अपडेट 
२०७९ कार्तिक ५, शनिबार ०६:४८

निर्वाचन जति जति नजदिकिदै छ, उम्मेदवारहरुको चुरिफुरी त्यही अनुपातमा बढदो छ । जातीय संघसंघटनदेखि पार्टीका शुभेच्छुक संघ संस्थासम्म सक्रिय छन् । आकर्षक नारा, घोषणा र प्रतिबद्धताको बाजार गरम छ । गाउ, टोल, नगर, डगर विभिन्न रंगको बैनर, ध्वजा, पताकाले रंगिएका छन् । उम्मेदवारहरुको घोषणा र प्रतिबद्धतापत्र पढदा, सुन्दा र देख्दा लाग्छ– ‘को बड छोट, कहत अपराधु’ अर्थात् कुनै उम्मेदवार कम छैनन् । सबै एकसेएक । आम मतदाता असमञ्जसमा छन् – यी महावीरमध्ये कसलाई भोट हालौं, कसलाई नहालौं । योग्यहरुको बीचमा एकलाईमात्र छान्नु भनेको अर्को योग्यसंग अन्याय गर्नु सरह हुनेछ । फराकिलो हृदय भएका मतदाता भन्दैछन् –निर्वाचन आयोगले सबैलाई मत हाल्ने व्यवस्था गरिदिएको भए कति जाति हुन्थे ? न कसैसंग रिस राग हुने । न कोहि हार्ने अनि समाजिक सद्भाव पनि कायम रही रहने । ६ सय १ सदस्यीय संविधानसभा देखेका नेपालीका लागि ६ हजार १ सदस्यीय प्रतिनिधिसभा कुनै नौलो विषय भएन । तर अर्काथरि मतदाताहरु राम्रा उम्मेदवारको खोजीमा भौतारि रहेका छन् । अलि जान्ने बुझ्ने । न्यूनतम् नैतिकता प्रदर्शन गर्न सक्ने । देश विदेश बुझेका अनि आफ्नो क्षेत्रका हावा – पानी, रहन–सहन, रिति–थिति, दुःख–दर्द बुझेका उम्मेदवारको खोजीमा छन उनीहरु । नभेंटेपछि उनीहरु निर्वाचन आयोगसंग गुहार लगाउँन थालेका छन् – हामीलाई ‘ नो भोट’को अधिकार दिनोस । एक पटक जितेपछि पाँच वर्षका राजा बन्नेहरुलाई फिर्ता बोलाउँने अधिकार अर्थात् ‘राईट टू रिकल’को प्रावधान राख्न निर्वाचन आयोगसंग हार गुहार गर्दैछन् । पटक पटक जितेर, सरकारमा गएर पनि मुलुकलाई लिकमा ल्याउन सक्ने सदाबहार नेताजीहरुलाई तह लगाउँन नो भोट अर्थात् राईट टू रिजेक्ट र राईट टू रिकलको व्यवस्था राख्नु आवश्यक भएको छ । चुनावी मैदानमा उत्रिनु पूर्व राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु मतदातासंग लिखित तथा मौखिक प्रतिबद्धता व्यक्त गर्ने परम्परा छ । जसलाई सरल भाषामा घोषणापत्र वा प्रतिबद्धता पत्र भनिन्छ ।

