धनुषामा तस्करीको सरसामान ओसार पसार गर्न तस्करहरुले बिरामी बोक्ने एम्बुलेन्सको प्रयोग गरेको पाइएको छ ।
बिहीबार बिहान जनकपुरधामबाट एम्बुलेन्समा लोड गरिएको अवस्थामा तस्करीको सरसामानहरु प्रहरीले नियन्त्रणमा लिएपछि रहस्य बाहिरिएको छ । प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१७ कटरैतबाट तस्करीको सरसामानसहित एम्बुलेन्स नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
बिहान ४ बजेको समयमा सो ठाउँमा केही स्थानीय र सो एम्बुलेन्स चालकबीच बादविवाद भइरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले श्री माई भ्याली बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित मे.१ च. ३५० नम्बरको एम्बुलेन्समा भारतको जयनगरबाट जनकपुरधामतर्फ अवैध रुपमा भन्सार छली गरी चोरी पैठारी जस्ता किरानाजन्य सामान तथा विभिन्न किसिमका पटाकाहरु लोड रहेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेका सरसामानहरु अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र उक्त एम्बुलेन्स तथा सरसामान बिहीबार नै पठाइएको छ । यता, उक्त एम्बुलेन्स धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका वीरेन्द्र सिंह दनुवारको नाममा दर्ता रहेको नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेश प्रसाद सिंहले जानकारी दिए ।


