२०७९ कार्तिक १३, आईतवार ०७:०१

छठ पर्वको तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ । साँझ श्रद्धालुहरु छठ घाटमा पुगी अस्ताउँदो सुर्यलाई सन्ध्या अर्घ अर्पण गरी हर्षोल्लाससहित धार्मिक–सांस्कृतिक आस्था दर्शाइनेछ । चार दिवसीय छठ पर्वमा तेस्रो दिनलाई मुख्य दिन मानिन्छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व विधिवत रूपमा सम्पन्न हुनेछ ।

छठ पर्वको विधि

छठ पर्व निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्न–पानीको भोकै बस्नुपर्छ । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास रही राति ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ । त्यस्तै मूल दिनमा ठकुवा, भुसवा आदि कृषिजन्य उत्पादनबाट बनाइएका परिकारहरूसँगै केराको घेउर, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैंटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ । छठ यस्तो पर्व हो, जसमा अस्ताञ्चलगामी (अस्ताउँदो) सूर्यलाई पनि पूजा गर्ने परम्परा छ ।

बिहानपख उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ । छठ पूजामा साँझको समयमा जुन सामग्री सूर्य देवतालाई प्रसादको रूपमा अर्घ अर्पण गरिन्छ सोही प्रसाद पुनः बिहानको समयमा अर्थात् ‘भोरका अर्घ’ मा अर्पण गर्ने लोक–परम्परा रहेको छ । किसानले आफ्नो खेतबारीमा उब्जाएका पहिलो अन्न लगायतका बाली सूर्यलाई प्रसादको रुपमा अर्घ दिने गरेका छन् ।भगवान सूर्यको कृपाले किसानको बाली सप्रिने गरेकाले खुशी भएर पहिलो उत्पादन भगवानलाई समर्पित गरिने चलन रहेको कतिपयको मान्यता छ । सूर्य देवतालाई अर्पण गरिएको प्रसादहरू साँझदेखि बिहानसम्म जलाशयस्थित घाटमा नै राखिन्छ । तर नदी किनारमा घाट रहेका स्थानहरुमा असुरक्षाका कारण प्रसादहरू साँझको अर्घपछि घर लगिन्छ र बिहान सूर्य उदाउनु अगावै पुनः त्यो प्रसाद घाटमा ल्याइन्छ । बिहानीको अर्घ दिइसकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास (व्रत) समाप्त गर्छन्, जसलाई ‘पारन’ भनिन्छ । छठ पर्वमा अस्था राखेपछि दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति हुने जन विश्वास छ ।

Comment

Related News

Latest News

Trending News