आफ्नो घोषणापत्र मार्फत दल तथा उम्मेदवारहरु पाँच वर्षे कार्यकालको स्वेतपत्र जारी गर्छन् – शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य योजना ल्याउने छु । नागरिकताविहीनलाई नागरिकता दिलाउँने छु । सडक, नाला, कुलोको संजाल बनाउँने छु । विदेश जाने बाध्यतालाई अन्त्य गरी देशमै रोजगारीको मूल फुटाउने छु । सामाजिक सद् भाव र राष्ट्रिय एकतालाई सबल बनाउँने छु, जनकपुरधामलाई पर्यटकीय गन्त्व्य बनाउँने छु । मठ मन्दिरको जग्गा संरक्षण र सौन्दर्यकरण गर्ने छु । जनकपुरधामलाई स्वच्छ, सफा र सम्मुन्त नगर बनाउने छु । लैण्डफिल साईटको व्यवस्थापन गर्ने छु । ….आदि आदि,’ आदरणीय मतदाताहरुसंग मेरो सहज सवाल छ – ‘यी र यस्ता आश्वासन(घोषणा) यस अघि सुन्नु भएको हो कि होईन ? हो, भन्ने आज यिनै आश्वासन लिएर मत माग्न आउँने दल र उम्मेदवारहरुसंग हजुरहरुले सोध्नु परेन – गत निर्वाचनमा गरेको वाचा खोई पूरा गरेको ? पटक पटक उही आश्वासन लिएर मत माग्न आउँदा लाज लाग्दैन ? आफ् नो आश्वासनसम्म स्मरण राख्न नसक्ने नेता हामी हजारौं मतदाताको अनुहार कसरी सम्झि रह्न सक्छ ? पटक पटक एउटै आश्वासन बाड्नेलाई भोट दिन्न । २०१५ सालमा मुलुकमा पहिलो आम निर्वाचन भएको थियो । नेपाली कांग्रेस दुई तिहाई बहुमत लिएर सरकार बनाएको थियो । थोर बहुत सिट कम्युनिष्ट र राजावादीहरुलेपनि जितेका थिए । तर २०१५ सालमा यी दलहरुले मतदाता सामु गरेका अनेकौ वाचा अझैसम्म पूरा गर्न सकेका छैनन् । त्यतिवेलाका राजनीतिक दलहरुले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारीआदिलाई प्राथमिकता दिएर घोषणापत्र जारी गरेको थियो । समाजवादको परिकल्पनासमेत गरिएको थियो तर पहिलो आम निर्वाचन भएको ६४ वर्षपछि पनि मुलुकका अन्नदाता किसानहरु समयमा मल, बीउ पाउन सकेका छैनन् । सिंचाइको समुचित व्यवस्था हुन सकेको छैन । शिक्षा र स्वास्थ्यको अवस्थामा थोर बहुत सुधार भए पनि लाखौं छात्र विदेश पढन जादैछन् । लाखौं नेपाली विदेशी भूमिमा रोजगारी गर्दै छन् । यस अवधिमा सात वटा संविधान निर्माण भए । पटक पटक व्यवस्था परिवर्तन भयो तर मुलुकको स्थायी सत्तामा कुनै परिवर्तन आएन । सत्तासंग टांसिएर केही जनाको जीवनमा सुधार भएको होला तर आम नेपाली अझै पनि सत्ताको स्वाद चाख्न सकेका छैनन् । यसका धेरै कारणहरुमध्ये एक हो –‘ नयाँ बोतलमा पुरानै शराव । ’ व्यवस्था परिवर्तन भए पनि उहि नेता र यिनका सखा सन्तानहरु स्थायी सत्ताका हकदार भए । आम मतदाताको पहुंच नेतृत्वसम्म हुन सकेन । एक आध पुगे पनि सत्ता र भत्तामै रमाए । मतदाता भने ठन ठन गोपाल ।

अचेल आदरणीय मतदाताहरुको घर दैलोमा उम्मेदवारहरुको ओइरो लागेको होला । पाँच वर्षसम्म दर्शनसमेत नदिएका यी नेताजीहरुमध्ये कोही साष्टाङ दण्वत गर्दै होलान् । कोही चप्पलको फित्ता लगाउँदै होलान् । कोही तपाईको भान्सा कोठामै पुगेर संगै खाना खाई रहेका होलान् । फेरि उहि वासी प्रतिबद्धता दोहराई रहेका होलान् । आदरणीय मतदाताहरुसंग अनुरोध उनीहरुसंग सोध्नोस् –हजुरलाई किन भोट दिने ? यदि उनीहरुले वासी प्रतिबद्धता दोहोराउनु भो भने भन्नु होस् –अर्को चुनावको प्रतीक्षा गर्नोस् । विश्वासिलो नयाँ कुरा गर्नु भयो भने आशीर्वाद दिनु होस् ।

Comment


Related News

Latest News

Trending News