अपडेट 
२०७९ कार्तिक ११, शुक्रबार ०८:३६

संयुक्त राष्ट्र सङ्घले विश्वको तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको प्रतिवेदन सार्वजनिक गरेको छ । अध्ययन प्रतिवेदनले विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासका लागि विश्वसनीय मार्गचित्र नदेखिएको जनाएको छ ।

वैज्ञानिकहरूले तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा विश्वभरिका मानिसमा नकारात्मक प्रभाव पर्ने बताएका छन् । राष्ट्र सङ्घको प्रतिवेदनले गएको वर्ष स्कटल्यान्डको ग्लास्कोमा भएको जलवायु सम्मेलन कोप-२६ यता कार्बन उत्सर्जन कटौती गर्ने विभिन्न देशका सरकारहरूको योजना दुःखद रूपमा अपर्याप्त रहेको जनाएको बीबीसीले उल्लेख गरेको छ । समाजको तत्काल रूपान्तरणले मात्रै अबको विपदबाट जोगाउन सक्ने प्रतिवेदनमा उल्लेख छ । जलवायु सम्मेलन कोप-२७ आउँदो हप्ता इजिप्टमा सुरु हुँदैछ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वले जलवायु परिवर्तनमा पुनः ध्यान केन्द्रित नगरे विपत्तिको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । संयुक्त राष्ट्र सङ्घले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले १ दशमलव ५ डिग्री सेल्सियसको सीमा गम्भीर जोखिममा रहेको उल्लेख छ।

राष्ट्र सङ्घले कार्बन उत्सर्जनमा कटौती गर्ने लक्ष्य हासिल गर्न कठिन रहेको स्वीकार गर्दै जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्नेमा जोड दिएको छ।

Comment


Related News

Latest News

Trending News