पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले आइतबार सातौँ दिन पनि चुनावी रोड शो र जनता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
पूर्वमन्त्रीसमेत रहेका यादवले आइतबार क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १५ स्थित भुषुवा र वडा नम्बर १६ स्थित नगवामा रोड शो गरेका थिए । रोड शोका क्रममा यादवले स्थानीयहरुसँग भेटघाट गर्दै देशको विकास, समृद्ध र सुशासन स्थापनाका निमित्त जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार हरुलाई जिताउन आग्रह गरे । यादवले सत्ता गठबन्धनले एकलौटी राज चलाएर देशमा तानाशाह स्थापना गर्न खोजेको आरोप लगाउँदै गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि जसपा–एमालेका उम्मेदवार हरुलाई जिताउनु पर्ने बताए । यादवले आफू सांसद् र सानो समयका लागि मन्त्री हुँदा पनि आफ्नो क्षेत्र र समग्रमा पर्सा जिल्लामा भ्याएसम्म विकास निर्माणका योजनाहरु ल्याएको र पूरासमेत गरेको दाबी गर्दै आगामी दिनमा बाँकी रहेको काम सम्पन्न गर्न आफूलाई निर्वाचित गराउन मतदातासँग आग्रह गरे । सोही क्रममा यादवले हिन्दुहरुको महान पर्व दीपावली र छठको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्रीसमेत सहभागी रहेको कार्यक्रममा जसपा र एमालेका कार्यकर्ताहरुको पनि ठूलो संख्यामा उपस्थिति रहेको थियो ।


