२०७९ कार्तिक १५, मंगलवार ०७:५९

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले महोत्तरीको भंगहा नगरपालिका ८ पररिया घटनाको सन्दर्भमा प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीसँग भेटघाट गरेका छन् ।

सोमबार उनले गृह मन्त्रालयबाट गठन भएको छानबिन समितिको संयोजक शिवराम पोखरेल र पहाडीसँग भेटघाट गरेका छन् । सुरक्षा निकाय र छानबिन समितिको संयोजकसँग भेटघाट गरी वस्तुस्थिति बारे जानकारी लिएको अध्यक्ष अन्सारीले जानकारी दिए । उनीसहितको टोली मंगलबार घटनास्थल महोत्तरीको भंगहा नगरपालिका ८ पुग्दै छन् । सोही घटनामा परी अंगभंग तथा घाइते भएका इमत्याज राइन र मन्नु कवाडीसँग पनि उनले भेटघाट गरेका छन् । राइनको दैविक इन्टरनेशनल होस्पिटल र कवाडीको काव्या अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

सुरक्षा निकायसँग भेटघाटको क्रममा उनले घाइतेको उपचारको लागि आर्थिक सहयोग सरकारबाट दिइनु पर्ने माग गरेका थिए । उनको मागमा समर्थन जनाउँदै प्रमुख जिल्ला अधिकारी पहाडीले प्रक्रिया अनुसार घाइतेलाई राहत दिने आश्वासन दिएका थिए । गएको विहीबार पररियामा हिन्दू सम्राट सेनाले छठ पर्वको अवसरमा निकालेको शोभा यात्राको क्रममा दुई समुदायबीच भीडन्त भएको थियो । प्रहरीले दुबै पक्षको असमझदारीको कारण घटना भएको बताएका छन् । यद्यपि घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक चन्देश्वर यादवलाई प्रहरीले कारवाही गरेको अध्यक्ष अन्सारीले बताए ।

 

Comment


Related News

Latest News

Trending News