दशैं तिहार समाप्तिसँगै अहिले तराई मधेशवासीले लोक आस्थाको पर्व छठ धुमधाम साथ मनाउन उत्साहपूवर्क जुटेका छन् ।
जिल्लाको विभिन्न ताल, तलाउ र जलाशयलाई सफा गरी पूजाघाट तयार गर्ने काममा स्थानीय व्यस्त भएका छन् । जिल्लाको सप्तकोशी नदीका साथै सदरमुकाम राजविराजस्थित कल्टु, पूर्णी, तुरन्ती, शिव, भगवती लगायतका पोखरी सरसफाइ र घाट बनाउने काम तीव्र रुपमा अघि बढेको छ । छठ मनाउने भक्तजनका साथै विगत एक सातादेखि राजविराज नगरपालिकाका सफाइकर्मी, नगरका जलाशयहरुमा खटिएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्जन प्रसाद यादवको अगुवाइमा नगरपालिका भित्रका जलाशय सरसफाइमा एउटा टोली नै परिचालित भएका छन् । कतिपय जलाशय सफाइमा सेना र प्रहरीले पनि सघाएका छन् । सूर्यको आराधान गरी मनाइने छठ पर्व अन्तर्गत यसपल्ट शुक्रबारबाट नहाय खाय विधिबाट शुरु हुने पण्डित दुर्गानन्द मिश्रको भनाइ छ । दोश्रो दिन शनिबार खरना, तेश्रो दिन आइतबार साँझ सन्ध्याकालीन अर्घ तथा चौथो दिन सोमबार बिहान सम्पूर्ण पूजन सामग्रीसहित उदाउँदो सूर्यलाई अर्घ दिने पण्डित मिश्र बताउँछन् । यता छठ पर्व मनाउन स्थानीयवासी आवश्यक सामग्री किन्न हटिया बजारतर्फ भीड लागेका छन् ।
यहाँका गाउँ, ग्रामीण हाटदेखि शहरमा छठको चहलपहल बढेको छ । बजारमा छठको सामान किन्नेको घुँइचो देखिएको छ । विगत भन्दा यस वर्ष बजार भाउ निकै बढेको स्थानीय भक्तजनको गुनासो छ । यता छठ पर्व मनाउने जलाशय र पूजा घाटहरुमा आवश्यक सुरक्षा व्यवस्थापनका लागि विशेष सुरक्षा तयारी गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता समेत रहेका डिएसपी नरेश सिंहले बताए । जिल्लावासीलाई ढुक्क भएर छठ पर्व मनाउन विशेष सुरक्षा तयारी गरिएको छ, उनले भने भीड व्यवस्थित र सर्वसाधारणको शान्ति सुरक्षाका लागि ठूलो संख्यामा सादा पोशाकका प्रहर ीसमेत परिचालन हुने छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने जनविश्वासका साथ श्रद्धापूर्वक मनाइने यो पर्व मनाउनेको संख्या प्रत्येक वर्ष वृद्धि भइरहेको छ ।


