसार पोसारमा प्रयोग गरिएका तथा भन्सार नकाटी संचालन गरिएका ठूलो संख्यामा सवारी साधनसमेत जफत गरी भन्सार चलान गरिएको छ । ३ महिनाको अवधिमा यसरी जफत गरीएका सवारी साधनहरुमा सबैभन्दा बढी ७६ वटा मोटरसाइकल छन । यस्तै, टेम्पो अटो ३, पिकअप भ्यान र सिटी रिक्सा २÷२ र १÷१ वटा कार तथा ट्रकसमेत नियन्त्रणमा लिइ भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



