रौतहट । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रौतहटमा चुनावी सरगर्मी बढेको छ । जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेसंगै जनताको घरदेलौमा पुगेर मत माग्न थालेपछि जिल्लाको चुनावी माहोल तातेको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित विभिन्न पार्टीका केन्द्रीय नेताहरू चुनावी प्रतिस्पर्धामा रहेकाले जिल्लामा यतिबेला चुनावी माहोल तातेको छ । चुनावी तयारीलाई तीव्र पारेको सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमाले–जसपा गठबन्धन छुट्टाछुटै बैठक, भेला र घरदैलोलाई तीव्रता दिएका छन् । उम्मेदवारले आफ्नो र दलको एजेण्डा बोकेर जनतामाझ पुग्न थालेका छन् । उम्मेदवारहरुलाई यतिखेर मतदाता भेटन भ्याइ नभ्याइ रहेको छ । आ–आफना विभिन्न चुनावी एजेण्डा लिएर उम्मेदवार विहानदेखि अबेर रातिसम्म जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । जनताको घरदैलोमा पुगि उनीहरु आ–आफना पक्षमा मतदान गरी विजयी गराउन मतदाताहरुलाई आग्रह गरिरहेका छन् । दलका नेता कार्यकर्ता र झण्डासहित उम्मेदवारहरु गाउँगाउँ पुग्न थालेपछि यतिबेला सहरी क्षेत्रमा मात्र नभइ्, ग्रामीण भेगमा पनि चुनावी माहोल बन्दै गएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब सात महिनापछि पुनः अर्काे महत्वपूर्ण जनप्रतिनिधि छनोट गर्ने अवसर आएकाले यसलाई सहीरुपमा सदुपयोग गर्ने तयारीमा मतदाता छन् । यता, राजनीतिक दलको चहलपहलसंगै मतदातामा पनि चासो र चर्चा बढ्न थालेपछि यहाँको निर्वाचनमा माहौल तातिएको छ । छरछिमेकदेखि सार्वजनिक थलोसम्म चुनावी गफगाफ नै बढी हुन थालेको छ ।
विहानको सुरुवात नै कुन दलबाट को जित्ला भन्ने बारेको बहस हुन थालेको छ । अहिले चोकचोकको चिया पसलदेखि लिएर शहर, बजार र ठूलठूला होटलमा चुनावी चर्चा परिचर्चा हुन थालेको देखिएको छ । चुनावी सरगर्मी बढेसँगै आम जनता चुनावमा कस्ले जित्ने र हार्ने बारेमा बहस गर्न थालेका छन् । यसपालिको चुनावमा कुन उम्मेदवार बलियो छ, कुन उम्मेदवारले बाजी मार्ने, कस्ता उम्मेदवारलाई भोट खसाल्ने इत्यादि विषयमा आम मतदाता जोड घटाउमा लागेका छन् । निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल चुनावी मैदानमा होमिएका छन भने नेकपा एमालेबाट गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्ता, जसपाका बागी उम्मेदवार रेवन्त झा लगायतका व्यक्ति चुनावी मैदानमा उत्रेका छन् । माधव नेपाल, अजय गुप्ता र रेवन्त झाबीच कडा प्रतिस्पर्धा हुने आम मतदाताको आकलन छ । त्यस्तै क्षेत्र नं २ मा सत्ता गठबन्धनबाट बम विस्फोट गराएको आरोपमा जेल जीवन बिताइरहेका पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमका जेठो छोरा मोहम्मद फिरदोस आलम र नेकपा एमाले र जसपाको तर्फबाट उम्मेदवारी दिएका जसपाका शैलेन्द्र साह र स्वतन्त्र उम्मेदवार किरण साहबीच प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नं ३ मा एमालेको टिकट अस्वीकार गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्री प्रभु साह चुनावी मैदानमा होमिएका छन भने सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका धीरज पटेल, कांग्रेसका बागी उम्मेदवार ओम प्रकाश जयसवालसहितका
व्यक्ति चुनावी मैदानमा उत्रेका छन । क्षेत्र नं ३ मा दर्जनौ व्यक्ति प्रतिनिधिसभा सदस्यका उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धी प्रभु साह, धीरज पटेल र ओम प्रकाश जयसवाल नै रहेका छन् । यहाँ साह, पटेल र जयसवालबीच कडा भीडन्त हुने मतदाताहरुले बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपासँग चुनावी तालमेल गरेपछि असन्तुष्ट भइ एमाले छाडेका प्रभु साह स्वतन्त्रबाट उम्मेदवारी दिए पनि उनलाई सत्तारुढ गठबन्धनको साथ रहेको भन्दै अनौपचारिक रुपमा चर्चा भइरहेको छ । तर सत्तारुढ गठबन्धनबाट आफू उम्मेदवार रहेको र आफू चुनाव लड्नबाट कुनै हालतमा पछि नह्टने उम्मेदवार पटेलले घोष्णा गरिसकेका छन् । लगातार तीन पटक सांसदमा निर्वाचित प्रभु साहलाई यसवर्ष जसरी पनि हराउन माओवादीका धीरज पटेल र स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवाल कम्मर कसेर लागेका छन । यी तिनै जना उम्मेदवार जित निकाल्न कुनै कसर बाँकी नराख्ने गरी प्रचार प्रसारमा लागेका छन् । त्यस्तै क्षेत्र नं ४ बाट सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका देव प्रसाद तिमल्सिना र एमाले जसपा गठबन्धनका उद्धव रेग्मीबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।


