२०७९ कार्तिक ६, आईतवार ०८:१०

पाँच दलीय गठबन्धनले नेकपा माओवादी केन्द्रका रौतहट क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार धीरज पटेललाई स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गर्न दबाब दिन थालेपछि सत्तारुढ गठबन्धनभित्र खैलाबैला मचेको छ ।

सत्तारुढ गठबन्धनकोतर्फबाट माओवादीका नेता पटेल रौतहट क्षेत्र नं ३ बाट संघीय सांसद पदका लागि उम्मेदवारी दिएका छन् तर सत्ता गठबन्धनले अहिले आएर नेकपा एमालेको टिकट अस्वीकार गरी स्वतन्त्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्री साहलाई समर्थन गर्न पटेललाई दबाब दिन थालेपछि उनी निकै तनावमा परेका छन् । सत्तारुढ गठबन्धनका उम्मेदवार पटेलले पार्टीले आफूलाई फिर्ता भइ स्वतन्त्र उम्मेदवार साहलाई समर्थन गर्ने गरेको निर्णय आफूलाई कुनै हालतमा स्वीकार्य नहुने बताए । पटेलले शनिवार मौलापुर नगरपालिका १ मर्यादपुरमा पत्रकार सम्मेलनको आयोजना गरी गठबन्धनका शीर्ष नेताहरुले साहलाई समर्थन गर्ने निर्णय गरे पनि आफूहरु कदापि साहलाई समर्थन नगर्ने बताए । आफू जनयुद्ध कालदेखि नै माओवादीमा रही पार्टीको लागि ठूलो योगदान गरेको भए पनि पार्टी अध्यक्ष दाहालले आफूसँग कुनै राय सल्लाह नगरी आफ् नो मनोमानी ढंगले पार्टीमा आफूले पुर्याएको सबै योगदान विर्सेर साहलाई समर्थन गर्ने निर्णय गरेर आफूलाई धोका दिने काम गरेको उनले बताए । अध्यक्ष प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताहरुले जिल्लाका कुनै पनि नेतासंग सर सल्लाह नै नगरी आफूलाई फिर्ता हुन र साहलाई समर्थन गर्न गरेको निर्णय आफूहरु कुनै हालतमा स्वीकार नगर्ने उनले दाबी गरे । पार्टी अध्यक्ष प्रचण्डले साहलाई समर्थन गर्ने गरेको निर्णय सच्याउन आग्रह गर्दै पटेलले निर्णय नसच्याए पनि आफनो उम्मेदवारी यथावत नै रहने बताए । आफ्ना व्यक्तिगत स्वार्थ पूर्तिका लागि पटक पटक पार्टी परिवर्तन गर्ने, प्रचण्ड मुक्त देश बनाउनु पर्छ भनी अभिव्यक्ति दिने, हत्या, हिंसा जस्ता कार्यलाई बढावा दिने, भ्रष्टाचार तथा परिवारवादमा लिप्त साहलाई आफनो प्राण रहुन्जेलसम्म समर्थन नगर्ने उनले बताए ।

गठबन्धनका शीर्ष नेताहरु एकातर्फ साहलाई सहयोग गर्न आग्रह गरेको छ भने जिल्लाका गठबन्धनका नेताहरु धीरजले नै गठबन्धनको आधिकारिक उम्मेदवार रहेको भनी प्रचार प्रसार कार्यलाई तीव्रता दिदा गठबन्धनको उम्मेदवार साह हो कि पटेल भन्दै गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ता अलमलमा परेका छन् । माओवादी केन्द्रका नेता मात्र नभइ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्तासमेत साहलाई उम्मेदवार मान्न वा समर्थन गर्ने पक्षमा छैन । शीर्ष नेताहरुले उनलाई समर्थन गर्न भने पनि गठबन्धनका नेताहरु सो निर्णय मान्न तयार नरहेको बुझिएको छ । यहाँका नेताहरु माओवादीका उम्मेदवार पटेललाई नै सघाउने तयारीमा रहेका छन् ।

Comment


Related News

Latest News

Trending News